दैलेखमा कोरोनाबाट शिक्षकको मृत्यु

दैलेखमा कोरोनाबाट शिक्षकको मृत्यु

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ । बुधवार साँझ दैलेखको भैरबी गाउँपालिका–४ भैरीकालिकाथुमका ४५ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. जगत थापाले जानकारी दिए । सोमवार गरिएको आरटी–पीसीआर परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनि दैलेखस्थित आइसोलेसन अस्पतालमा उपचाररत थिए ।
‘अक्सिजन स्याचुरेसन असाध्यै कम थियो, दैलेख सदरमुकामस्थित आइसोलेसनमा अक्सिजन सहित उपचाररत ती पुरुषको स्वास्थ्य स्थिति थप जटिल बन्न थालेपछि हामीले सुर्खेत रिफर गरेका थियौँ,’ डा. थापाले भने । थप उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा दैलेख सुर्खेत सडक खण्डको जीरो पोइन्ट उनको नजिकै मृत्यु भएको डा. थापाले बताए । कोरोना संक्रमणबाट मृतक ती पुरुषको शव अहिले दैलेख अस्पतालको आइसोलेसनमै राखिएको डा. थापाले बताए । कोरोना संक्रमणबाट मृत्यु भएका ती पुरुष शिक्षक हुन् । उनि भैरबी गाउँपालिका–४ स्थित गौरी माध्यामिक विद्यालय बालेकाँडामा कार्यरत थिए ।
यो सँगै दैलेखमा पछिल्लो चरण कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अघि ७५ बर्षीय र ३५ बर्षीय पुरुष र २७ बर्षीया गर्भवती महिला गरी तीन जनाको मृत्यु भईसकेको छ । अघिल्लो बर्ष ६ जनाको मृत्यु भएको थियो ।
यस्तै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न प्रशासनले एक हप्ता निषेधाज्ञा जारी गरेको हो । बैशाख २१ गते मंगलवार राती १२ बजेदेखि बैशाख २८ गते राती १२ सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न, भीडभाड नगर्न, २५ जना भन्दा बढि भेला नगर्न आदेश दिएको स्थानीय प्रशासनले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि कडाई गर्दै निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया