महिनावारीका मिथ्या कुरा पत्याउने तपाईं कस्तो मनुक्खे ?

महिनावारीका मिथ्या कुरा पत्याउने तपाईं कस्तो मनुक्खे ?

नर्स तथा लेखक राधा पौडेल महिनावारीको विषयमा बोल्छिन्, लेख्छिन् यस विषयमा तालिम दिन्छिन्, अनुसन्धान गर्छिन् । पछिल्लो समय सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सवको दोस्रो संस्करणमा उनले ‘छाउ र भाउ’ अर्थात् महिनावारी र बालबालिका शीर्षकमा आफ्नो विचार राखिन् । सोही क्रममा भेटिएकी पौडेलसँग गरिएकाे कुराकानीको सार :- 

पहिलाभन्दा महिनावारीलाई मानिसहरूले स्वीकार्न थालेका छन् । मैले महिनावारी बार्ने चलनविरुद्ध बोल्न थालेको धेरै वर्ष भइसक्यो । सरकारले भने यसलाई स्वीकारेको बल्ल तीन वर्ष भयो । महिनावारीको विषयमा सरकारले अझै आत्मसात् गरेको छैन, खटेर लागेको छैन । मर्यादित महिनावारीको विषयमा अझै राम्रोसँग कुराकानी भएको छैन । 


मर्यादित महिनावारी एकदमै बृहत् अवधारणा हो । यसले महिनावारीमा विभेद हुनु भनेको मानव अधिकारको हनन हुनु हो भन्छ । महिनावारीलाई महिला हिंसाभित्र राख्छ । महिनावारीको विषय महिलासँग मात्रै जोडिएको हुँदैन । यो सामाजिक, आर्थिक, राजनीतिक र वातावरणीय पक्षसँग पनि जोडिएको हुन्छ । तर, यस विषयमा विरलै छलफल हुन्छन् । यसको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव छ । नेपालमा भइरहेको बलात्कार र हिंसाको मूल जरो महिनावारी विभेद हो ।

सरकारमा काम गर्ने मानिस हुन् वा एनजीओमा काम गर्ने उनीहरू सबै ‘डोनर गाइडेड’ छन् । डोनरले हाम्रो जस्तो देशलाई गरिब देश भनेर बुझ्छ । महिनावारी मर्यादाभन्दा उनीहरूले सरसफाइको विषयमा कुरा गर्छन् । तर सफा घरमा बस्ने, टेलिभिजन हेर्ने, इन्टरनेट चलाउने, प्याड लगाउन पाउनेले पनि महिनावारी बारिरहेका हुन्छन् । उनीहरू भान्सा जान पाउँदैनन् । दाजुभाइसँग खेल्न पाउँदैनन् । महिनावारीमा सरसफाइको मात्रै कुरा गर्दा महिनावारीको बेलामा बग्ने रगत फोहोर र अपवित्र हो भन्ने मान्यतालाई झनै स्थापित गरिदिन्छ । सफा घरमा बस्ने, टेलिभिजन हेर्ने, इन्टरनेट चलाउने, प्याड लगाउन पाउनेले पनि महिनावारी बारिरहेका हुन्छन् । 

धेरैजसो मानिस वा संस्थाहरू प्याड बाँड्न रमाइलो मान्छन् । सरसफाइको कुरा मात्रै गर्छन् तर, मर्यादाको कुरा गर्दैनन् । डोनरलाई यसको विषयमा कसरी बुझाउन सकिन्छ ? त्यसका लागि हामीले विभिन्न देशमा ‘दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जाल’ भनेर ग्लोबल क्याम्पेन सुरु गरेका छौँ । यो देश छापउडीको होइन, मर्यादित महिनावारीको देश भनेर चिनाउन यो अभियानले सहयोग गर्नेछ । 

विदेशमा पनि छ महिनावारी विभेद

नेपाल छाउपडीको देश भनेर चिनिन्छ । तर, विदेशमा पनि यस्ता अभ्यास नहुने होइनन् । महिनावारीको कुरामा म संसारलाई नै चुनौती दिन्छु । यो हाम्रोमा मात्रै छैन, विदेशमा पनि छ । हाम्रोमा कतै देखिन्छ, कतै देखिँदैन तर, विदेशमा पनि नदेखिने खालको महिनावारी विभेद छ । विदेशमा पनि महिनावारी हुँदा खान, हिँड्न, छुन बार्ने गरेको पाइएको छ । 

त्यहाँ महिनावारी बार्ने गोठ नभएको मात्रै हो । क्यानडामा ६३ प्रतिशत महिलालाई महिनावारी भएको बेला अफिस र स्कुल जान मन लाग्दैन । बेलायतमा १० मध्ये ९ जनालाई महिनावारी हुँदा एकदमै तनाव हुन्छ । जापानको ‘सुसी’ पाक्ने एउटा रेस्टुरेन्टमा सेफ नै हुँदैन । महिनावारी भएको बेलामा उसले पकाउँदा खानेकुरा अशुद्ध हुन्छ भनेर त्यहाँ महिलालाई बिदा बस्न लगाउने चलन छ । अस्ट्रेलियामा पनि उस्तै छ । १० जनामा ८ जना छोरीहरू महिनावारी भएको बेलामा प्याड किन्न जानै सक्दैनन् । महिनावारीको विषयमा विदेशमा पनि मौनता र निषेध छ । कति ठाउँमा अमिलो खाँदैनन्, भुइँकटहर खाँदैनन् । केटा मान्छेलाई छुँदैनन् । प्राथना गर्दैनन् । कुरान सुन्दैनन् । 

थापाथलीको प्रसूती अस्पतालमा समेत महिनावारीको विषयमा कुरा हुँदैन । मेडिकल हिसाबले कुरा भए पनि यसको सामाजिक, आर्थिक र राजनीतिक पाटो छोइएको छैन । 

हाम्रोमा पनि महिनावारी बार्ने चलन नेपालभरि नै छ । त्यसको नाम र स्वरुप मात्रै फरक होला । पश्चिम नेपालको केही जिल्लामा देखिने केही गोठहरू देखिने महिनावारी विभेद हुन् । काठमाडौँको डेराको कुनामा पनि नजानिँदो पाराले महिनावारी विभेद भइरहेको हुन्छ । चाहे गोठमा होस् वा कोठाको कुनामा विभेद भनेको विभेद नै हो । महिनावारी विभेदले न काठमाडौँ भन्छ, न कर्णाली । यसले धनी-गरिब पनि भन्दैन । समस्या सोचमा छ । गाउँका नपढेका महिलाहरूलाई मात्र महिनावारीमा विभेद गरिन्छ भन्नु गलत हो । 

महिनावारीको गलत व्याख्या

महिनावारीलाई धेरैले महिनावारी सुरु भएदेखि सुकुन्जेलसम्मलाई मात्र व्याख्या गर्छन् । तर, यो अपूर्ण वा गलत व्याख्या हो । महिनावारीको भूमिका जन्मदेखि मृत्युसम्म हुन्छ । भ्रुणहत्या गर्ने कुरा महिनावारीसँग जोडिएको छ । त्यो भनेको महिलाको अस्तित्वलाई नस्वीकारेको कारणले भएको हो । 

महिनावारीबारे कुरा गर्न नसक्ने महिलाले आफ्ना अन्य समस्याबारे पनि बोल्न सक्दैनन् । महिनावारीको विषयमा कुरा नगर्नेले परिवार नियोजनको विषयमा कसरी बोलून् ? महिनावारी सुकेकी महिलाले पनि आफ्नो स्तन क्यान्सर, पाठेघरको समस्याबारे बोल्न सक्दिनन् । त्यस्तै, मान्छे बितेको बेलामा महिनावारी भएकाले छुनुहुँदैन भन्ने सोच छ । यसरी मृत्युसँग पनि महिनावारी जोडिएको छ । साथै मरिसकेपछि पनि किरिया वा श्राद्ध गर्ने बेलामा महिनाहरूलाई महिनावारी बाधक बन्छ । यसरी जन्मदेखि मृत्युसम्मको चक्रमा महिनावारी जोडिएको छ । थापाथली अस्पतालको ६० वर्षको इतिहास छ । तर, त्यहाँ समेत महिनावारीको विषयमा कुरा हुँदैन ।

चाहे गोठमा होस् वा कोठामा, विभेद भनेको विभेद नै हो । 

मेडिकल हिसाबले यसको विषयमा कुराकानी भयो । तर, यसलाई सामाजिक, आर्थिक र राजनीतिक पाटोसँग जोड्न सकिएको छैन । यहाँ महिलाको राजनीतिक सहभागिताको कुरा गरिन्छ । तर, महिलाको लागि पहिलो संसद् भनेको घरको भान्सा हो । तर, महिलालाई प्रत्येक महिना घरको संसद्मा नै निषेध गरिन्छ । त्यहाँ उनको सहभागितामा रोक लगाइन्छ भने देश बनाउने संसद्मा महिलाको सहभागिताको अपेक्षा कसरी गर्न सकिन्छ ? 

यो विभेद अन्त्य नभएसम्म हामीले यसको विषयमा बोलेको बोल्यै गर्नुपर्छ । लेखेको लेख्यै गर्नुपर्छ । किनभने, सबै हिंसाको मूल कारण महिनावारी विभेद हो । बालविवाह, बलात्कार र यौन हिंसाबारे कुरा गर्दा सँगसँगै पहिला महिनावारीबारे कुरा गर्नुपर्छ । महिनावारी विभेदबाटै यस्ता हिंसा जन्मिएका हुन् । त्यसैले यसको मौनता चिर्नुपर्छ । महिनावारीसम्बन्धी मिथ्यालाई ब्रेक गर्नुपर्छ । यसमा व्यक्तिसँगै राज्यले पनि आफ्नो काम गर्नुपर्छ । तर, राज्य प्रोजेक्टमुखी भयो । एक दुईओटा गोठ भत्काउँदैमा परिवर्तन हुँदैन ।

 गत साल माघमा सुर्खेतमै सरकारका सम्बन्धित व्यक्तिहरूसँग मिलेर बाल विवाह र महिनावारी विभेद हटाउने भनेर प्रतिबद्धता भएको थियो । तर, अझै काम भएको छैन । जसको कारण अझै पनि हामी छाउ गोठको देश भनेर चिनिन्छौँ । मर्यादित महिनावारीको देश भनेर चिन्न हामीले अझै संघर्ष गरिरहेका छौँ । इकागजबाट साभार गरिएकाे ।

प्रतिक्रिया