दैलेखमा निषेधाज्ञा लम्बियो

दैलेखमा निषेधाज्ञा लम्बियो

दैलेख : नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा नआएपछि दैलेखमा थप एक साता निषेधाज्ञा थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञा मंगलवार राती १२ बजेदेखि सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो । जिल्लामा संक्रमणको दर बढ्न थालेपछि पहिलोे चरणमा बैशाख २१ गतेदेखि बैशाख २८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले दोस्रो चरणमा बैशाख २८ देखि जेठ ४ गतेसम्मका लागि म्याद थप गरेको थियो ।
संक्रमणको दर बृद्धि भईरहेको भन्दै प्रशासनले तेस्रो पटक निषेधाज्ञाको म्याद थप गरेको हो । सोमवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले तेस्रो पटक निषेधाज्ञाको म्याद थप गरेको हो । अहिलेसम्म संक्रमितको संख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । जेठ ११ गतेसम्म लागु हुने गरी निषेधाज्ञाको समय थप गरिएको उनले बताए ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहार मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकका एटिएम सञ्चालनमा रहनेछन् । बैंकका आन्तरिक, प्रशासनिक र राजस्व संकलनका कामहरु मात्रै सञ्चालन हुनेछ । यस्तै एग्रोभेट सेवा, कोभिड–१९ आइसोलेसन व्यवस्थापन लगाएतका सेवाहरु सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । सार्वजनिक निर्माण कार्यहरु निर्माणस्थलमै रहेर सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।
प्रशासनले निषेधाज्ञामा धार्मीक कार्यमा समेत कडाई गरेको छ । जिल्लाभर हुने विवाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्यहरुमा स्थानीय प्रशासनले कडाई गरेको हो । विवाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्य गर्नका लागि जिल्ला प्रशासन कार्यालय दैलेखबाट पूर्व स्वीकृत लिई बढिमा १० जना मात्रै हुन सहभागि हुने पाइनेछ ।
प्रशासनले गोष्ठि, सभा, सम्मेलन, समारोह, विद्यालय, कलेज, तालिम, जिमखाना, ब्यूटिपार्लर, सैलुन, फेन्सी, हार्डवेयर, होटल, रेष्टुरेन्ट, चिया नास्ता पसल, वित्तिय संस्था, गैरसरकारी संस्था, मनोरञ्जनात्मक गतिविधी, मन्दिर चर्च, धार्मीक अनुष्ठानमा गरिने पुजाआजा ध्यान र अनावश्यक हिँडडुलमा पूर्ण रोक लगाएको छ ।
प्रशासनले निषेधाज्ञाको समयमा एम्बुलेन्स, दमकल, शववाहन, झण्डावाल सरकारी र निलो प्लेटका सवारी साधन सञ्चालनमा रहने जनाएको छ । यस्तै अत्यावश्यक दैनिक उपभोग्य पशु कृषिजन्य बस्तुहरु दुवानी गर्ने सवारी साधनहरु चालक र सहचालक मात्र रहने गरी सञ्चालन गर्न पाइनेछ । परिचयपत्र र पोषाक सहितका अत्यावश्यक सेवामा खटिएका जनशक्तिले प्रयोग गर्ने सवारी साधन, सूचना विभाग र सञ्चार गृहबाट प्रेस पास परिचय पत्र प्राप्त सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालनमा रहनेछन् । सरकारी सवारी साधन सञ्चालनमा समेत प्रशासनले कडाई गरेको छ । बैबाहिक कार्य र मृत्यु संस्कारका लागि प्रशासनको अनुमतीमा एक घरका मात्रै बढिमा दुई वटा सवारी साधनमा १० जना मात्रै राखेर सञ्चालन गर्न पाइनेछ ।
प्रशासनले सबै प्रकारका निजी र सार्वजनिक यातायातहरु बस, हाइस, माइक्रोबस, जीप, अटोरिक्सा, मोटरसाइकल, स्कुटर, भारत र अन्य जिल्ला हुँदै आयात हुने तरकारी फलफूल र सबै प्रकारका मदिराजन्य सामग्री ढुवानी गर्ने सवारी साधनहरुमा पूर्ण रुपमा रोक लगाईएको छ ।
रोक नलगाईएका सेवा कार्यहरुको सञ्चालन तथा सवारी साधनहरुको प्रयोगमा पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्नुपर्ने प्रशासनले जनाएको छ । जिल्लाभर दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, फलफूल, तरकारी, ग्याँसका पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना हुनेगरी विहान ६ बजेदेखी साढे ८ बजेसम्म मात्र सञ्चालन पाइने प्रशासनले जनाएको छ ।
जिल्लामा पछिल्लो चरण कोरोना संक्रमणको दर बढ्दो छ । मंगलवार एकै दिन थप १ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै दैलेखमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुनेको संख्या २ हजार ४ सय ९५ पुगेको छ । ती मध्ये १ हजार ९ सय ८ जना निको भईसकेका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार कोरोनाबाट २० जनाको मृत्यु भईसकेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६७ छ । ती मध्ये दैलेख अस्पतालको आइसोलेसनमा ३६ जना उपचाररत छन् ।

प्रतिक्रिया