चार ताराको मान

          |   प्रकाशित मितिः आइतवार, असार १३, २०७८     ::: 120 पटक पढिएको   |  

शैलजा आचार्य, शेरबहादुर देउवा, सुशील कोइराला र रामचन्द्र पौडेललाई चार ताराका रूपमा बुझ्ने गरिन्थ्यो


दर्शन आचार्य –सैद्धान्तिक बहसभन्दा नितान्त निजी आरोप/प्रत्यारोप मात्र चल्ने कांग्रेसमा राष्ट्रिय महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यता नजिकिएलगतै नेतृत्वका बारेमा आन्तरिक जोडघटाउ प्रारम्भ भएको छ। कोभिडका महामारीबीच महाधिवेशन हुनेमा संशय देखिएको छ। तर पनि पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महŒवपूर्ण राजनीतिक अभियान हो। पार्टीको जीवन्तताका लागि महायज्ञ पनि भएकाले निर्धारित मितिमै महाधिवेशन हुन्छ।’ अन्यथा आशंका नगर्न भन्दै आफ्नो धारणा सार्वजनिकसँगै महाधिवेशनको कार्यतालिका निष्कृयपश्चात उक्त वक्तव्य र कार्यतालिका चालबाजीमा आधारित छैन भने महाधिवेशन हुने देखिएको छ।

कोभिडको प्रभाव, सम्भावित संकटकाल, मध्य वर्षा र अन्य विषम परिस्थिति देखा परे महाधिवेशन सम्पन्न गर्ने विषय प्राथमिकतामा पर्ने सम्भावना न्युन नै हुन्छ। यही विषयलाई बहाना बनाएर महाधिवेशन सम्पन्न गर्न पार्टीको संस्थापन पक्ष तयार नहुने बुझाइसहितको आशंका संस्थापन इतरको रहेकै बेला देउवाद्धारा जारी विज्ञप्ति र प्रकाशित कार्यतालिकाले कांग्रेसको आन्तरिक राजनीतिमा देखा परेको एक प्रकारको संशय टुंगिएको छ। कानुनी बाध्यताको समयसीमाभित्रै महाधिवेशन सम्पन्न गर्न नसकेर कानुनमा उल्लेख भएबमोजिम ५० हजार जरिवानाको तहमा कांग्रेस पार्टी पुग्ने स्थिति रह्यो भने राजसंस्थाको विदाइसँगै नेपालको पुरानो एवं गतिशील पार्टी र पार्टी नेतृत्वमाथि नैतिकताको प्रश्न भने जोडदार रूपमा अगाडि आउने छ। तसर्थ पनि समयसीमाकै कारण महाधिवेशन गर्नैपर्ने मुद्दा अगाडि आएको छ।

पुस्तान्तरणको रोमाञ्चकारी टकराव
पञ्चायतविरुद्धको आन्दोलनबाट राजनीतिमा स्थापित, प्रजातन्त्र प्राप्तिपश्चात पार्टी राजनीतिमा क्रियाशील र गणतन्त्र प्राप्तिको आन्दोलनमा सरिक भएका तीनवटा पुस्ताको उपस्थिति कांग्रेसमा बराबरी हैसियतमा रहेकाले पनि कांग्रेसको चौधौं महाधिवेशनको टकराव रोमाञ्चकारी बन्ने निश्चित प्रायः छ। हिजो कांग्रेस बिग्रियो बुढाले, एमाले बिग्रियो कुराले र माओवादी बिग्रियो भुराले भन्ने गरिन्थ्यो ! त्यो नारामा आज परिवर्तन आएको छ। आज कांग्रेस बिग्रियो सम्भ्रान्त साइनोले, एमाले बिग्रियो दक्षिणपन्थी बाटो रोज्नाले र माओवादी बिग्रियो अडान नहुनाले भन्ने स्थिति देखिएको छ। तसर्थ पनि यी सबै दलमा पुस्तान्तरणको मुद्दा जोडदार रूपमा उठ्न थालेको हो।

आजका मितिमा कांग्रेसको उपल्लो तहका नेतामा न व्यत्तित्त्व, न त विचार र कार्यक्रम नै देखा पर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीको पटक पटकको कदमले केही हदसम्म कांग्रेसलाई घोर निन्द्राबाट ब्युँझाइदिएको छ।

