१८ जनाले गरे रक्तदान

१८ जनाले गरे रक्तदान

दैलेख : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटि दैलेखले शुक्रवार दैलेखमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अनेरास्ववियूले ७१ औं प्रजातन्त्र दिवसको ऐतिहासिक अबसर पारेर जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । जिल्ला सदरमुकाम दैलेख बजारको स्थानीय देवकोटा चोकमा आयोजित रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) केन्द्रिय सचिवालय सदस्य नविन योगीले जानकारी दिए । रक्तदानमा १५ पिन्ट रगत संकलन भएको योगीले जानकारी दिए ।


जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरे पनि भण्डारका लागि संकलित सबै रगत सुर्खेतमा पठाउनुपर्ने बाध्यता छ । जिल्लामा ब्लड बैंक स्थापना हुन नसक्दा भएको रगत सुर्खेत पठाउनुपर्छ । पहाडी जिल्ला दैलेखमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोगिरहेका छन् । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नहुँदा अन्यत्रै लैजानु पर्ने बाध्यता छ । आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको छ । गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्दै आइरहेका छन् ।
अनेरास्ववियूद्धारा आयोजित रक्तदान कार्यक्रम मार्फत अनेरास्ववियूले बिरामीलाई आवश्यक रगत जुनसुकै समयमा पनि सहजै उपलब्ध गराउने जिम्मेवार निकायहरु स्वास्थ्य सेवा कार्यालय, नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहलाई दैलेखमै ब्लड बैंक स्थापनाका लागि खबरदारी गरेको छ । अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य योगीले रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापनाका लागि जिल्लाका सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने बताउँछन् ।

प्रतिक्रिया