दलको ह्वीप नलाग्ने फैसला भए बहुदलीय पञ्चायती व्यवस्था फर्किन्छ

दलको ह्वीप नलाग्ने फैसला भए बहुदलीय पञ्चायती व्यवस्था फर्किन्छ

काठमाडौं : एमाले नेता विष्णु रिजालले सर्वोच्च अदालतले दलको ह्वीप नलाग्ने फैसला गरे मुलुक बहुदलीय पञ्चायती व्यवस्थामा फर्किने बताएका छन्। शनिबार फेसबुकमार्फत उनले हाम्रो संविधान र बहुदलीय संसदीय व्यवस्थाको भविष्य कस्तो हुनेछ भनेर निर्धारण अब आउने फैसलाले गर्ने बताएका छन्।

उनले भनेका छन्,‘दलको निर्णयबिना व्यक्तिहरुको निर्दलीय सरकार बनाउन पाइन्छ र दलको ह्वीप लाग्दैन भन्ने फैसला भएछ भने संशोधनको प्रक्रिया नै अवलम्बन नगरी संविधान संशोधन हुनेछ र मुलुक बहुदलीय पञ्चायती व्यवस्थातिर फर्किनेछ।’
रिजालले अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी बहसपश्चात दिने आदेशमा दुई प्रश्न निरुपण गर्नुपर्ने देखिएको बताएका छन्। ‘प्रधानमन्त्रीले संविधानको धारा ७६(४) अर्थात् सदनमा परीक्षण नगरी ‘मार्गप्रशस्त गरेँ’ भनेर अर्को सरकार बनाउन ७६ (५) मा जान पाइने कि नपाइने ? उनले अदालतले टुंगाउनुपर्ने विषयलाई प्रश्न गरेका छन्, बहुदलीय व्यवस्थामा दलहरुको निर्णय र सहभागिता बिना निर्दलीय सरकार बनाउन पाइने कि नपाइने ?’

उनले मंसिरमा संघीय चुनाव, फागुनमा स्थानीय चुनाव अनिवार्य गर्नुपर्ने भएकाले खोप आवश्यक भएको बताएका छन्। चुनाव घोषणा गरेका प्रधानमन्त्रीलाई यति बाचा पूरा नगरेर चुनावमा जाँदा के हुन्छ भन्ने राम्ररी थाहा भएको उल्लेख गरेका छन्। ‘चुनावअघि सबै नेपालीलाई खोपको व्यवस्था भइसक्ने घोषणा प्रधानमन्त्रीले गर्नुभएको छ। मंसिरमा संघीय चुनाव घोषित छ, फागुनमा स्थानीय चुनाव अनिवार्य छ।’शुक्रबार फेसबुकमा उले लेखेका छन्,‘चुनाव घोषणा गरेका प्रमलाई यति बाचा पूरा नगरेर चुनावमा जाँदा के हुन्छ भन्ने राम्ररी थाहा छ।’
शनिबार प्रधानमन्त्रीले पार्टीको बैठकमा अब मुलुकमा खोपको अभाव नहुने बताएका थिए। रिजालकाअनुसार चीनबाट साप्ताहिक रुपमा १० लाख डोज खोप आयात यसै साताबाट हुँदैछ। कोभ्याक्सका साथै अरु खोप पनि यसबीचमा आउने तालिका तय भएको उल्लेख गरेका छन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री र राष्ट्रपति कार्यालयका तर्फबाट शुक्रबार बहस सकिएको छ। सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट आइतबार बहस हुनेछ। सभामुखको पक्षलाई दुई घण्टा समय छुट्ट्याइएको छ।

रिट निवेदकका कानुन व्यवसायीले ३ घण्टा प्रत्युत्तर बहस गर्नेछन्।  त्यसपछि मात्रै एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, प्रकाशबहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले आफ्नो राय दिनेछन्। उनीहरूका लागि ३०–३० मिनेट गरी २ घण्टा समय छुट्ट्याइएको छ।

https://www.facebook.com/bishnu.rijal/posts/10227261628193224

प्रतिक्रिया