‘लक्षण देखिएको ७ दिन जोखिमपूर्ण’

‘लक्षण देखिएको ७ दिन जोखिमपूर्ण’

काठमाडौँ : छिमेकी मुलुक भारतमा जस्तै नेपालमा पनि नयाँ भेरिएन्टको कोभिड–१९ संक्रमण बढी घातक देखिएको छ । कोभिडको नयाँ ‘स्ट्रेन’ अत्यधिक संक्रामक हुने भएकाले युवा र बालबालिकालाई पनि गम्भीर असर गरेको छ ।स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘नयाँ भेरिएन्ट उच्च संक्रामक भएकाले परिवारका सबै सदस्य, अफिसका कर्मचारी एकै पटक संक्रमित देखिएका छन् ।’

यसको मुख्य कारण युके भेरिएन्ट (बी.१.१.७) रहेको डा. पौडेलको भनाइ छ । अत्यन्त संक्रामक मानिएको भारतमा देखिएको डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७) नेपालमा समेत देखिइसकेको छ । अझ भारतमा देखिएको ट्रिपल म्युटेन्ट भेरिएन्ट (बी.१.६१८) समेत भित्रभित्रै फैलिरहेको हुन सक्ने विज्ञहरूले बताएका छन् । ट्रिपल म्युटेन्ट भेरिएन्टको अवस्था जान्न उत्तर प्रदेश, बंगाल, बिहारसँग सीमा जोडिएको ठाउँबाट ‘र्यान्डम’ नमुना संकलन गरी परीक्षण गर्ने तयारी ईडीसीडीको छ ।

ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुर नेपालमा तीव्र गतिले जटिल लक्षणसहित फैलिरहेको कोभिडका कारण यूके र डबल म्युटेन्ट भेरिएन्ट रहेको दाबी गर्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोला भने हाल देखिएको भेरिएन्ट १० देखि १ हजार गुणासम्म संक्रामक भएको बताउँछन् । ‘यूके भेरिएन्ट, डबल/ट्रिपल म्युटेन्ट नेपालमा कोरोना विस्फोटका लागि जिम्मेवार देखिएको छ,’ उनले भने । कोभिड संक्रमणको दोस्रो लहरमा म्युटेन्ट भाइरसको नयाँ स्ट्रेन तीव्र गतिले फैलिइरहेको छ । यसको लक्षणसमेत फरक देखिएको छ । डा. बाँस्तोलाले भने, ‘अघिल्लो वर्ष युवा र बालबालिका जोगिएका थिए, यसपालि यो उमेर समूहसमेत सिकिस्त भएको छ ।’

भाइरसको नयाँ स्ट्रेनले शरीरमा आक्रमण गर्छ । रुघाखोकी पनि देखिन्छ । ज्वरो सात दिनभन्दा बढी रहने गरेको चिकित्सक बताउँछन् । सामान्य र कडा खोकी देखिए लामो समय रहन सक्छ । अत्यधिक सुक्खा खोकीले कसैकसैको खकारमा रगत जाने समस्या देखिने गरेको छ । टाउको र शरीरका मांसपेशी दुख्ने, छालामा एलर्जी आउने, शिथिलता, स्वाद वा गन्ध हराउने लक्षणसमेत देखिएको छ । कतिपयमा वाकवाकी र पखाला लाग्ने गर्छ भने कतिमा मुख सुक्खा हुने, घाँटी खसखसाउने, दुख्ने लक्षण देखिने चिकित्सक बताउँछन् ।

विश्वमा करिब आधाभन्दा बढी कोभिड संक्रमितमा ‘सोर थ्रोट’ देखिएको छ । ‘लक्षण देखिएको ६ देखि ७ दिनमा निमोनिया भएर सास फेर्न गाह्रो भई अस्पताल भर्ना हुने धेरै छन्,’ डा. बाँस्तोलाले भने, ‘दुई दिन मन्द ज्वरो र खोकी देखिए पनि छैटौं दिनमा निमोनिया भइसकेको हुन्छ । लक्षण देखिएको ४–५ दिनभित्रै चिकित्सकको परामर्श लिन जानु अत्यावश्यक छ ।’ चिकित्सकहरूका अनुसार लक्षण देखिएको पहिलो ६–७ दिन अत्यन्त जोखिमपूर्ण समय हो । संक्रमणको शंका लागे पीसीआर परीक्षण गराइहाल्नुपर्छ । संक्रमित वा शंकास्पद व्यक्तिको शरीरमा अक्सिजनको मात्रा अक्सिमिटरले नियमित नाप्नुपर्छ । अक्सिजनको मात्रा ९४ भन्दा कम भए तुरुन्त स्वास्थ्य परामर्श लिनुपर्छ ।

स्वास्थ्य निकायमा लानुअघि बिरामीलाई घोप्टो सुताए फाइदाजनक हुन्छ । बिरामीको श्वासप्रश्वासको दर प्रतिमिनेट २४ पटकभन्दा बढी भयो भने चिकित्सकसँग परीक्षण गराउनुपर्ने डा. बाँस्तोलाले बताए ।मध्यमस्तरको संक्रमण देखिएका बिरामीमा श्वासप्रश्वासको गति प्रतिमिनेट २४ पटकभन्दा बढी देखिन सक्छ भने शरीरमा अक्सिजनको मात्रा ९० देखि ९३ प्रतिशतभन्दा कम देखिन्छ । गम्भीर अवस्थामा श्वासप्रश्वासको दर प्रतिमिनेट ३० भन्दा बढी र अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम हुन सक्छ । कान्तिपुरबाट साभार

प्रतिक्रिया