कोरोना संक्रमणका कारण गर्भवतीको मृत्यु

कोरोना संक्रमणका कारण गर्भवतीको मृत्यु

दैलेख : दैलेखमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण एक गर्भवती महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका–६ की २७ बर्षीया रत्नाकुमारी सार्की गर्भवती महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिए । शुक्रवार विहान साढे ११ बजे अस्पताल पु¥याईएकी ती महिलाको एक घण्टापछि मृत्यु भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले जानकारी दिए ।
ती महिलाको बच्चा जन्मने मिति नाघिसकेको थियो । सुत्केरी हुने मिति २०७७ चैत्र २८ गते रहेको दैलेख अस्पतालले जनाएको छ । बच्चा जन्मने मिति नाघिसकेकाले दैलेख अस्पतालले बैशाख १२ गते नै सुर्खेत रिफर गरिसकेको थियो । यद्धपी परिवारले सुर्खेत नलिई घरमै राखेका थिए । ‘बच्चा जन्मने मिति नाघिसकेकाले शल्यक्रियामार्फत प्रसुति गराउनुपर्ने हुनसक्छ भनेर हामीले बैशाख १२ गते नै सुर्खेत रिफर गरिसकेका थियौ, आमा र बच्चाको अवस्था राम्रो थियो,’ दैलेख अस्पतालका डा. जगत थापाले भने । घरपरिवारले हेलचक्राई गरेका कारण गर्भवती महिलाको मृत्यु भएको डा. थापाको भनाई छ । अस्पतालले सुर्खेत रिफर गरेपनि घरमै बसेकी ती महिला शुक्रवार विहान मात्रै पुःन अस्पताल पुगेकी थिइन् । गम्भिर अवस्थामा अस्पताल भर्ना हुन पुगेकी ती महिलाको मृत्यु भएको हो । मृत्युपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमणको लक्षणहरु देखिएकाले परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टिजेन परीक्षणमा ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको डा. थापाले बताए ।

प्रतिक्रिया