के भ्रूणको जात हुन्छ ?

        निरू त्रिपाठी   |   प्रकाशित मितिः आइतवार, असार २०, २०७८     ::: 53 पटक पढिएको   |  

कतिले मलाई खुब बाहुनी भएर भेदभाव, छुवाछुतको पक्षमा लेख्छे र खुब महसुस गरेको छ भनेर स्वाङ पार्छे पनि भन्नुहुन्छ होला। अचानोको पीडा खुकुरीलाई के थाहा भनेर पनि भन्नुहोला। तर सन्तानको माया यस्तो हुन्छ भनेर महसुस गर्न आमा नै बन्नुपर्छ भन्ने पनि छैन।

निरू त्रिपाठी

कुनै पनि कुराको विषयमा चर्चा गर्दा, बोल्दा, आफ्नो धारणा राख्दा, त्यसको समीक्षा गर्दा त्यसबारेमा पूर्ण ज्ञान हुन जरूरी छ। अनि ज्ञानसँगसँगै त्यस विषयमा आत्मालोचना र विषयप्रतिको गहिरो चिन्तन हुनु पनि अत्यन्त आवश्यकता छ। र, अन्त्यमा ती कुराहरु आफ्नो जीवनमा लागू गर्न सबैभन्दा बढी महत्वपूर्ण छ किनकि, हामीले कुनै पनि कुरा बोल्नको लागि मात्रै बोल्नुहुँदैन, सुन्नको लागि मात्रै सुन्नुहुँदैन, लेख्नको लागि मात्रै लेख्नुहुँदैन र पढ्नको लागि मात्रै पढ्नुहुँदैन। यदि म बोल्छु भने, यदि म सुन्छु भने, यदि म लेख्छु भने र यदि म पढ्छु भने मैले मेरो जिब्रो, कान,  औँलाहरु र यो आँखालाई छल्नु कदापि हुँदैन। जबसम्म हामीले समाजमा भनिएका, राखिएका कुनै पनि परिवर्तनशील सोचहरु, न्यायका बोलीहरू, हकहितका नाराहरुले हामीभीत्र नै एउटा सकारात्मक परिवर्तन ल्याउन सक्दैन भने तवसम्म हाम्रो व्यवहार वनावटी नै भईरहन्छ। र, जातीय घटना सुष्म गतिमा मौलाईरहने र सामाजिक मान्यताहरु विगत भन्दा फरक अनुभूत गर्न नसकिने पक्का हुन्छ।

नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय जगतमा नै एकदमै चासो र महत्वपूर्ण रहेको विषय हो जातीय विभेद। उपत्यकामा राजा जयस्थिति मल्लले चार वर्ण चौसठ्ठी जातमा समाजलाई विभाजन गरी छुवाछुत प्रथा लागू गरेको कहिकतै पढेको भए पनि आखिर नेपालमा जातीय विभेद र छुवाछुतको कहाँबाट सुरु भयो भन्ने कुराको यकीन अहिलेसम्म पनि गर्न सकेको छैन र यस बारेमा समाजशास्त्रीहरुका फरक–फरक मत रहेको छ।यस विषयमा फरकफरक मत भए पनि जात शब्दको अर्थको बारेमा भने सबैको एउटै मत छ।

हामीले यति धेरै चर्चा गर्ने जातको मूल अर्थ के हो त भनेर बुझ्न जरुरी छ। संस्कृतबाट उत्पन्न भएको जातः को अर्थ हुन्छ ‘जन्मिने’ या जन्म लिने। जात मानवको लागि मात्र होइन त्यो सबै जीव–जन्तुको रूपलाई दर्शाउने शब्द हो। मान्छे होस्, जनावर होस् वा किरा–फट्याङ्ग्रा जुन योनीमा जन्म लिन्छ त्यहिँ रूपलाई नै जात भनिन्छ। अनि आत्माले जुन शरीर धारणा गर्छ त्यही अनुसार आफ्नो पहिचान पनि निर्माण गर्छ। जस्तैः यदि पुरूषको शरीर पायो भने त्यो पुरुष हुन्छ, यदि महिलाको शरीर पायो भने त्यो महिला हुन्छ र यदि यो बाहेक अन्य शरीर र भावना लिएर जन्मियो भने ऊ त्यहीँ पहिचानको कहलिन्छ।

