असल आमालाई नगद पुरस्कार सहित सम्मान

असल आमालाई नगद पुरस्कार सहित सम्मान

दैलेख : जिल्लाको नारायण नगरपालिकाले ९० जना असल आमालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । नगरपालिकाले स्वास्थ्यका पाँच वटा मापडण्ड पूरा गरेका असल आमा प्रोत्साहन कार्यक्रम अन्तर्गत उनीहरूलाई सम्मान गरेको हो । स्वास्थ्यका पाँच वटा मापदण्डमध्ये २० वर्ष पूरा भई बिहे गरी बच्चा जन्माएका, दुई मात्र सन्तान भएका, स्वास्थ्यको प्रोटोकलअनुसार चार पटक गर्भ जाच गराएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका असल आमाहरूलाई नगद २ हजार रुपैयाँसहित प्रमाण पत्र दिएर सम्मान गरेको नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक लालबहादुर खड्काले बताए ।

नगरपालिकाले यो वर्ष असल आमाहरूलाई सम्मान गर्ने कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको खड्काले जानकारी दिए । नगरपालिकाले बालविवाह अन्त्य, गर्भवती आमासहित बच्चा स्वस्थ, मातृमृत्यु दर शून्यमा झार्ने उद्देश्यले असल आमा सम्मानको काम गरेको नगर प्रमुख रत्नबहादुर खड्काले बताए । यसैबिच सोहि अबसरमा कुपोषण हटाऔँ भन्ने अभियानका लागि नारायण नगरपालिकाले तयार पारेको पोषण सम्बन्धि जनचेतनामुलक भीडियो समेत बिमोचन गरिएको छ ।

प्रतिक्रिया