बदलिदो राजनीतिक परिवेश र परिदृष्य हेर्दै गर्दा देश चुनावमा जाने पक्का पक्की भयो

बदलिदो राजनीतिक परिवेश र परिदृष्य हेर्दै गर्दा देश चुनावमा जाने पक्का पक्की भयो

जीवन शाही

राष्ट्रपति समक्ष सरकारको दाबी गर्दै गरेका सत्ता पक्ष र प्रतीपक्षको दाबी राष्ट्रपतिद्वारा खारेज भएसङ्गै कार्तिक २६ र मंसिर ३ मा मध्यावधी निर्वाचनको मिति तय भएको छ । संसदीय व्यवस्थाको कमजोरी भनौ वा अवसर ! बहुमत अल्पमतको गणितीय अभ्यासमा जुनसुकै राज्य व्यवस्थामा पनि यस्ता खेलहरु प्रशस्त देख्न पाइन्छ ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिघटित प्रतिनिधि सभा अदालतको बदर पछि पुनर्जीवित भई विभिन्न घटनाक्रमले पछ्याउँदै फेरि २०७८ जेठ ७ गते विघटन भएको छ । देश मध्यावधी निर्वाचनमा जानुपर्ने बाध्यात्मक स्थितिको सृजना भएको छ । लोकतान्त्रिक व्यवस्थामा अन्तिम निर्णायक जनता मान्दै निर्वाचनमा जानू जनमुखी देखिएपनि करिब १६/१७ महिना समयावधी बाँकी रहँदै गर्दा मध्यावधी निर्वाचनमा जानु आर्थिक, नैतिक तथा राजनैतिक हिसाबले फाइदाजनक देखिदैन् ।
एकातिर अल्पमत र बहुमतको अंक गणितीय अभ्यासले सत्ता सञ्चालनमा बारम्बार बाधा अड्चन पुर्याइरहने पक्ष र प्रतिपक्षको ब्यक्तिगत तथा पुर्बाग्रही सोच र अर्को तिर सत्तापक्षको हुकुमी शैली भन्दै राजनैतिक खिचातानी निरन्तर चलिरहँदा एउटामात्र बिकल्प निर्वाचन हुनु स्वभाभिक तथा लोकतान्त्रिक देखिन्छ । नेपालको राजनितिमा कम्युनिष्टहरु जहिले पनि बहुमतमा भएर अल्पमतमा रहनु पर्ने तितो यथार्थ केही समयका लागि गलत सिद्ध भई करिब दुई तिहाइसम्म पुग्दा विश्वव्यापी रुपमा एक तरङ्ग आयो । त्यही तरङ्गको परातरङ्ग स्वरुप वैदेशिक हस्तक्षेप, नेतृत्वको ब्यक्तिगत स्वार्थ तथा अरुको अस्तित्व स्वीकार्न नसक्ने कुण्ठित मानसिकताका कारण बिभिन्न बाहानाबाजी गर्दै पुरानै स्थितिमा फर्किएको तितो यथार्थ हामीसङ्ग ताजै छ । अर्कोतर्फ प्रजातान्त्रिक शक्तिको रुपमा रहेको नेपाली काँग्रेसको अवस्था अझै दयनिय छ । प्रमुख प्रतिपक्षको रुपमा संसदमा प्रतिनिधित्व गरेको काँग्रेसले बेलाबखतमा बाध्यात्मक बाजा बजाउने बाहेक खासै प्रतिपक्षि भुमिका निर्वाह गर्न सकेको देखिदैन । अरु बाँकी जसपा आफ्नै जातिय क्षेत्रीय मुद्दामै रुमलिरहेको छ ।। राप्रपा आफ्नै हिन्दु राज्य र राजाको रटान रटिरहँदा नेमकिपा आफ्नै क्रान्तिकारी धार बोकेर बामे सरिरहेको देखिन्छ । तथापी तोकिएको मध्यावधी निर्वाचनमा सबै तम्तयार भएर होमिने निश्चित छ ।
योसँगै मार्मिक तथा अतीसंबेदनसिल कुरा त यो छ कि विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ को भर्खरै तेस्रो भेरियन्ट समेत देखिएको छ । जसमा संक्रमण दर तथा यसको असर धेरै रहेको कुरा बिज्ञहरुबाट सुन्नमा आएको छ । पहिलो चरणको कोभिडले लकडाउन लगायत यस सङ्ग लड्दाको आर्थिक, मानसिक र सामाजिक भारबाट उम्किन नपाउँदै भयाबह स्थिती लिएर दोस्रो चरण आयो र लकडाउन चलिरहँदा नै यसको तेस्रो चरणको चर्चा व्यापक छ । यसको संक्रमण दर एकदमै उच्च रहेको भन्ने बुझिएको छ । देश अहिले पुर्णतया बन्दाबन्दिको अवस्थामा छ । विभिन्न ठाउँमा संक्रमण भयाबह स्थितिमा छ । समुदायमा संक्रमण पुगिसकेको यो अवस्थामा अक्सिजन तथा उचित ब्यवस्थापन को अभावले ज्यान गुमाउनु परेको तितो सत्य तपाईं हाम्रो सामु छ ।