यहीँ कारण मानवको मानवबाहेक अरु कुनै जात छैन। मानिसको साझा घर पृथ्वी हो र मानिसको मूल मानिस नै हो र मानिस बाहेक उनीहरुको कुनै अरु मूल छैन। हामी हात्ती, घोडा, कुकुर, किरा, कमिला, भुसुना,रुख, विरुवा भएर जन्मेका छैनौ त्यसैले पनि सबै मानव एउटै जाति ‘मानव जाति’ का हुन्। जन्मदै यहाँ कोही सानो र ठूलो, तल्लो-माथिल्लो जात भएर जन्मेका छैनौं। प्रकृतिले हामी सबैलाई समान रुपमा जन्माएको छ। प्रकृतिले हामी सबैलाई समान व्यवहार गरेको छ र त्यही अनुरुप नै हामी सबैको समान दृष्टिकोणले सृजना भएको हो। त्यसैले पनि समाजमा जातीय भेदभाव र छुवाछुत प्रथालाई प्राथमिकता दिनु हाम्रो मूर्खता मात्रै हो।

मान्छेले मान्छेलाई नै मान्छे नठान्ने,जातीय विभेद तथा छुवाछुत सामन्तवादी राज्यसत्तावाट निर्माण भएको एउटा विकृत प्रथा मात्र हो। सामन्ती चिन्तनको पराकाष्ठा जाति विभेद हो।यो विभेदलाई हटाएर हट्न सक्छ। यो कु-प्रथालाई बदलिएर बदल्न सक्छ। आखिर मान्छेले नै शक्तिपुन्जमा रहिरहन बनाएको नियम हो यो। नत्र के चाँहि फरक छ र दलित र गैरदलित कहलिएको मान्छे मान्छेबीचमा। श्वासनली एउटै छ, रक्तनली एउटै छ, रगतको रङ एउटै छ, नाकको ठाउँमा नाक छ, आँखाको ठाउँमा आँखा छ, कानको ठाउँमा कान छ , हात गोडा एउटै छ र सबैभन्दा ठूलो कुरा मान्छे जन्माउने वीर्य र भ्रूण पनि एउटै छ। अब भन्नुस् भ्रूणको के जात हुन्छ? वीर्यको के जात हुन्छ?

यदि परिश्रमी वर्गका मानिसहरूको पेशा तथा व्यवसायको आधारमा उनीहरूलाई निच जातको रुपमा हेरिएको हो भने उनीहरूले गर्ने कामहरु त अहिले उच्च जात कहलिएकाले पनि गर्छन्। र यदि यो सोच हो भने त उनीहरुलाई पनि पानी नचल्ने जात धोषणा गरी त्यही व्यवहार गर्नुपर्ने? जस्तैः नाच्ने, गाउँने, फलाम, छाला, कपडा, सुन, कुलो–घर बनाउने, बाटो–घाटो नाली खन्ने, ढल सरसफाई, मसानघाटमा लास पोल्ने तथा अन्य यहीसँग सम्वन्धित अन्य काम गर्नेलाई दलित समुदायको संज्ञा दिइएको पाइन्छ। तर, त्यही समुदायले गर्ने कार्यहरु आज पानी चल्ने समुदायले पनि गरेको छ भने पानी नचल्ने पानी चल्ने र पानी चल्ने पानी नचल्ने किन भएन? एउटै कर्म गर्दा आज कोही सम्मानित त हिजो कोही अपमानित किन भए ? यो गम्भीर प्रश्नहरु हुन्।

यो प्रश्न गर्दा कतिले मलाई खुब बाहुनी भएर भेदभाव, छुवाछुतको पक्षमा लेख्छे र खुब महसुस गरेको छ भनेर स्वाङ पार्छे पनि भन्नुहुन्छ होला। अचानोको पीडा खुकुरीलाई के थाहा भनेर पनि भन्नुहोला। तर सन्तानको माया यस्तो हुन्छ भनेर महसुस गर्न आमा नै बन्नुपर्छ भन्ने पनि छैन। हाम्रा परिपरी कहिलेकाँहि हामीभीत्रै यस्तो घटनाहरु घटिरहेको हुन्छ, जुन हामी रिलेट गर्न सक्छौ, महसुस गर्न सक्छौ, संवेदनशील बन्न सक्छौ।

यदि तपाइँ अतिवादी भएर फेरि पनि मेरो कुराहरू जातीय नाम दिएर बनावटी सोच्दै हुनुहुन्छ भने तपाइँ मेरो लागि परिवर्तनप्रेमी होइन। तपार्इँ  ‘स्टीरियोटाइप’ खाले व्यक्ति हुनुहुन्छ। मेरो जातीय समर्थनलाई जब ख्रोको आदर्श ठानिन्छ तब म पनि भित्रैदेखि पीडित भएको महसुस गर्छु। शासक मानिएको एउटा वर्ग वा समुदायको कुनै व्यक्तिहरु समयसँगै परिवर्तन हुनसक्छन्,उनीहरुको पूर्खाले बनाएको कुप्रथा, कुरीति, नीति नियम, मुल्य मान्यताको उनीहरु नै विरोधि पनि हुन सक्छन् र अन्ततः आफ्नै घरभीत्र एक विद्रोही भइ चेतावनी दिन सडकमा निस्कन सक्छन्।

