प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

प्रधनमन्त्री केपी ओलीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।शुक्रबार दिउँसो २ बजेपछि राष्ट्रपति कार्यालय शीतल निवासमा ओलीले तेस्रो पटक प्रधानमन्त्रीको रुपमा शपथ लिएका हुन् । वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका ओली बिहीबार साँझ ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

राष्ट्रपतिले प्रधानमन्त्री पदमा दावीका लागि तोकेको समय सीमाभित्र कसैको पनि दाबी नपरेपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदको ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी  थिए । 

यसका साथै पुरानै मन्त्रीलाई निरन्तरता दिएर नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ । नयाँ मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरूलाई दोहोर्याएका छन् । राष्ट्रपति शितल निवासमा पुरानै मन्त्रीहरूलाई पुनः जिम्मेवारी दिएका हुन् ।

उपपप्रधानमन्त्रीमा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री मणि थापा, भौतिक योजना तथा पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले, महिला, बालबालिका तथा ज्येष्ठानागरिकमन्त्री जुलिकुमारी महतोले पुनः शपथ लिएका हुन् ।

प्रधानमन्त्री ओलीले तीनजना राज्यमन्त्रीलाई पनि पुरानै जिम्मेवारीमा दोहोर्याएका छन् । सहरी विकास राज्यमन्त्रीमा रामवीर मानन्धर दोहोरिएका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा नवराज राउत दोहोरिएका छन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको राज्यमन्त्रीमा विमला विक दोहोरिएकी छन् । उनीहरूले पनि शपथ लिएका छन् ।

प्रतिक्रिया