राउटे नागरिकको कोरोना परीक्षण : ‘सबैको रिपोर्ट नेगेटिभ’

राउटे नागरिकको कोरोना परीक्षण : ‘सबैको रिपोर्ट नेगेटिभ’

दैलेख : कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका नागरिकहरुको कोरोना संक्रमण परीक्षण गरिएको छ । कोरोना संक्रमण फैलनसक्ने सम्भावना देखिएकाले उनिहरुको संक्रमण परीक्षण गरिएको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपनि राउटे नागरिकहरुले पालना गर्दैनन् । उनिहरुलाई खाद्यान्नको जोहो गर्न अहिले पनि विभिन्न र गाउँ र बजार डुलिरहनुपर्ने बाध्यता छ । कोरोना संक्रमणको आशंकमा राउटे नागरिकहरुको परीक्षण गरिएको हो ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट स्थित भेरी नदि किनारमा बसोबास गर्दैै आएका राउटे नागरिकहरु मध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो । राउटे नागरिकहरुलाई स्थायी बासिन्दाको सरकारी प्रमाणपत्र दिएको गुराँस गाउँपालिकाका स्वाथ्यकर्मीको टोलीले बस्तीमै पुगेर कोरोना परिक्षण गरेको हो ।
अघिल्लो साता मात्रै राउटे युवा शिवराज शाहीको निधनपछि राउटे समुदायमा पनि कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो । राउटे समुदायमा हुने हरेक गतिविधिमा अगुवाई गर्दै आएका शिवराज २०७६ जेठ ५ देखि ११ गतेसम्म सञ्चालन भएको काठको निर्माण सम्बन्धि तालिममा सक्रियता पूर्वक सहभागि भएका थिए ।
राउटे समुदायका अगुवा समेत रहेका शिवराजको मृत्युपछि सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा परीक्षण गरिएको हो । एन्टिजेट विधिबाट कोरोना परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले जानकारी दिए । ‘गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली सहित बस्तीमै पुगेर राउटे नागरिकहरुको कोरोना परीक्षण गराएका छौ,’ विष्टले भने ‘परीक्षण गराएका सबैमा कोरोना संक्रमण देखिएन् ।’

तस्विरहरु :

 

प्रतिक्रिया