घरमै अध्ययन, स्कुलमा अब्बल !

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः शनिबार, असार ५, २०७८     ::: 850 पटक पढिएको   |  

दैलेख : गुराँस गाउँपालिका–३ का बिरबहादुर बुढा अहिले १५ बर्षका भए । उनि बहुअपाङ्गता भई जन्मिएका थिए । हुन त उनको मानसिक विकास राम्रोसँग हुन सकेको छैन् । उनको माथिल्लो ओठ जन्मेदेखिनै फाटेकोले उनको बोलीमा स्पष्टता छैन् । उनि शारिरीक रुपमा पनि कमजोर छन् । नेपाली समाजमा ‘अपाङ्गता पूर्व जन्मको पाप हो, यसले केही गर्न सक्दैन, यो परिवारको लागि बोझ मात्र हो, यसलाई पढाएर काम छैन’ भन्ने जस्ता रुढीबादी सोच छ ।

यस्तै रुढीबादी सोचहरुलाई उनै बिर बहादुरले तोडेका छन् । केहि बर्षअघि उनलाई घरपरिवारले नजिकैको सामुदायिक स्कुलमा कक्षा एकमा भर्ना गरिदियो । तर, शारिरीक कमजोरीका कारण ३० मिनेटको दुरीमा रहेको स्कुल पुग्नपनि उनलाई धौ धौ पथ्र्यो । स्कुल गएपनि उनका अन्य साथीहरुले जिस्क्याउँथे । उनका अन्य साथीहरु सरह सिक्न नसक्ने भएकाले उनले स्कुल जानै छाडिदिए ।

त्यसयता उनलाई घरमै पढाउन थालियो । गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाको घरमै विद्यालय कार्यक्रम अन्तरगर्त सहजकर्ताको सहयोगमा बिरबहादुरले घरमै पढ्न थाले । उनले सन २०१९ देखि घरमै अध्ययन गर्दैै आएका हुन् । घरमै अध्ययन गरेका बिरबहादुर अहिले स्कुलमा अब्बल कहलिएका छन् । उनि हालै दुर्गादेवी मावीमा कक्षा २ मा तृतिय श्रेणीमा उतिर्ण भएका छन् । परियोजनाले अपाङ्गता भएका बालबालिका जो, विद्यालयसम्म पुग्न सक्दैनन, उनिहरुको आधारभुत शिक्षाको पहुँच अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिएको थियो ।


सुरुमा उनि घरमै सञ्चालन गरिएको कक्षामा बस्न मान्दैनथे । सहजकर्तालाई चिथोर्ने, गाली गर्ने, रुने, कराउने गर्थे । बिरबहादुरको पढाईमा सहजिकरण गरेकी सहजकर्ता द्रुपता खत्री भन्छिन् ‘सुरुमा मैले बिरबहादुरलाई सिकाउन सक्दिन की भन्ने लाग्थ्यो, तर अहिले उनि रमाउँदै पढ्ने गर्छन् ।’ उनि बिहानको ८ देखि ११ बजेसम्मकक्षामा पढ्ने गर्दछन् । कक्षाको समिक्षा मासिक रुपमा उनको विद्यालय र वडामा हुने गर्दछ ।

जनप्रतिनिधिहरु, वडा बालअधिकार समितिका सदस्यहरु तथा परियोजनाका कर्मचारीहरुले कक्षालाई अझ बढि प्रभाविकारी बनाउन निरन्तर लागि परेका छन् । बिरबहादुर दुई बर्ष हुँदा लखनउस्थित एक अस्पतालमा शल्यक्रिया गरिएको थियो । ‘मेरो छोराको मुटु सानो भएकोले डाक्टर सावले धेरै बाँच्दैनन भनेका छन्,’ बिरबहादुरका बुबा धनसिंह बुढा भन्छन् ‘छोराको अवस्था देखेर असाध्यै चिन्ता लाग्छ, कुनैबेला छोराको अवस्थालाई लिएर आफुले आशा मारिसकेको थिएँ ।’ अहिले छोराको अवस्थामा आएको परिवर्तनले धनसिंह खुसी छन् । बिरबहादुर जस्तै गुराँस गाउँपालिकाका अन्य चार जना बालबालिकाहरु घरमै विद्यालय कार्यक्रम अन्तरगर्त अध्ययन गरिरहेका छन् ।

 



Leave a comment

Your email address will not be published.


*