दैलेखमा कोरोनाबाट थप एकको मृत्यु, मृतककाे संख्या १३ पुग्याे

दैलेखमा कोरोनाबाट थप एकको मृत्यु, मृतककाे संख्या १३ पुग्याे

दैलेख : दैलेखमा कोरोनाबाट थप एकजना बिरामीको मृत्यु भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ४८ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको दैलेख अस्पतालका डा. सुशिला कटुवालले जानकारी दिइन् । डा. कटुवालका अनुसार दैलेख अस्पतालको आइसोलेनमा उपचाररत ती महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । ‘आइसोलेसन अस्पतालमा भर्ना भएदेखि नै उहाँको स्वास्थ्य अवस्था गम्भीर थियो,’ डा. कटुवालले भनिन्, ‘हामीले उपचारका विभिन्न उपाए अपनाउँदा पनि बचाउन सकेनौँ ।’ 

योसँगै पछिल्लो चरण जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । अघिल्लो वर्ष कोरोना संक्रमणका कारण ६ जनाको निधन भएको थियो । अघिल्लो वर्ष ६ जना र हालै ७ जनाको मृत्युभएसँगै दैलेखमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । 

आइतबार मात्रै नारायण नगरपालिका–८ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।  त्यसअघि नारायण नगरपालिका–१ पुरानो बजारका ७५ वर्षीय पुरुष, नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवती , दुल्लु नगरपालिका–१२ लम्सुका ३५ वर्षीय पुरुष, भैरबी गाउँपालिका–४ भैरीकालिकाथुमका ४५ वर्षीय पुरुष, नारायण नगरपालिका–८ का ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो । दैलेखमा पहिलो पटक २०७७ जेठ ५ गते आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । 

दैलेखमा हालसम्म एक हजार ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एक हजार पाँच सय ७१ जना निको भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । 

हाल २८ जना दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् भने तीन सय ४१ जना संक्रमति होम आइसोलेसनमा छन् । कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो डेढ सातायता दैलेखमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनानुदिन बढ्दै गएको छ । दैनिक नयाँ सक्रमित थपिने क्रम जारी छ । मृत्युदर पनि बढिरहेको छ । जिल्लामा संक्रमणको दर बढ्न थालेपछि दैलेखमा वैशाख २१ गते मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी जारी गरिएको निषेधाज्ञा जारी नै छ । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सताका लागि जारी गरेको निषेधाज्ञा वैशाख २८ गते राति १२ गते सकिदैछ ।

प्रतिक्रिया