नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही नियुक्त

नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही नियुक्त

नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नियुक्त हुनुभएका नरबहादुर शाही

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रिक्त रहेका १७ पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो ।उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका अनुसार व्यवस्थापन संकायको डीनमा प्रा. डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा डा. लिलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्ण नियुक्त भएका छन् ।

त्यसैगरी योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्रा. डा. चन्द्रप्रकाश (सीपी) रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्रा. डा. विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा. डा. सुधन झा नियुक्त भएका छन् ।

विश्वविद्यालयले ९ वटा आंगिक क्याम्पसमा पनि क्याम्पस प्रमुख नियुक्त गरेको छ । उपकुलपति सिंहका अनुसार जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खीमबहादुर खड्का, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना, विद्यापुर जनता बहुमुखी विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका छन् ।

विश्वविद्यालयले पदाधिकारी छनोटको लागि लोकसेवा आयोगका सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयका पूर्वडीन प्रा. डा. विजय केसी र त्रिभुवन विश्वविद्यालयका विज्ञान संकाय अन्तर्गतका पूर्वनिर्देशक प्रा. डा. रामेश्वर अधिकारी सदस्य रहेको ३ सदस्यीय छनोट समिति गठन गरेको थियो । छनोट समितिले उम्मेदवारले पेश गरेको भिजन पेपर, शैक्षिक योग्यता, कार्य अनुभवसहित डकुमेन्टको आधारमा नाम सिफारिस गरेको उपकुलपति सिंहले बताए । उनका अनुसार छनोट समितिले दिएका नामलाई वैशाख १८ गतेको कार्यकारी परिषद्को बैठकबाट नियुक्त गर्ने निर्णय गरिएको थियो । सबै पदाधिकारीलाई जेठ १ गतेदेखि कामकाज गर्ने गरी नियुक्त गरिएको उनले बताए ।

विश्वविद्यालयले यसअघि रजिष्ट्रार नियुक्ती गर्दा पनि खुला विज्ञापन आह्वान गरेको थियो । काठमाडौं विश्वविद्यालयका पूर्वउपकूलपति प्रा. डा. सुरेशराज चालिसेको संयोजकत्वमा बनेको समितिले रजिष्ट्रार नियुक्तिको लागि नाम सिफारिस गरेको थियो । उपकुलपति सिंहले विश्वविद्यालयलाई विभिन्नखाले दबाब र प्रभावबाट मुक्त गरेर नमुना विश्वविद्यालय बनाउनको लागि खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया थालिएको बताए । ‘कानुनत: रजिष्ट्रार नियुक्तिको सिफारिस र अन्य पदाधिकारी नियुक्तिको एकल अधिकार उपकुलपतिलाई हुन्छ, तर हामीले खुला प्रतिस्पर्धाबाट क्षमतावान व्यक्ति आउन भनेर यस्तो कामको थालनी गरेका हौं,’ उनले भने, ‘यसले हाम्रो विश्वविद्यालयलाई उत्कृष्ट बनाउन सहयोग गर्नुका साथै अन्य विश्वविद्यालयलाई पनि राम्रो सन्देश दिने विश्वास लिएका छौं ।’

प्रतिक्रिया