राजीनामा दिने तयारीमा खनाल–नेपाल पक्षका सांसद

          |   प्रकाशित मितिः आइतवार, बैशाख २६, २०७८     ::: 171 पटक पढिएको   |  

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुले  राजीनामा सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीसँग मिलेर जाने अवस्था नरहेको निश्कर्ष निकाल्दै राजीनामा दिन तयार भएका हुन्। ओली पक्ष र नेपाल पक्षबीच शनिबार अपरान्हसम्म भएका सबै चरणमा वार्ताहरू असफल भएपछि यो निश्कर्ष निकालिएको हो। 

माधव पक्षको शनिबार बेलुका बसेको अनौपचारिक बैठकले यस्तो निश्कर्ष निकाल्दै राजीनामाको तयारी भएको हो। त्यसबारे औपचारिक निर्णय गर्न आइतबार अपरान्ह माधव पक्षको स्थायी समितिको बैठक बोलाइएको छ।एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । उनीहरूले आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाइसकेको स्रोतले बतायो।

वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने लागेका हुन्। प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत लिनका लागि वैशाख २७ गते विशेष अधिवेशन बोलाएका छन्। विश्‍वासको मतमा ओलीलाई असफल बनाएर वैकल्पिक सरकार बनाउने कांग्रेस र माओवादी केन्द्रको योजनालाई सघाउन उनीहरूले राजीनामा दिएका हुन्।

नेपालले प्रत्यक्षतिर २२ सांसदहरूले राजीनामा बुझाएपछि संसदको संख्या घट्ने र वैकल्पिक सरकार बनाउन सहज हुने आँकलन गरिएको छ। नेपालले प्रत्यक्षतर्फ नै आफूसँग २५ सांसदहरू रहेको भन्दै देउवासमक्ष सूची बुझाइसकेका छन्। 

नेपालले फागुन २८ गते र त्यसपछि बालुवाटारमा बसेका बैठकहरुले गरेका निर्णय खारेज गर्नुपर्ने आफ्नो बटमलाइन रहेको स्पस्ट पारेका छन्। 
नेपालले भनेका छन्, ‘ २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

राष्ट्रपति विद्यादेवी भण्डारीले फोन गरेर भेट वार्ताका लागि आग्रह गरेपछि नेपाल बिहीबार बेलुका शितलनिवास पुगेका थिए। राष्ट्रपतिसँगको छोटो भेटवार्ता सकारात्मक नरहेको ब्रिफिङ बिहीबार राति नै उनले आफू पक्षीय नेताहरूसँग गरेका थिए। भण्डारीले बरिष्ठ नेताको नताले पार्टी एकता जोगाउन पहल गर्नुपर्ने आग्रह गर्दा नेपालले ओली नै एकताको सबैभन्दा ठूलो बाधक भएकोले यो अवस्था सिर्जना भएको बताएका थिए। नेपालसँग भेटवार्ता गर्नुअघि शितलनिवासमा राष्ट्रपति भण्डारी र एमालेका अध्यक्ष एवं प्रधानमन्‍त्री केपी ओलीसँग भेटवार्ता भएको थियो।

फागुन २८ मा अध्यक्ष ओलीले आफूनिकट नेताहरुलाई बालुवाटारमा बोलाएर पार्टी विधान संशोधन गर्दै माधव नेपाललगायतका नेताहरूको जिम्मेवारीबाट हटाउँदै निष्काशान गरेका थिए। ओलीले संसद्‌मा निर्वाचित नेपालसहित तीसजनालाई स्पस्टीकरण सोधेर कारबाहीको तयारीसमेत गरेका छन्। 

वैशाख २८ गते विश्‍वास मत लिने प्रधानमन्‍त्रीको कदममा पनि नेपाल पक्षले असहयोग गर्ने संकेत पाएपछि ओली नेपाललाई सम्झाउन फकाउन राष्ट्रपतिलाई समेत आग्रह गरेका थिए। उनले राष्ट्रियसभामा विपक्षीहरूसँग गठबन्धन गरेर नेपाल समूहले सरकार पक्षका उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध अलग्गै उम्मेदवार खडा गरेपछि त्यसलाई रोक्‍ने पहल गरेका थिए। राष्ट्रपतिले समेत त्यसबारेमा सोच्‍न नेपाललाई आग्रह गरेकी थिइन्। तर त्यो प्रयास असफल भएको छ। शुक्रबार बादलविरुद्ध नेपाल पक्षले विपक्षीसमेतको गठबन्धमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ। 



Leave a comment

Your email address will not be published.


*