किन बढ्दै छन् महिला दुर्व्यसनी

          |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७     ::: 65 पटक पढिएको   |  

ओम बानियाँ- हातै आफ्ना छोराहरू मात्र होइन; छोरीहरू पनि लागूपदार्थको दुव्र्यसनमा त फसेका छैनन् ? यस विषयमा धेरैलाई पत्तो नहुन सक्छ तर केही समययता लागूपदार्थको दलदलमा फस्ने महिलाको संख्या भुसको आगो झैं भित्रभित्र सल्किँदै गएको छ। नेपालमा चुरोट, पानपराग, सुर्ती, खैनी, गुट्का, हुक्का तथा जाँडरक्सी मात्र होइन; गाँजा, चरेस ब्राउन सुगर, ह्वाइट सुगर, हेरोइन, मर्फिन, प्रोक्सिबोन, नाइट्रोसन, फेन्सिडिल आदि लागूपदार्थ सेवन गर्ने युवतीको संख्या अपत्यारिलो ढंगले बढिरहेको छ।

रूपन्देहीकी २० वर्षीया कृपा (नाम परिवर्तन) चार वर्षदेखि नै चुरोट, रक्सी मात्र होइन; माल (ब्राउन सुगर) समेत सेवन गर्दै आएकी थिइन्। हालै उनी प्रहरीको फन्दामा परेपछि मात्र आफ्नी छोरी दुव्र्यसनको दलदलमा फसेको उनका आमाबाबुलाई थाहा भयो। काठमाडौंकी श्वेता ११ कक्षामा पढ्छिन्। उनी ब्वाइफ्रेन्डसँगै पाइप (सिगरेट), बुच (रक्सी) तथा ज्वाइन (गाँजा) सेवन गर्छिन्। आफू एडिक्ट भएको कुरा आमाबाबुलाई पत्तो नभएको र पत्तो भए पनि आफूलाई मतलब छैन भन्छिन्।

उचित उपचार र परिवारको सहयोग प्राप्त भएको खण्डमा लागूपदार्थको नर्कबाट मुक्त हुन गाह्रो भए पनि असम्भव छैन।

लागूपदार्थ दुव्र्यसन के हो ?
विश्व स्वास्थ्य संगठनका अनुसार लागूपदार्थ दुव्र्यसन क्रमिक वा जीर्ण नशाको यस्तो स्थिति हो; जुन लागूपदार्थको निरन्तर उपयोगद्वारा उत्पन्न हुन्छ र व्यक्ति एवं समाजका लागि हानिकारक हुन्छ। डीएसएम–फाइभले लागूपदार्थ दुव्र्यसनलाई एक मानसिक रोग संज्ञा दिँदै दुव्र्यसनसम्बन्धी विकार (सब्स्ट्यान्स अब्युस डिसअर्डर) अन्तर्गत राखेको छ।

लागूपदार्थ–दुव्र्यसनमा परेका व्यक्ति लागूपदार्थ–दुव्र्यसनी हो। यस्ता दुव्र्यसनीमा लागूपदार्थको सेवनलाई कायम राख्ने तीव्र इच्छा हुनुका साथै नशाको मात्र (खुराक) लाई बढाउँदै जान्छ। अतः कुनै व्यक्तिले नशाको सेवन गर्छ र निम्नलिखित ६ कुरामध्ये कम्तीमा तीन कुरा लागू हुन्छ भने त्यो व्यक्ति लागू पदार्थ दुव्र्यसनको सिकार भएको मानिन्छ।

लागूपदार्थ सेवन गर्ने तीव्र इच्छा हुनु। लागूपदार्थ छाड्ने प्रयास पटकपटक असफल हुनु। लागू पदार्थ उपलब्ध नभएको खण्डमा अनेक शारीरिक तथा मानसिक समस्या देखा पर्नु (जस्तै– रक्सी सेवन गर्न नपाउँदा हातखुट्टा काप्नु, निद्रा नपर्नु तथा बेचैनी हुनु।)। विस्तारै–विस्तारै लागूपदार्थको मात्रा (खुराक) बढ्नु।