एउटा तीतोसत्य यो पनि हो कि नेपालको इतिहासमा आजसम्म जातीय भेदभाव अन्त्य गर्न जति पनि कानुन र संविधानमा अक्षर लेखिए र जे जति अक्षर र शब्दहरु समयअनुकुल संशोधन हुँदै गए त्यसमा पीडित पक्ष र समुदायका अभियन्ता सँगसँगै सामन्ति वर्गको ट्याग पाएका त्यही समुदायका केही व्यक्ति विशेष वा समूहको पनि ठूलो हात रहेको छ। समयसँगै खबरदारीसँगसँगै यो सत्यतालाई सबैले मनन गर्न पनि जरुरी छ।

खैर, यो विषयमा पनि कुनै बेला चर्चा गरौँला तर अहिले म मेरो केही अनुभव सुनाउन चाहन्छु। कसरी म बाहुनको घर, बाहुन समुदायमा जन्मेहुर्के पनि जातीय भेदभाव यस्तै होला भनेर महसुस गरेँ भन्ने कसैले सुन पानी छर्केर छोएको सामानलाई चोख्खाउँदाको त्यो तीतो अनुभवको ‘नीलडाम’ म भित्र पनि छ।म एघार वर्षको थिएँ। पहिलो पटक महिनावारी बारेर सात दिनपछि घर फर्केको थिएँ। अरूको घरको एउटा कोठामा सातदिनसम्म घाम नहेरी परिवारलाई नदेखी आफ्नो घर आउँदा सुनपानी नछर्कि मलाई भित्र पसाएको थिएन। घरमा सधैँ चिया खान आउने गाउँकी एक व्यक्तिले तँ त दमिनी पो भइछेस् भनेर कुनै जात र मेरो मजाक उडाएर तल्लो स्तरको कमेन्ट गर्दा मेरो चित्त दुखेको थियो।

हरेक महिना चारदिनसम्म मलाई छुट्टै राखेर खाना खुवाउँदा, मेरो थाल भित्र नलादाँ, छोएला कि भनेर सबै परपर भाग्दा, धारामा छुन जान नपाउँदा, मन्दिर छिर्न नपाउँदा, कसैको विवाह ब्रतबन्ध, पूजाआजामा सरिक हुन नपाउँदा र चार दिनपछि बल्ल सुनपानी छर्केर चोख्खाउँदा मलाई मनभीत्र पीडा हुनथ्यो।त्यतीखेर म सोच्थेँ महिनाको चार दिन यसरी बस्दा मलाई कति पीडा, हेलित र अन्याय महसुस भइरहेको छ भने लामो समयसम्म सधैभरी यसरी समाजमा हेलित भएर बस्ने वर्गलाई कति सहन नसक्ने भएको होला भनेर।

आज खुशी लाग्छ, घरमा मैले पहिला जसरी त्यस्तो कडा नियमसहित महिनावारी बार्नुपदैन। खुसी त त्यतिखेर लाग्यो जब आमाबुबा अष्ट्रेलिया आउँदा म पर सरेको बेलामा पनि सँगै बसेर छोइएर अझ मैले पकाएको खाना खानुभयो। मेरो घरमा धेरै जातजाति भनिएको साथीहरु आउनुभयो, हामीहरु उहाँहरुको घरमा गएर पनि खाना खायौँ।

आमाबुबा समयसँगै परिवर्तन भइरहनुभएको थियो। हामी खाँदैनौं यदि तिमीहरुलाई खान मन छ भने ल्याएर खाओ न त सुँगुरको मासु पनि भन्नुभयो। एकदिन हामी मेरो एक जना साथीकोमा खाना आएर आउँदा आमाबुबाले त्यो साथीको आलुको अचारको खुब तारिफ गर्नुभयो। मिठो खाना खुवाएकोमा धेरै धन्यवाद र आर्शिर्वाद पनि दिनुभयो। त्यहाँ जातको कुरा आएन। मेरो साथीले मिठो खाना खुवाइ, आमाबुबाको स्वागत सत्कार राम्ररी गरी र त्यो नै सबैभन्दा ठूलो जात थियो। त्यो नै सबैभन्दा ठूलो धर्म थियो।

