दैलेखको निषेधाज्ञा थप कडा, के के गर्न पाइन्न

दैलेखको निषेधाज्ञा थप कडा, के के गर्न पाइन्न

जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो ।



दैलेख : दैलेखमा थप एक साता निषेधाज्ञा लागू हुने भएको छ । यसअघि लगाइएको निषेधाज्ञा मंगलवार (आज) राती १२ बजेदेखि सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो । जिल्लामा संक्रमणको दर बढ्न थालेपछि पहिलोे चरणमा बैशाख २१ गते मंगलवार राती १२ बजेदेखि बैशाख २८ गते राती १२ सम्मका एक साता निषेधाज्ञा जारी गरिएको थियो । मंगलवार राती १२ बजेदेखि नै लागु हुने गरी जेठ ४ गतेसम्मका लागि दोस्रो पटक म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । दोस्रो पटक एक साताका लागि जारी गरिएको निषेधाज्ञामा थप कडाई गरिने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।

विवाहमा १० जना मात्रै सहभागि हुन पाइने

जिल्ला प्रशासन कार्यालय दैलेखले दोस्रो पटक जारी गरेको निषेधाज्ञामा धार्मीक कार्यमा समेत कडाई गरेको छ । जिल्लाभर हुने विवाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्यहरुमा स्थानीय प्रशासनले कडाई गरेको हो । विवाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्य गर्नका लागि जिल्ला प्रशासन कार्यालय दैलेखबाट पूर्व स्वीकृत लिई बढिमा १० जना मात्रै हुन सहभागि हुने पाइनेछ ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहार मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसलहरु एक चौथाई कर्मचारीहरु उपस्थित भई विहान १० बजेदेखि १ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस्तै एग्रोभेट सेवा, कोभिड–१९ आइसोलेसन व्यवस्थापन लगाएतका सेवाहरु सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । सार्वजनिक निर्माण कार्यहरु निर्माणस्थलमै रहेर सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।
प्रशासनले गोष्ठि, सभा, सम्मेलन, समारोह, विद्यालय, कलेज, तालिम, जिमखाना, ब्यूटिपार्लर, सैलुन, वित्तिय संस्था, गैरसरकारी संस्था, मनोरञ्जनात्मक गतिविधी, मन्दिर चर्च, धार्मीक अनुष्ठानमा गरिने पुजाआजा ध्यान र अनावश्यक हिँडडुलमा पूर्ण रोक लगाएको छ ।

सवारी साधन सञ्चालनमा कडाई

प्रशासनले निषेधाज्ञाको समयमा सवारी साधान सञ्चालनमा समेत थप कडाई गरेको छ । निषेधाज्ञाको समयमा एम्बुलेन्स, दमकल, शववाहन, झण्डावाल सरकारी र निलो प्लेटका सवारी साधन सञ्चालनमा रहने जनाएको छ । यस्तै अत्यावश्यक दैनिक उपभोग्य पशु कृषिजन्य बस्तुहरु दुवानी गर्ने सवारी साधनहरु चालक र सहचालक मात्र रहने गरी सञ्चालन गर्न पाइनेछ । परिचयपत्र र पोषाक सहितका अत्यावश्यक सेवामा खटिएका जनशक्तिले प्रयोग गर्ने सवारी साधन, सूचना विभाग र सञ्चार गृहबाट प्रेस पास परिचय पत्र प्राप्त सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालनमा रहनेछन् । सरकारी सवारी साधन सञ्चालनमा समेत प्रशासनले कडाई गरेको छ ।
प्रशासनले सबै प्रकारका निजी र सार्वजनिक यातायातहर बस, हाइस, माइक्रोबस, जीप, अटोरिक्सा, मोटरसाइकल, स्कुटर, भारत र अन्य जिल्ला हुँदै आयात हुने तरकारी फलफूल र सबै प्रकारका मदिराजन्य सामग्री ढुवानी गर्ने सवारी साधनहरुमा पूर्ण रुपमा रोक लगाईएको छ ।

विहान साढे ८ बजेसम्म पसल खुल्ने

रोकनलगाईएका सेवा कार्यहरुको सञ्चालन तथा सवारी साधनहरुको प्रयोगमा पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्नुपर्नेछ । जिल्लाभर दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, फलफूल, तरकारी, ग्याँसका पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना हुनेगरी विहान ६ बजेदेखी साढे ८ बजेसम्म मात्र सञ्चालन पाइने प्रशासनले जनाएको छ ।

संक्रमितकोे संख्या दुई हजार नाघ्यो

दैलेखमा पहिलो पटक २०७७ जेठ ५ गते आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भयो । त्यसयता झण्डै एघार महिनामा जिल्लामा दुई हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार थप ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई हजार ७० पुगेको हो । हालसम्म १ हजार ६ सय १६ जना कोरोेनाका बिरामी निको भईसकेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ४० छ । ती मध्ये ३७ जना मात्रै दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् । चार सय तीन जना घरमै छन् । जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म १४ जनाको ज्यान गईसकेको छ । मंगलवार नारायण नगरपालिका–९ का ८० बर्षीया महिलाको मृत्युभएसँगै मृतकको संख्या १४ पुगेको हो । उनको दैलेख अस्पतालमै निधन भएको हो ।

प्रतिक्रिया