उदाहरणका लागि ब्राउन सुगरको दुव्र्यसनमा फसेको व्यक्तिले आधा ग्राम ब्राउन सुगरको खुराकलाई केही दिनभित्रमै दुई ग्राम पुर्‍याउँछ। लागूपदार्थको जोगाड र सेवनमै सारा समय बिताउनु तथा ध्यान केवल लागूपदार्थको सेवनमा केन्द्रित हुनु। सामाजिक कार्य, भेटघाट, आफ्नो सरसफाइ तथा बालबालिकाको रेखदेख पूर्णतया नजरअन्दाज गर्नु। लागूपदार्थको सेवनले शरीरलाई नोक्सान पुर्‍याउँछ र जीवनलाई बर्बाद बनाउँछ भन्ने थाहा पाएर पनि लागूपदार्थ सेवन गर्न नछाड्नु।

लागूपदार्थका प्रकार
सामान्यतः लागूपदार्थलाई दुई भागमा विभाजित गरिएको छ– कानुनी र गैरकानुनी लागूपदार्थ। चियाकफी, सुपारी, पानपराग, गुट्खा, मधु, बिँडी–चुरोट तथा सुर्ती–खैनीजस्ता सुर्तीजन्य पदार्थ, बियर, ह्विस्की, भोड्का, जिन तथा ब्रान्डीजस्ता रक्सीजन्य पदार्थलाई नेपालमा कानुनी लागूपदार्थअन्तर्गत राखिएको छ। यस्ता पदार्थको सेवन गर्न कुनै रोकतोक वा बन्देज छैन। यसले जुनसुकै बेला पनि यस्ता पदार्थ बेचबिखन तथा सेवन गर्न पाउँछन्। सस्तो र सर्वशुलभ रूपमा पाइने हुँदा यी लागूपदार्थ हिजोआज महिला, खासगरी युवतीमा चर्चित हुन थालेको छ।

यसका साथै गैरकानुनी लागूपदार्थ गाँजा, चरस, अफिम, हेरोइन तथा लागूऔषध डायजिपाम, बेनजोडायजिपाम, नाइट्रोजिपाम, एलपराजोलम, प्रोक्सिवान, स्पाजमोवोन, लोमोटिल, एम्फेटामिन, कोडिन, कारेक्स तथा फेन्सिडिलजस्ता औषधिसमेत नशाका रूपमा दुरुपयोग गरिँदै आएको देखिन्छ। यसैगरी मोरफिन, नोरकिन, टीडीजैसिक, फोर्टविन आदिलाई इन्जेक्सनका रूपमा प्रयोग गरिन्छ। त्यस्तै सोलवेन्ट जस्तैः पेट्रोल, इरेजर तथा पालिस आदिलाई सुँघेर नशा लिइन्छ। कतिपय दुव्यर्सनीले अन्य औषधि जस्तै– एबिल, फिनारगन तथा डायजिपाम आदिका साथमा मिसाएर मासु तथा नशामा लगाउने गर्छन्।

महिला दुव्र्यसनीको संख्या
नेपालमा दुव्र्यसनी महिला कति छन् भन्ने आधिकारिक तथ्यांक छैन। सन् २००६ सालमा तथ्यांक विभागले गरेको सर्वेक्षणले नेपालमा दुव्र्यसनीमध्ये जम्मा दुई प्रतिशत महिला कडाखाले लागूपदार्थको दुव्र्यसनी भएको तथ्यांक निकालेको थियो। तर यस क्षेत्रमा कार्यरत विशेषज्ञका अनुसार ५० हजारभन्दा बढी महिला लागूपदार्थको दुव्र्यसनी भएको अनुमान छ। दुव्र्यसनीमा फसेका अधिकांश महिलाको उमेर १५ देखि ४५ वर्षको छ। यसरी लागूपदार्थ दुव्र्यसनमा फस्ने महिलाको संख्या बर्सेनि बढ्दो छ।

