नेकपा विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने

नेकपा विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने

काठमाडौं :  नेपाली कांग्रेसले सत्तारुढ नेकपा विभाजनको कानुनी टुंगो लागेपछि मात्र सहकार्यबारे ठोस् निर्णय गर्ने भएको छ। बिहीबार अपरान्ह सभापति शेरबहादुर देउवाको  निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा नेताहरूको  बैठकले यस्तो निश्कर्ष निकालेको हो। बैठकमा आगामी महाधिवेशनको तयारी तथा  संसद पुनर्स्थापनापछि नयाँ राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

बैठकमा नेताहरूले सरकार समिकरणका संभावना र सहकार्यका विकल्पबारे छलफल गर्न नहुनेमा जोड दिएका थिए।  बैठकपछि सह–महामन्त्री डा. प्रकाशसरण महतले बैठकमा नयाँ राजनीतिक घटनाक्रमबारे छलफल भएको र अहिले नै नयाँ सरकारका लागि कसरी सहकार्य गर्ने भन्नेबारेमा केही निर्णय नभएको बताए। वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांग्रेस सरकारमा जानु ठूलो गल्ती हुने  र यसले पार्टीलाई दीर्घकालीन रुपमा हानी हुने बताएका थिए। उनले महाधिवेशनमै केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए। 

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपाको ओली पक्ष र प्रचण्ड -नेपाल दुवै पक्षले  अब सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न प्रस्ताव राखेका छन्। अहिलेसम्म कांग्रेसले सरकारमा जाने नजाने स्पस्ट गरेको छैन। कानुनी रुपमा अझै पनि नेकपा विभाजित भइनसकेकोले यसको आधिकारिकताको टुंगो लागेपछि मात्र कांग्रेसले आफ्नो रणनीति र प्राथमिकता तय गर्ने बताइएको छ। 

ओलीले राजीनामा दिएमा वा उनलाई अविश्वास प्रस्तावबाट हटाइएमा नयाँ सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण हुने देखिएको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। नेकपाका १ सय ७३ जना छन्। एउटा पद रिक्त छ। कांग्रेसका ६३ र जसपाका ३४ सांसद छन्। नेकपाका विभाजित समूह र जसपा मात्रै मिलेर सरकार बनाउने संभावन सहज नभएकोले कांग्रेसको भूमिका महत्वपूर्ण देखिएको हो। यस्तो बेला सरकारमा जानुभन्दा महाधिवेशनको तयारीमा केन्द्रित भएर आगामी चुनावका लागि पार्टीलाई सुदृढ बनाएर लैजानुपर्ने पक्षमा पार्टीका नेता कार्यकर्ता देखिएका छन्। 

प्रतिक्रिया