मुख्य सहरका स्कूलहरू बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, सार्वजनिक क्षेत्रमा २५ जनाभन्दा बढी भेला हुन रोक

मुख्य सहरका स्कूलहरू बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, सार्वजनिक क्षेत्रमा २५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं : सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि मुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्यालय तथा शैक्षिक संस्थाहरूमा जोखिम बढी देखिएकोले सरकारले यस्तो निर्णय गरेको हो। तर विद्यालयमा भर्चुअल कक्षा भने सञ्चालन गर्नसकिनेछ।  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सरकारले यस्तो निर्णय गरेको हो।  बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय पनि भएको जानकारी संचारकर्मीलाई दिएका छन् ।

यसैगरी सरकारले भीडभाड हुने सबै सार्वजनिक क्षेत्र तथा व्यवसाय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। सिनेमा हल, रात्रीकालिन मनोरन्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, दर्शकसहितको रंगशाला हुने खेलकुद, भीडभाड हुने सबै कार्यक्रममा रोक लगाइएको छ। जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र जोखिम कायमै हुने हुँदा २०७८ बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। यातायात लगायतका अन्य सार्वजनिक क्षेत्रमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने सम्बन्धमा अलग्गै आदेश जारी गर्ने तयारी सरकारले गरेको छ।

प्रतिक्रिया