महिला र मदिरा
नेपालमा अत्यधिक प्रयोग हुने लागूपदार्थ मदिरा अर्थात् रक्सी हो। महिलाले बढी प्रयोग गर्ने लागूपदार्थ पनि रक्सी नै हो। एक अध्ययनअनुसार नेपालमा मदिरा सेवन गर्ने मानिस १८ देखि ३० वर्ष उमेर समूहमा ८० प्रतिशत छन् भने १५ देखि ६० वर्ष उमेर समूहमा झन्डै ६७ प्रतिशत छन्। नेपालमा सामाजिक परम्परागत र नियमित सेवन प्रवत्तिका साथै चार्डपर्व, रीतिरिवाज तथा उत्सवमा मद्यपान गर्ने फेसन निकै बढेको छ। दसैंतिहार, होली, विवाहभोज तथा नयाँ वर्षहरूमा व्यापक रूपमा मदिरा सेवन हुने गरेको देखिन्छ। कतिपय मानिस दुःख, पिर, तनाव तथा पारिवारिक झमेला भुलाउन रक्सी पिउने गर्छन्।

कोहीचाहिँ समाजमा भिज्न तथा साथीभाइसँग आफ्नो हैसियत बनाउन रक्सी खानुपर्छ भन्ने भ्रममा हुन्छन्। कतिपय समुदायमा त जन्ममृत्यु तथा विवाह आदिमा समेत मदिरा अपरिहार्य हुन्छ। ग्रामीण भेगका महिला छयाङ, तोङ्बा तथा जाँडलाई दूध, महीसरह पिउने गर्छन्। नेपाली समाजका अधिकांश युवती ब्वाइफ्रेन्डका करकापले मदिराको मोहनीमा फसेका हुन्छन्। कतिपय जातजातिलाई संस्कारले नै रक्सी पिउन छुट दिएको छ। जाँडरक्सीलाई सामान्यरूपमा लिएर बच्चैदेखि सेवन गराउने समुदाय पनि छन् नेपालमा।

मदिरा के हो
मदिरा अर्थात् रक्सी एक किसिमको नशालु पेय पदार्थ हो; जसमा इथिनोल हुन्छ। सामान्यतः रक्सीलाई अल्कोहलको प्रतिशतका आधारमा तीन भागमा बाँडिएको छ– बियर, वाइन तथा स्प्रिट। बियरलाई पनि अल्कोहलको प्रतिशतमा तीन भागमा बाँडिएको छ– साधारण बियर (३ प्रतिशत अल्कोहल), कडा बियर (५.५ प्रतिशत अल्कोहल) तथा अत्यधिक कडा बियर (७ प्रतिशत अल्कोहल)। त्यसैगरी वाइन पनि दुई प्रकारको हुन्छ– टेबुल वाइन (८ देखि १० प्रतिशत अल्कोहल), फोर्टिफाइड वाइन (१३ देखि १६ प्रतिशत अल्कोहल)। स्प्रिट– यसअन्र्तगत रम, ह्विस्की, जिन, भोड्का तथा ब्रान्डी आदि पर्छन्। यसमा अल्कोहलको मात्र ४० देखि ४५ प्रतिशत हुन्छ।

नेपालका अधिकांश मदिरा सेवनकर्ता मदिराको सेवनले गर्ने असरबारे अनभिज्ञ छन्। तर स्वास्थ्य पत्रिका ल्यान्सेटमा प्रकाशित एक शोधअनुसार स्वास्थ्यका लागि रक्सी होरोइनभन्दा पनि हानिकारक हुन्छ। मद्यपान मुत्युका प्रमुख आठ कारणमध्ये एक हो। शोधमा संलग्न शोधकर्ता प्रो. डेभिट नट भन्छन्, ‘रक्सी सबैभन्दा हानिकारक नशा हो किनभने समाजमा यसको प्रयोग व्यापक रूपमा हुने गर्छ।’ शोधमा मादकपदार्थ सेवनबाट हुने शारीरिक तथा मानसिक हानि, लत, अपराध, हिंसा, अर्थव्यवस्था र समाजमा पर्न सक्ने असरका आधार हरेक किसिमका लागूपदार्थलाई अंकभार दिएर सूचीबद्ध गरिएको छ; जसमा मदिरापछि होरोइन र त्यसपछि कोकिनलाई खतरनाक नशालु पदार्थ मानिएको छ।