युवा पुस्ताको सपना, समर्पण र संघर्षबाट बनेको देशमा विचार र उमेर दुवै कारण अवकास लिने बेला भएका हजुरबा पुस्ताबाटै शासित हुनुपर्ने अवस्था भनेको मुलुक निर्माणको सन्दर्भमा अशुभ संकेत हो। कांग्रेसकै सन्दर्भ जोड्नुपर्दा कांग्रेसले आज कांग्रेस निर्माणको जग मानिएको समाजवादसमेत बिर्सिएको छ। अर्थतन्त्रको विश्वव्यापी उदारीकरणको लहरकै पछि लागेर अर्थतन्त्रलाई पुँजीवादको भरिया बनाउँदा धनी र गरिबबीचको खाडल फराकिलो बन्दैछ ! पार्टीभित्रै पनि ऐक्यबद्धताको संस्कृतिभन्दा स्वार्थको विषयले प्रधानता पाउँदै गएको छ। परिवर्तनका निम्ति जन्म भएको कांग्रेसभित्र आज निजी स्वार्थ र गुट यसरी झाँगिएका छन् कि समग्र कांग्रेस भेट्टाउनै मुस्किल छ। यही चरित्र कांग्रेसमा विद्यमान रहने हो भने आगामी युगको प्रतिनिधित्व कांग्रेसबाट सम्भवै छैन।

आजको व्यग्रप्रतीक्षा भनेको पुस्तान्तरणसहितको नयाँ नेतृत्वको हो। जो लोकतान्त्रिक राजनीतिप्रति जवाफदेही हुँदै पारदर्शी रूपमा पार्टी र समाज निर्माणमा लाग्न सक्षम होस्। क्रान्तिचेत र गतिशिलता हराएको कांग्रेसलाई ससानो धक्का वा तयारीले पुग्ने देखिँदैन। ठेक्कापट्टा, गुण्डागर्दी, व्यापार व्यवसाय, जागीर, उद्योग कलकारखानादेखि मानव तस्करीसम्म सबै तहबाट असफल वा अवकासपछि जम्मा हुने थलो भइदियो। राजनीति र तिनै व्यक्तिलाई सुनपानी छर्केर राजनीतिज्ञको बर्को ओढाइदिने तह भइदिए नेपालको राजनीतिक दल ! कांग्रेस कम्तिमा यी विषयबाट धेरथोर मुक्त हुन मात्र सक्यो भने पनि जनताको पार्टी बन्न सम्भव छ।

आजका मितिमा कांग्रेस कमजोर हुनुका मुख्य दुई कारणमध्ये एक पार्टी नेतृत्वको सम्भ्रान्त साइनो हो भने अर्को युवा नेताले विचार निर्माण गरेर जनता र कार्यकर्ता तहमा जानुभन्दा फूलबुट्टा निर्माण गरेर तिनै अवकास लिने बेला भएका नेताको घरदैलो चहार्नु नै हो। कम्तिमा यी दुई विषयबाट कांग्रेस र तीनका नेता मुक्त हुन सके भने त्यसपछिको पुस्तान्तरण रोमाञ्चकारी टकरावले पार्टीलाई गति दिन सम्भव छ। त्यो टकरावमा विचारले स्थान पाउने छ भने त्यसपछि क्रान्तिचेत भएका नेताकार्यकर्ता सहितको पार्टी निर्माण हुनेछ। अन्यथा, युवा नेतामा पनि आजकै मितिको सोच, संस्कार र शैली कायमै रहने हो भने आगामी महाधिवेशनबाट पार्टीले एकथान नेतृत्व त पाउला नै, नेता भने पाउने छैन।

चार ताराको मान राख्नेहरू
गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाकालीन समयमा शैलजा आचार्य, शेरबहादुर देउवा, सुशील कोइराला र रामचन्द्र पौडेललाई चार ताराका रूपमा बुझ्ने गरिन्थ्यो। देउवा र पौडेलबाहेक बाँकी सबै नेता दिवंगत भसक्नुभएको छ। देउवा र पौडेल पनि फिक्का ताराका रूपमा रूपान्तरण भइसक्नु भयो। प्रजातन्त्र प्राप्तियता विरलै सत्ता र शक्तिबाहिर रहेका देउवा/पौडेलले सरकार, संसद् र पार्टीमा समयक्रमसँगै यथोचित भूमिका त पाए तर राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा आशालाग्दो छवि निर्माण गर्न भने सकेनन्। वंशवादविरुद्ध जेहाद छेडेर पार्टीमा स्थापित देउवाको पहिलो काम नै अर्धांगिनीलाई राजनीतिमा स्थापित गरेर आफ्नै भनाइलाई खण्डित गर्ने काम भयो। उता देउवाविरोधी मोर्चाको नेताका रूपमा भूमिका पाए पनि पौडेलले उक्त भूमिकाको कार्य सम्पादन आफ्नो समूहलाई चित्तबुझ्दो रूपमा गर्नवाट चुक्दै गए। फराकिलो सोचको अभाव नै पौडेलको समस्या बनिदियो।

