राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन जना पक्राउ

राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन जना पक्राउ

सुर्खेत : जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायका युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हाल गुर्भाकोट नगरपालिकाको आँपसोतीमा बस्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुव्र्यवहार गर्नुका साथै भिडियो बनाएर फेसबुकमार्फत सार्वजनिक गर्ने गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी)सहित तीन जनालाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।
सार्वजनिक भिडियोमा होटलको एक कोठामा सुरुमा चमन र दुई राउटे युवती देखिन्छन् । ति मध्ये एउटी राउटे युवतीलाई चमनले ‘श्रीमती’ भनेर सम्बोधन गरेका छन् । दुबै जना राउटे युवतीहरु मदिराले लट्ठ देखिन्छन् । राउटे युवतीसँगै सुतेका चमनले थप मदिराको माग गरेको देखिन्छ ।
राउटे युवतीलाई मदिरा सेवन गराएर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतले चमनसहित भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पक्राउ गरेको छ ।
युट्युव, टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल राउटे समुदायका युवतीमाथि पछिल्लो समय दुव्र्यवहार बढ्दै गएको छ । युट्युव, टिकटक बनाउने नाममा राउटे बस्ती पुग्नेहरुले उनीहरुलाई मदिरा सेवन गराउने, अस्लिल शब्दहरु बोल्न लगाउने, यौन दुव्र्यवहार गर्नेलगायतका नराम्रा कामहरु गर्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेहरुलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली राउटे बस्तीमा पठाइएको बताए । ‘बस्तीमै पुगेर प्रहरीले थप अनुसन्धान गर्छ,’ उनले भने, ‘पक्राउ परेकाहरुलाई के कारवाही गर्ने भन्ने स्थलगत अनुसन्धानबाट खुल्छ ।’

 

प्रतिक्रिया