किन बढ्दैछन् दुव्र्यसनी महिला
मानिस खासगरी वंशाणुगत तथा मानोसामाजिक कारणले लागूपदार्थको दलदलमा फस्छन्। जस्तो– परिवारका कोही सदस्य लागूपदार्थ सेवन गर्छन् भने उनका सन्तान तथा आफन्तमा त्यो लत सर्न सक्छ। यसैगरी मस्तिष्क रसायन डोपामिन, सेरोटोनिन तथा नोरापिनेफ्रेन आदिमा असन्तुलन आयो भने पनि मानिस दुव्र्यसनी हुने सम्भावना हुन्छ।

तर लागूपदार्थ दुव्र्यसनको प्रमुख कारण मनोसामाजिक हो। किशोर तथा युवावर्गमा उत्सुकता, कूतुहलता, लहैलहै र फेसनेबल बन्नका लागि लागूपदार्थको दलदलमा फसेका हुन्छन्। आमाबाको उपेक्षा, बढी विरोध र वैवाहिक असमाञ्जस्यले गर्दा। चिन्ता, तनाव तथा थकानबाट छुटकारा पाउने मनसायले। मोजमस्तीको लालसा। दुव्र्यसनीको संगत। पारिवारिक सम्बन्धमा खटपट, घरमा झैझगडाको वातावरण। कमजोर आत्मबल तथा एक्लोपना। मानसिक रोगका कारण। व्यक्तित्व विकार तथा चारित्रिक अभाव। मनको आवेग नियन्त्रण गर्न नसक्नु। बढ्दो सहरीकरणका कारण परिवर्तित जीवनशैली। हीन भावना र डर हटाउन तथा लागू पदार्थ सजिलै पाइनुजस्ता जस्ता मनोसामाजिक कारणले व्यक्ति लागूपदार्थ दुव्र्यसनको सिकार बन्ने गर्छन्।

नेपालमा महिला दुव्र्यसनी बर्सेनी बढ्दै जानुमा नेपाल समाज, यहाँका मानिसको मानसिकता, शिक्षा, जनचेतना तथा नियम–कानुनको अभाव, खुला सिमाना तथा संगतको महत्त्वपूर्ण हात रहेका जानकार बताउँछन्। अधिकांश युवती ब्वाइफ्रेन्डका कारण कुलतमा फसेका छन्। कतिपय युवती अनुभव गर्ने निहुँमा फसेका छन्। कसैलाई लागूपदार्थ सेवन गर्‍यो भने फिगर बन्छ, इनर्जी आउँछ, आनन्द आउँछ भन्ने भ्रम छ। यिनै कारणले नेपालमा महिला दुव्र्यसनीको संख्या बढ्दै गएको हो।

अन्त्यमा, लागूपदार्थको संसार भनेको नर्क हो। यो नर्कले सबभन्दा बढी किशोरकिशोरीलाई आकर्षित गर्छ। मोहनी लगाउँछ। त्यसैले लागूपदार्थबाट टाढै रहनुपर्छ। जतिसुकै मोहनी लगाए पनि यसको मायाजालमा कुनै हालतमा पनि फस्नु हुँदैन। कुनै कारण यसको जालमा फसेकाले छिटोभन्दा छिटो उम्कने प्रयास गर्नुपर्छ। उचित उपचार र परिवारको सहयोग प्राप्त भएको खण्डमा लागूपदार्थको नर्कबाट मुक्त हुन गाह्रो भए पनि असम्भव छैन। लागूपदार्थको दलदलमा चुर्लुम्म डुबेमा दुव्र्यसनीसमेत उचित उपचारबाट विल्कुल ठीक भएको अनेक उदाहरण छन्। अर्को कुरा, लागूपदार्थ दुव्र्यसन नियन्त्रणमा परिवारको महत्त्वपूर्ण भूमिका रहन्छ। त्यसैले बढ्दै गएको छोरालाई मात्र होइन; छोरीलाई समेत निगरानीमा राख्न जरुरी छ। –बानियाँ साइकोथेरापिस्ट तथा मेमोरी ल्याब प्रमुख हुन्। -अन्नपूर्ण पोस्ट्बाट साभार गरिएको ।





Leave a comment

Your email address will not be published.


*