देउवा/पौडेललाई छाडेर कांग्रेसको राजनीतिभित्र दोस्रा तहका नेतामा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला र शेखर कोइराला (कृप्रविशशे) देखा परे। जो सभापतिका सम्भावित दाबेदारका रूपमा बुझ्ने गरिन्छ। यी पाँच भाइ नेतामध्ये सिटौला त तेह्रौं महाधिवेशनमा सभापतिका प्रत्यासी भइसकेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को गर्दै देखा परेको असंवैधानिक कदमबारे देउवाले कांग्रेसको वर्गचरित्रअनुसार सत्तालाई सच्याउन धक्का दिने आस गरिएको थियो। त्यो हुन सकेन। अब पार्टीको राष्ट्रिय महाधिवेशनलाई नै सत्ताविरोधी आन्दोलनको रूपमा सम्पन्न गरेर सत्तालाई धक्कासँगै डगमगाएको सिस्टमलाई ट्रयाकमा ल्याउन कृप्रविशशेले पार्टीका युवानेताहरू चन्द्र भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदिप पौडेल, जीवन परियार लगायतको सुझबुझपूर्ण जोसलाई समायोजन गर्दै प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ। अन्यथा सत्ता योभन्दा पनि निरंकुश भएर प्रस्तुत हुने कुरामा दुई मत नरहला।

विरासतबाट कांग्रेसले पाएको चरित्र आजका मितिको हँुदै होइन, एउटा आन्दोलनको रूपमा स्थापित कांग्रेस आज जनमत विपक्षीको पाएको भएता पनि एकातिर सत्तामुखी भएको छ भने अर्कातिर आगामी भाद्रभित्र महाधिवेशन सम्पन्न गर्न सकेन भने साढे पाँच वर्षको समयावधिभित्र पनि आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न नसक्ने लाजमर्दो अवस्थामा रूपान्तरण हुनेछ। विरासतबाट पाएको वर्गचरित्रविपरीत सत्ताको ढोकामा दुई/चार थान सरकारी नियुक्तिको भीख माग्नु कांग्रेसको चरित्रभित्र पर्ने विषय नै नहुनुपर्ने हो। राप्रपा र मधेसवादी दलको पथमा आज कांग्रेस जाँदैछ। यसैले पनि कांग्रेस माथि राजनीतिक र नैतिक हिसावले दर्जनौ प्रश्न खडा भएका छन्। कांग्रेसभित्रको आजको मूल प्रश्न भनेको चार ताराको मान कसले राख्ला भन्ने नै हो।

लोकतान्त्रिक पद्दतिमा नागरिकसँग दललाई जोड्ने माध्यम भनेकै व्यक्ति, विचार, संगठन र कार्यक्रम हुन्। आजका मितिमा कांग्रेसको उपल्लो तहका नेतामा न व्यक्तित्व, न त विचार र कार्यक्रम नै देखा पर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीको पटक पटकको कदमले केही हदसम्म कांग्रेसलाई घोर निन्द्राबाट ब्युँझाइदिएको छ। ब्यँुझिएको कांग्रेसले एकातिर राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर चार ताराको मान राख्ने नेतृत्वको चयन गर्न कति सक्षम हुन्छ र अर्कातिर मुलुकलाई दक्षिणपन्थी भासमा लैजाँदै गरेका प्रम ओलीको कदमको कसरी प्रतीकार गर्छ ? यसका निम्ति कांग्रेसको महाधिवेशनसम्म पर्खनै पर्ने हुन्छ भने कांग्रेसकै कारण मुलुकले भावी राजनीतिको गन्तव्य पनि तय गर्नेछ। अन्नपूर्ण पोस्ट्बाट



Leave a comment

Your email address will not be published.


*