कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका वडासदस्य तेजबहादुर थापाको मृत्यु भएको हो । उनको बाँकेको कोहलपुरस्थित घरमै बिहीवार विहान निधन भएको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजुकुमार खत्रीले जानकारी दिए ।

वडाध्यक्ष खत्रीका अनुसार त्यसअघि उनको नेपालगंजस्थित भेरी अस्पतालमा उपचार गरिएको थियो । भेरी अस्पतालमा पनि उपचार सम्भव नभएपछि घर ल्याइएको थियो । वडासदस्य थापाको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार एक दिन वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार उनलाई असार १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । रेग्मीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थापाको स्वास्थ्यमा सुधार नआएपछि रिफर गरिएको थियो ।

वडासदस्य थापाको निधनप्रति डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले दुःख व्यक्त गरेका छन् । गाउँपालिकाले एक कुसल राजनीतिककर्मी गुमाएको अध्यक्ष मल्लले प्रतिक्रिया दिए । अध्यक्ष मल्लले डुङ्गेश्वर गाउँपालिकाको विकास निर्माणमा वडासदस्य थापाको विशेष योगदान रहेको उल्लेख गरे ।

नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले थापाको निधनले सिंगो दैलेख जिल्लाको कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको प्रतिक्रिया दिएका छन् । साविकको लाँकुरी गाउँ विकास समिति–५ उम गाउँमा (हाल डुङ्गेश्वर गाउँपालिका–२) मा जन्मिएका थापा पूर्व लेखा अधिकृत हुन् । ६१ वर्षीया थापा जिल्ला सहकारी संघका अध्यक्ष तथा नेकपा एमाले दैलेखको लेखा आयोगका संयोजक हुन् ।

प्रतिक्रिया