दैलेख जेसिजकाे पद हस्तान्तरण सम्पन्न

दैलेख जेसिजकाे पद हस्तान्तरण सम्पन्न

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा प्रमुख अतिथि र कार्यक्रम पनि जिससकै सभाहल एक चरणको औपचारिक कार्यक्रम चलिरहेको थियो, वीचैमा नारायण नगरपालिका–२ जाहरकोटका ३२ वर्षीय धु्रवविक्रम थापा विशेष पोशाकमा आफ्नी श्रीमति जयन्ती अधिकारीसंगै सभाहलमा प्रवेश गरे ।  

कार्यक्रमका उद्घोषकले जनाउ दिएपछि मात्र दम्पति नै मूलद्वारबाट हलभित्र पस्दै गर्दा हलमा बसेका सबै अतिथि र सहभागी सबै आआफ्नो स्थानबाट उठेर तालीले स्वागत गरे अनि पुष्पबृष्टि पनि भयो ।

त्यहाँ निमन्त्रणा गरिएका धेरै अतिथि अनौठो मानिरहेका थिए । त्यहाँ सहभागीहरुले त्यतिबेलै बुझे, त्यो थियो दैलेख जेसिसका सन् २०२१ को अध्यक्ष पदबहार ग्रहण कार्यक्रम । शिष्टाचार, सम्मान र स्वागतको शैली नै हो अध्यक्षका दम्पतिलाई नै स्वागत गर्ने प्रचलन नै हो ।

कार्यक्रम सुरु हुँदा अघिल्लो वर्ष सन् २०२० का अध्यक्ष प्रकाश पौडेलले सभापतिको आसनबाट एक वर्ष अवधिमा गरेका काम चर्चा गरे । बोलाइएका अतिथि, सन् २०२० को कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्ष समेतलाई स्वागत र सम्मान स्वरुप मायाको चिनो बाँडिसकेपछि वीचैमा यो दृष्य भएको थियो ।

जेसिसले हरेक सन् सम्वतमा एक वर्षका लागि एक व्यक्ति, एक पद जिम्मेवारी बदल्ने नियम अन्तरगत दैलेख जेसिसका सन् २०२० का अध्यक्ष प्रकाश पौडेल र उनकी श्रीमति रुबी पौडेलले सन् २०२१ का लागि नवनिर्वाचित अध्यक्ष धु्रवविक्रम थापा र उनकी श्रीमति जयन्ती अधिकारीलाई स्वागत गरेर कार्यक्रमका प्रमुख अतिथिकै नजिक सभाध्यक्षको आसनमा बसाले ।

अघिल्लो अध्यक्षको मन्तव्य सकियो, निमन्त्रणा गरिएका सबै अतिथिलाई स्वागत र मायाको चिनो बाँडिसकेपछिको दोश्रो चरणका औपचारिकतामा पूर्व अध्यक्षले नयाँ अध्यक्षलाई सपथ ग्रहण गराए ।
आफूले शपथ लिइसकेपछि पदस्थापना भइसकेका अध्यक्ष थापाले आफ्ना कार्यसमितिमा निर्वाचित र मनोनीत गरिएका सदस्यहरुलाई शपथ खुवाए । उनीहरुको पनि पदस्थापना भयो । दैलेख जेसिसका नवनिर्वाचित पदाधिकारीहरु कार्यकारी उपाध्यक्ष दुर्गाप्रसाद न्यौपाने, महासचिव भीमबहादुर सिजापति, कोषाध्यक्ष टोपेन्द्रकुमार थापा र कानूनी सल्लाहकार चेतनकुमार थापा छन् ।
त्यसैगरी ४ जना उपाध्यक्षहरु देवेन्द्रप्रसाद आचार्य, सुभाष थापा, गणेशप्रसाद कोइराला र मीना थापा, शाखा सम्पादक जीवन सिजापति, सचिव मनिष भण्डारी, आईटी संयोजक दिनेश घिमिरे, युथ संयोजक एकदीप खाण, समन्वय संयोजक मनोजकुमार थापा, शिक्षा संयोजक शैलेश शर्मा, प्रेस संयोजक महेन्द्र सापकोटा, व्यवस्थापन संयोजक जनक पौडेल र सूचना संयोजक कुमार प्याकुरेलको पनि शपथ गराइएको थियो ।    

अनि दोश्रो चरणको औपचारिकता सुरु भयो । दोश्रो चरणको कार्यक्रममा जेसिसको नियम र कार्यपद्धति प्रशंसा भयो । यसक्रममा जेसिसको एक व्यक्ति, एक वर्षका लागि एक पद प्रणाली राजनीतिक दल र अरु संघसंस्थामा अवलम्वन गर्न आवश्यक भएको चर्चा भएको थियो ।  
त्यसबखत जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले दैलेख जेसिसको स्वयम्सेवी सेवाले युवाहरुलाई सकारात्मक काममा प्रेरित गरेको बताए । लकडाउनको बेला गरेको समाज सेवा र त्यसअघि २१ वर्षदेखि दैलेखमा गर्दै आएको युवाहरुको क्षमता विकास र नेतृत्व सीपको अभ्यास प्रजातान्त्रिक प्रणाली अरुलाई समेत सिकाएको प्रमुख थापाले बताए ।

कार्यक्रममा नारायण नगरपालिका उपमेयर सावित्री मल्लले भनिन् ‘जेसिसले सिकाउने एक व्यक्ति एक वर्ष एक पदमा बस्ने तर दोहो¥याउन नपाउने बिधि राजनीतिक दलको नेतृत्वले अवलम्वन गरेको भए अहिलेको बेथिति र राजनीतिक बेइमानी हुने थिएन ।’

पार्टीभित्रको विवाद सुल्झाउन र संसद फेस गर्न नसकेर प्रधानमन्त्रीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपतिले घोषणा गरिहालेको घटनाले राजनीतिक अन्यौलता सिर्जना गरेको तर्क राखिन् ।  
जेसिसका सन् २०१५ केन्द्रीय उपाध्यक्ष अनिल शाहीले राजनीतिक अस्थिरताले देश विकासमा बाधा परेको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधान मिचेर संसद विघटन गरेका घटना सचेत समाजले स्वीकार गर्न नसकिने टिप्पणी गरे ।

नेपाली काँग्रेसका महासमिति सदस्य जगतजङ्ग थापाले जेसिसको कार्यक्रममा पहिलो पटक सहभागी हुँदा अतिथि र सहभागी सबैको बराबर मर्यादा अनि सद्भावले आफू खुशी भएको बताउदै यसले युवाहरुलाई रचनात्मक काम प्रेरित गर्ने बिश्वास व्यक्त गरे ।

त्यसबखत शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापा, अनेरास्ववियूका सहसंयोजक हेमन्त दशौदी, पत्रकार यज्ञराज थापा, दैलेख जेसिसका पूर्व अध्यक्षहरु पुस्कर शर्मा, हिरासिंह थापा, बिनोद श्रेष्ठ, शैलेश श्रेष्ठ लगायतले आआफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया