काेराेनाकाे दोस्रो डोजको खोप वैशाख ७ देखि लगाइने

काेराेनाकाे दोस्रो डोजको खोप वैशाख ७ देखि लगाइने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा. जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप लगाउने समय निर्धारण भएको बताए । जसमा ४ लाख ५० हजार जनाले यो खोप लगाउनेछन् । पहिलो प्रथमिकतामा पर्ने स्वास्थ्यकर्मी, सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, कैदीबन्दी, अस्पताल एवम् शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र दीर्घरोगी लगायतका व्यक्तिहरुले खोप लगाउने उनले बताए । चीन सरकारले सोमबार ८ लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको छ । यसअघि २३ लाख ४८ हजार र भारतीय सेनाले उपलब्ध गराएको १ लाख गरी जम्मा हालसम्म नेपालले ३२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ ।

दोस्रो चरणको महामारी जोखिम
छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना महामारीको जोखिम बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढ्ने देखिएको छ । तर डराइहाल्नुपर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताए । पहिलो चरणको कोरोना महामारीमा भारतमा सङ्क्रमण दर बढेको एक दुई हप्तापछि नेपालमा पनि संक्रमण दर बढ्न सक्ने भन्दै तयारीमा जुट्न स्वास्थ्यकर्मीहरुको भनाइ छ । दैनिक २ देखि ३ हजारको संख्यामा भारतीय नागरिकहरु नेपाल फर्कदा भारतबाट कोरोना संक्रमण पनि नेपाल भित्रिने जोखिम बढ्दै गएको छ ।

नाकामा एन्टिजेन्ट जाँच
भारतमा कोरोना संक्रमण दर बढेपछि सीमा नाकामा पनि स्वास्थ्य तथा सुरक्षा चेकजाँच बढाइएको छ । भारतबाट नेपाल प्रवेश गर्ने नाकामा चेकजाँच गरेकोमा हालसम्म ४८ जनाभन्दा बढीमा दोस्रो चरणका कोरोना संक्रमण देखिएको छ । सीमा नाकाहरुमा एन्टिजेन्ट स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । जसअनुसार आधा घण्टासम्ममा कोरोना संक्रमणको परिणाम जान्न सकिन्छ । केही नाकाहरुमा भने यो एन्टिजेन्टको व्यवस्था हुनसकेको छैन । त्यसका लागि सरकारले पहल गरिरहेको बताएको छ ।

नेपालमा ५ दशमलव ६ प्रतिशतले खोप लगाए
देशको कुल जनसंख्यामध्ये ५ दशमलव ६ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अझै पनि ९० देशमा यो खोप लगाउन नसकेको अवस्थामा सरकारले गरेको यो पहल ‘वन अफ द बेस्ट पहल’ को रुपमा लिइएको प्रवक्ता गौतमले बताउनुभयो । विश्वमा झण्डै ५ अर्ब खोप आवश्यक रहेकोमा १ अर्ब पनि खोप उत्पादन हुनसकेको छैन । जसकारण पनि खोप अभाव भएको हो ।

दुई हजारसम्म सक्रिय संक्रमित
देशमा अहिले पनि ११ सयदेखि १२ सयसम्म सक्रिय संक्रमितको संख्या छ । हालसम्म २ लाख ७६ हजार संक्रमित र ३ हजारको संख्यामा संक्रमितको मृत्यु भएको अवस्था छ । यो मृत्युदर अन्य देशको तुलनामा कम हो । मृत्युदर कम गर्न सरकारले सकेसम्म गरेको पहललाई पनि सकारात्मक रुपमा लिनुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताए। आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाइने दोस्रो डोजको खोपमा स्वास्थ्यकर्मीलाई विशेष प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुले अरुलाई पनि सार्न सक्ने सम्भावना बढी भएको, संक्रमितको उपचारका लागि अनिवार्यरुपमा आवश्यक रहेको र आफ्नो जीवन नै उच्च जोखिममा राखेर फ्रन्ट लाइनमा कोरोनिाविरुद्ध लड्ने हुनाले स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको सरकारको भनाइ छ । गाेरखापत्र

प्रतिक्रिया