एकातिर मेरो बुबाआमाले जुन निर्धक्कता र सहजता देखाएर यहाँ सबै जनासँग घुलमिल गर्दै रमाउँदै बस्नुभएको थियो अर्कोतिर त्यो सहजता नेपाल फर्केपछि आफ्नै घर टोलछिमेकमा पुगेपछि नहुने डर पनि मनमा रहिरह्यो।अझ पनि घरमा केही कुराहरु परिमार्जीत भएको छ, केही कुराहरु परिवर्तन भए। सायद केही कुराहरु परिवर्तन हुन समय लाग्छ होला। तर खुशी लाग्छ, मेरो साथीहरु बाटोपर्दा मलेखु पस्नुहुन्छ,खाजा खाएर जानुहुन्छ, कतिजना बास पनि बस्नुहुन्छ तर आमाबुबा, दाइभाउजूले के जातको भनेर सोध्नुहुन्न।

जुन जातको साथी गए पनि छोरीको पाहुना बहिनीको मान्छे भनेर सम्मान गरेर राख्नुहुन्छ। मैले मेरै घरमा विस्तारै परिवर्तन देखेको छु त्यसैले समाज एक दिन पूर्णरुपमा परिवर्तन हुन्छ भन्ने आशामा छु। मेरो घरको रहनसहन परिवर्तन हुन समय लाग्यो, रातारात भएन त्यसैले पनि विश्वास गर्छु विस्तारै विस्तारै परिवर्तन भएको कुराहरु दिगो हुन्छ।

अनि यो सँगै यहाँ अर्को प्रसंग पनि जोड्न चाहन्छु। गाउँमा एउटा भुषण दाइ हुनुहुनथ्यो। उहाँ एकदमै राम्रो कपडा सिलाउने। मेरो स्कूल ड्रेस, चाडपर्वको कपडा, जाडोको चोलो सबै उहाँले सिलाउनुहुन्थ्यो। उहाँले सिलाएको जीउमा टमक्क पनि हुन्थ्यो त्यसैले बजारमा नयाँ टेलर्स आए पनि हामी उहाँकोमा नै जान्थ्यौं। एकदिन आमाले मलाई उहाँकोमा गएर सिलाएको कपडा लिएर आइज भन्नुभयो।

शनिबारको दिन त्यस्तै गर्मी महिना थियो। उकालो ओरालो गर्दै सबैभन्दा पर रहेको एक्लो उहाँको घरमा कपडा लिन पुगेँ। गर्मीले पसिनै पसिना भएको थिएँ अनि एकदमै तिर्खा पनि लागेको थियो। जाने वित्तिकै पानी मागेँ। तर उहाँहरुले मलाई पानी दिनुभएन। बाहुनको छोरीलाई पानी दिएको यहाँ कसैले देख्यो भने के भन्ला भन्ने डरले उहाँले पानी दिनुभएन। ‘जाउँ नानी ऊ माथि धारा छ’ त्यहीँ खाएर आउँ भन्नुभयो।

गर्मीले चीरचीर भएर तिर्खा लाग्दा पनि घरको पानी नदिएर अझ माथितिर जाउँ भन्दा मलाई नरमाईलोनि लाग्यो। भो माथि जान्न बरू गाग्री कहाँ छ म आफैं सारेर खान्छु नि भनेँ। मेरो कुरा सुनेर उहाँहरु मुखामुख गर्नुभयो। त्यसपछि बल्ल उहाँहरुले मलाई चिसो पानी गिलासमा दिनुभयो। गिलास जुठो लगाएर नै पानी थपेर खाएँ। बल्ल मन शान्त भएको थियो।यो घटनाले पनि ममा परिपक्कता ल्यायो। यो घटनालाई मैले मनदेखि महसुस गरेँ। यो घटना मेरो मनमस्तिष्कमा अहिलेसम्म जस्ताको त्यस्तै छ। सायद उहाँहरु डर र त्रासलाई मैले नजिकबाट त्यसरी ननिहालेको भए आज जातीय विरुद्ध खुलेर वकालत गर्न सक्दैनथेँ होला।

अन्त्यमा, जातीय छुवाछूतजस्तो मनो–सामाजिक समस्याको कानुनी उपचार र संविधानमा कोरिएका शव्दले मात्र समाधान गर्न सकिदैन। अहिलेसम्म पनि समाजमा यो भेदभाव ‘नीलडाम’ झैँ बसिसहेकोले न्याय सम्पादन, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, सञ्चार, सरकारी वकिल,उजुरी दर्ता गर्ने प्रहरी, मानवअधिकारकर्मीको संवेदनशीलतासँगसँगै धार्मिक , साँस्कृतिक बिभेदको पूर्ण अन्त्य, सामाजिक व्यवहार, मूल्य, मान्यतामा आमूल परिवर्तन र नैतिक बल स्थापना गर्न जरुरी देखिएको छ। मान्छे भएर जन्मेपछि स्वतन्त्रढंगले बाँच्न र राज्यद्वारा प्रदत्त अधिकारहरूको समान उपभोग गर्न पाउनु सबै मानवको नैसर्गिक अधिकार हो। सेताेपाटीबाट



Leave a comment

Your email address will not be published.


*