परीक्षा हलमा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

परीक्षा हलमा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

दैलेख: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्तिहरुलाई कारबाही गरेको छ । बोर्डले परीक्षाको समयमा टिकटक बनाउने विद्यार्थी, परीक्षाका निरीक्षक र विद्यालयका प्रधानाध्यापकलाई कारबाही गरेको हो । 

बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी दैलेखको कालिका माध्यामिक विद्यालय सिंहासैनका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरेको हो । २०७७ मंसिरमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा टिकटक बनाई सामाजिक सञ्जालमा राखेका थिए । उनको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । 

बोर्डद्धारा जारी सूचनाका अनुसार सोहि विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष चक्रबहादुर शाही पनि कारबाहीमा परेका छन् । उनीहरु दुवैलाई बोर्डबाट सञ्चालन गरिने परीक्षा सम्बन्धी गतिविधिमा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको सूचनामा उल्लेख छ । उनीहरुलाई विभागीय कारबाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिश गरिएको बोर्डद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया