कालिकोटमा बालविवाहविरुद्ध प्रहरीको अभियान

कालिकोटमा बालविवाहविरुद्ध प्रहरीको अभियान

कालिकोट : जिल्लाप्रहरी कार्यालय कालिकोटले बालविवाहविरुद्ध सचेतनामुलक अभियान संचालन गरेको छ। जिल्लामा उमेर नपुगी हुने विवाह गर्ने प्रवृति धेरै भएकाले यसलाई न्यूनीकरण गर्न प्रहरीले सचेतनामुलक अभियान संचालन गरेको हो।प्रहरीले जिल्लामा प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षकहरुको नेतृत्वमा विभिन्न विद्यालयमा प्रहरीको टोली खटाइ, बालविवाह, छाउपडी प्रथा, छुवाछुत जस्ता सामाजिक विकृतिका विषयमा सचेतना जोगाउन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुपेन्द्र शाहीले बताए। उनका अनुसार जिल्लाका ९ वटै पालिकाका माध्यामिक विद्यालयमा अध्यायनरत विद्यार्थीलाई प्रहरीको टोलीले बालविवाह गर्दा आउने शारीरिक, मानसिक समस्या, स्वास्थ्यमा पर्ने असर, प्रगतिमा हुने अवरोध, कानुनी रुपमा भोग्नुपर्ने सजाय र उमेर पुगेपछि हुने विहबाट हुने फाइदाका विषयमा जानकारी गर्ने गरिएको छ।
  
विद्यालय तहमा अध्यायनरत बालबालिकाहरुले नै बालविवा गर्ने गरेको भन्दै प्रहरीले बालविवाह कम गर्न विद्यार्थीलाई नै सचेत बनाउने अभियान थालेको जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहाले बताए। उनका अनुसार स्थानीय तह, नागरिक समाज, गैरसरकारी निकाय सबैको सक्रियतामा बालविवाहको समस्या घटाउन सम्भव छ। जिल्ला प्रहरी कार्यालय कालिकोटले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाव्यापी सामाजिक विकृति विरुद्ध नागरिकलाई सचेत बनाउने कार्यक्रमहरु संचालन गरिरहेको छ। 

डिएसपी शाहाले भने, ‘हामीले बालविवाह, बहुविवाह, लागु औषधदुव्र्यशन, अन्तरगत बालविवाह न्यूनीकरण, छाउपडी प्रथा, जातीयविभेद जस्ता सामाजिक विकृतिहरुका विरुद्धमा गाँउगाँउमा प्रहरी परिचालन गरेका छौँ। पहिलो चरण नागरिकलाई यस सम्बन्धी सचेतना जोगाइ यस्ता विकृतिहरु भएमा प्रहरीलाई सूचना दिन आग्रह गरेका छौँ। अब कारबाहीमा पनि थप कडाइका साथ लाग्छौँ।’  मुलुकी संहितामा भएको व्यवस्थाअनुसार बालविवाह गर्ने गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरीवाना हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया