एमाले प्रवेश गरेका माओवादी सांसद रेग्मी पदमुक्त

एमाले प्रवेश गरेका माओवादी सांसद रेग्मी पदमुक्त

सुर्खेत : नेकपा एमालेमा प्रवेश गरेका कर्णाली प्रदेशसभाका सांसद धर्मराज रेग्मी पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्र त्यागेर उनी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा प्रवेश गरेपछि दल त्याग गरेको भन्दै माओवादी केन्द्रले उनलाई सांसदबाट हटाउन प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो । रेग्मी २०७४ मा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रबाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए । नेकपा हुँदा पनि रेग्मी प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका थिए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पुरानै हैसियतमा फर्किएपछि रेग्मी एमालेमा प्रवेश गरेका हुन् ।माओवादी छाडेपछि रेग्मीलाई एमालेले केन्द्रीय सदस्य र कणाली प्रदेश कमिटीको सचिवमा मनोनित गरेको छ । 

एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई स्पष्टिकरण सोधेको थियो । त्यसपछि माओवादीको संसदीय दलले उनलाई कारबाहीको सिफारिस गरेको थियो । माओवादीले रेग्मीले दल त्याग गरेको भन्दै पठाएको पत्र संसद सचिवालयमा प्राप्त भएको र रेग्मी सांसद पदबाट मुक्त भएको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । प्रदेशसभा सचिवालयले सोमवार सुचना प्रकाशित गरेर रेग्मी पदमुक्त भएको जानकारी गराएको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले भने,‘रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भयो, कुनै सांसदले दल त्याग गरेको सूचना प्रदेशसभा चालु रहेको अवस्थामा प्रदेशसभा बैठकमा जानकारी गराउने गरिन्छ । तर यहाँ अहिले प्रदेशसभाको अधिवेशन चलेको छैन,कानुनी व्यवस्था अनुसार सचिवालयले सूचना प्रकाशित गरेपछिसांसदको पद स्वतः रिक्त हुन्छ ।’ रेग्मी सांसदबाट पदमुक्त भएसँगै अब माओवादी केन्द्रका सांसदको संख्या १२ भएको छ । कर्णाली प्रदेश सभामा माओवादीका सांसदको संख्या १३ थियो ।

प्रतिक्रिया