निषेधाज्ञामा दैलेख : बजार सुनसान, बेकाममा हिड्नेहरूमाथि कडाई

निषेधाज्ञामा दैलेख : बजार सुनसान, बेकाममा हिड्नेहरूमाथि कडाई

दैलेख : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न प्रशासनले एक हप्ता निषेधाज्ञा जारी गरेको हो । 

वैशाख २१ गते मंगलबार राति १२ बजेदेखि वैशाख २८ गते राति १२ सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्न, भीडभाड नगर्न, २५ जनाभन्दा बढी भेला नगर्न आदेश दिएको स्थानीय प्रशासनले नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि कडाइ गर्दै निषेधाज्ञा जारी गरेको हो ।  

दैलेख जिल्लाभर लागू हुनेगरी अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधन, पसल तथा व्यवसाय र आवश्यक बाहेकको कामकाजका लागि हुने हिँडडुलमा समेत निषेध गरिएको छ ।

अत्यावश्यक कामबाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिँडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहानैबाट मुख्य बजार दैलेख सदरमुकाम, दुल्लुलगायत स्थानीय तहका मुख्य बजार सुनसान छन् । मानिसको आवतजावत र जमघट हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

जिल्लाभर दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, फलफूल, तरकारी, ग्यासका पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना हुनेगरी बिहान ६ बजेदेखि साढे ८ बजेसम्म मात्र सञ्चालन गर्न निणर्य भए अनुसार भीड निकै कम छ  ।

फाटफुट रुपमा मोटरसाइकलहरु सञ्चालन भएपनि ठूला सवारी साधान पूर्णरुपमा बन्द छन् । औषधि पसल सञ्चालन भइरहेका छन् । बुधबार बिहान बिनाकाम हिँड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उनीहरुलाई सम्झाइबुझाइ छाडिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार मंगलबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय २१ पुगेको छ । पछिल्लो चरण ७५ वर्षीया र ३५ वर्षीया पुरुष र एक गर्भवति गरी तीनजनाको कोरोनाबाट मृत्यु भएको छ।

हेराैँ तस्विरहरू :

शव्द/तस्विर : हिक्मतबहादुर नेपाली

प्रतिक्रिया