प्रधानमन्त्री ओलीको कदम केही पनि होइन, यसले घुँडा टेक्छ : योगेश भट्टराई

प्रधानमन्त्री ओलीको कदम केही पनि होइन, यसले घुँडा टेक्छ : योगेश भट्टराई

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले चालेको कदम केही पनि नभएको तर्क गरेका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा मंगलबार नेता भट्टराईले यस्तो बताएका हुन्। 

‘प्रधानमन्त्री केपी ओलीले चालेको कदम केही पनि होइन। एउटा उखान छ, अरिंगाल खायौं, बछ्युँ खायौं नाथे झुसे बारुलो,’उनले भने ,’यसले घुँडा टेक्छ। घुँडा टेक्नु बाहेक यसको नियतिमा अरु केही छैन।’

संविधानको रक्षा हुन्छ कि हुँदैन भन्ने कुरामै आफूहरुको लडाइ रहेकोमा उनले जोड दिए। ‘यो आन्दोलन ७ दशकदेखि लामो संघर्षबाट पाप्त भएको संविधानको रक्षा हुन्छ कि हुँदैन। पचासौं नेपालीको बलिदानबाट बनेको संविधानको रक्षा हुन्छ कि हुँदैन। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन्छ कि हुँदैन,’ नेपालको आर्थिक र सामाजिक समृद्धिको दिशामा अघि बढ्छौं कि बढ्दैनौं भन्ने कुरासँग हाम्रो लडाइ हो,’उनले भने,’ यो पार्टी कहाँ पुग्छ होला, पार्टीका सदस्यहरु कहाँ पुग्छन् होला, हाम्रा नेताहरु प्रधानमन्त्री हुन्छन कि हुँदैनन् होला, हाम्रो मन्त्री पद फेरि फर्किन्छ कि फर्किदैन  होला भन्नका निम्ति यो आन्दोलन गरेका होइनौं।’

नेकपा प्रचण्ड- नेपाल पक्षको स्थायी समिति सदस्य भट्टराईले विचारको बहस भइरहेको बेला प्रधानमन्त्री ओलीले बहसको विषयलाई अन्यन्त्र मोडेर नौटंकी भाषण गर्दै हिँड्नुको कुनै अर्थ नरहेको जिकिर गरे । ‘आज विचारको बहस भइरहेको छ। स्वच्छाचारी कि लोकतान्त्रिक प्रधानमन्त्री भन्ने विषयमा बहस भइरहेको छ। संविधानको रक्षा कि संविधानको हत्या भन्ने कुरामा बहस भइरहेको छ। प्रतिनिधिसभाको फाँसी दिन पाइन्छ कि पाइँदैन भन्ने कुरामा बहस भइरहेको छ। र यतिबेला बहसको विषयलाई अन्यन्त्र मोड्नका निम्ति नौटंकी भाषण गर्दै हिँड्नुको कुनै अर्थ छैन।’

उनले आफूहरुको आन्दोलन रक्सी उत्पादन गर्ने नभइ मान्छेको हितका निम्ति दूध उत्पादन गर्नेका लागि भएको बताए। ‘यो आन्दोलन रक्सी उत्पादन गर्ने आन्दोलन होइन। रक्सी भट्टी चलाउने आन्दोलन होइन। यसले मान्छेको हितका निम्ति दूध उत्पादन गर्दैछ। हामी दूध बिक्रेता हौं। दूध बिक्री गर्नु दु:ख हुन्छ। घरघरमा पुर्याउनुपर्छ। बिहानै जाडोमा साइकलमा मोटरसाइकलमा घरघरमा दूध पुर्याउनु जानुपर्छ। रक्सी पुर्‌याउन घर घरमा जानुपर्दैन,’ उनले भने।

प्रतिक्रिया