राज्यले आफ्ना विभिन्न तहबाट सक्दो प्रयास गरिरहेको छ । नयाँ कोभिड अस्पताल निर्माण सूरु अन्य अस्पताललाई कोभिड विशेष अस्पतालमा परिणत, ठाउँ ठाउँमा अक्सिजन प्लाण्ट निर्माण गरिरहेको छ । यस अवस्थामा नीजि क्षेत्र तथा अन्य गौरसरकारी निकायबाट सहयोग भईरहेको देखिन्छ । विदेशमा रहने दाजुभाईहरुले सकेको सहयोग संकलन गरेर सहयोग पठाउनु भएको छ । सबै जना सबै क्षेत्र संलग्न हुँदा हुँदै पनि केही निजि अस्पताल व्यक्ती तथा संस्थाहरुले महामारीलाई पैसा कमाउने अवसरका रुपमा लिई परिस्थितिको गलत फाइदा उठाउदै गएको पनि देखिन्छ । अक्सिजन सिलिण्डरको कालोबजारी, औषधीको कृतिम अभाव, एम्बुलेन्स जस्तो कुरामा कालोबजारी तथा यातायातमा कालोबाजरी बढेको पाइन्छ । तथापी राज्य तथा विभिन्न संघ सस्था अभियान्ताका अभियानहरुले महामारीको लडाइ लडिरहेको अवस्था छ । भिडभाड गर्न नहुने आवतजावत बन्द रहेको अहिलेको अवस्थामा चुनावी मैदानमा सबै दलका नेता कार्यकर्ता होमिदा संक्रमणको अवस्था के रहला ?
भौतिक दुरीको ढोङ्ग रच्दै बिभिन्न कार्यक्रम आम सभाहरु हुनेछन् । आमसभाबाट नेता कार्यकर्ताहरु फेरि गाउँ बस्तिमा फर्किनेछन् । आउँदा होस अथवा जाँदा होस के कार्यकर्ताले कोभिड बोकेर आउने छैनन ? फर्किदा कोभिड बोकेर फर्किने छैनन् ? कि जिन्दाबाद मुर्दाबादको नाराले कोभिड डाराएर भाग्ने छ ? वा नेता कार्यकर्ता बाहेक अरुलाई मात्र संक्रमण सर्नेछ ? त्यसकारण यो चुनाव के साच्चिकै चुनाव हुनेछ ? जनता तथा भोटर नबच्ने चुनाव संक्रमण गराउने आमसभा कार्यक्रमहरु के का लागि र कसका लागि ? मलाई लाग्छ यो समय चुनाव भन्दा पनि कोभिडसङ्गको लडाइ हो ।
यति धेरै चुनावको बिरोध गरिरहँदा धेरैलाइ लाग्छ होला तत्कालीन सत्ता र सरकारलाई गाली गर्यो भनेर । यहाँ चुनाव हुनुमा दोषी जत्तिको सत्ता छ त्यतिको तपाईं अनि म पनि छु । हामिले किन आफुले चुनेको प्रतिनिधिलाइ हाम्रो स्वास्थ भन्दा ठूलो राजनैतिक खेलमा चासो देखाउने अवसर दियौं ? किन कोरोनाको महामारीमा तपाईं हामिसंगै कोभिड बिरुद्धको लडाइँमा संगै लड्न नलागाएर संसदमा जोड घटाउको खेलमा होमिन छुट दियौं ?
किनकी हामीले भन्न सकेनौ कि ‘नेताज्यु÷माननीयज्यु अहिले कोभिडसँग लडौ, सरकार र सत्तासँग पछि संगसंगै लडौला ।’ किन ब्यक्तिगत कुन्ठा र पदिय लोभलाइ सत्ताको खेलमा जोड्न दियौं ? किन आफ्नो नेतालाई राज्यलाई कोभिड नियन्त्रणमा सहयोग गर्न दबाब दिन सकेनौ ? अझै पनि समय छ आफ्नो क्षेत्रको माननियलाई अझै दबाब दिऔँ पहिला कोभिडबाट छुटकारा अनि मात्र चुनाव भनेर के सम्भब छैन र ? २००७ सालमा राणा २०४७ सालमा पञ्चायत र २०६३ मा राजा कसले फालेको भनेर किन सोध्न सकेनौ ?
त्यसकारण गल्ती नेता तथा सत्ता जतिकै तपाईं हाम्रो पनि छ । भलै हामी विभिन्न बाधा तथा बन्धनमा अल्झिएका छौ । तर, आफ्नो अधिकारको खोजिनितीसँगै दायित्व पनि नभुलौ । चुनावका लागि जनता हैन जनताका लागि र जनताको शासनका लागि चुनाब हुने गर्छ ।
अन्त्यमा, सुरक्षित रहौँ, अरुलाइ पनि सुरक्षीत गराैँ, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई यो महामारी बिरुद्धको लडाईमा सहयोह गरौँ । सक्दो जनचेतना फैलाई सजग र सचेत बनाउन सहयोग गरौँ ।

प्रतिक्रिया