बालबालिकामा मोबाइल लत : अभिभावककै पहलबाट मात्र छुटाउन सम्भव

बालबालिकामा मोबाइल लत : अभिभावककै पहलबाट मात्र छुटाउन सम्भव

काठमाडौं : बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।ल मनोरोग विशेषज्ञ डा. गुञ्जन घोजूका अनुसार कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई सावधानीपूर्वक मोबाइलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने हुन्छ ।

‘इन्टरनेटमा अत्यधिक समय खर्चिनु भनेको पनि एक प्रकारको मानसिक रोग नै हो, धेरै इन्टरनेट वा फोन, ल्यापटपजस्ता उपकरण (ग्याजेट) मात्र चलायो र पठनपाठनतर्फ खासै ध्यान दिन सकेको छैन भने बालबालिकालाई मानसिक समस्या भएको भन्ने बुझ्नुपर्छ, डा. गुञ्जन घोजू भन्छिन् ।

बालबालिकाले कुन अवस्थामा इन्टरनेट चलाइरहेको छ भन्ने बुझ्न जरुरी रहेको डा. घोजूको भनाइ छ । कुनै मानसिक तनावले पनि यस्ता प्रविधि बढी समयसम्म चलाउने गरिन्छ । उनले थपिन, “बालबालिकालाई के भइरहेको छ भन्ने कुरा अभिभावकले मायाले सोध्नुपर्छ ।”

अभिभावकको भनाइ बालबालिकाका लागि प्रेरणाको स्रोत हुन्छ । बालबालिकालाई आफूसँगै सिर्जनात्मक काम गर्न प्रेरित गर्न सकियो भने इन्टरनेट चलाउनमा ध्यान कम जाने उहाँको सुझाव छ ।

चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले घरबाहिर साथीभाइसँग घुलमिल गराउनुको साटो पछिल्ला दिनमा अभिभावकले मोबाइल दिएर टार्ने प्रवृत्ति हावी भएको बताए । उनले आफ्नो बच्चाले सानै उमेरमा मोबाइल चलाउन जान्नुलाई बच्चा ‘स्मार्ट’ भएको संज्ञा दिने अभिभावकहरूको पनि समाजमा कमी छैन । सामाजिक सञ्जालको संसार आफैँमा कृत्रिम भएको र त्यसमा देखाइने दृश्य तथा सामग्री बालबालिकामैत्री नहुने विज्ञको सुझाव छ ।

दृश्यमा देखाइने हत्या, हिंसाका चित्रले बालबालिकामा नजानिँदो तरिकाले असर पार्ने रघुवंशीले बताए। उनले भने, “एकदेखि डेढ घण्टाभन्दा बढी समय मोबाइलमा बिताउनु वयस्कका लागि पनि खतरा हुन्छ भने बालबालिकाका लागि त झनै खतरा हुन्छ ।”
रघुवंशीका अनुसार मोबाइलको लत अल्कोहलको नशाजस्तै हो । मोबाइलबिना बच्चा हुर्काउन सकिँदैन भन्ने बाध्यताको भ्रमलाई अभिभावकले अब समयमै चिर्नुपर्ने उनको भनाइ छ ।

बालमनोविद् तारा अधिकारीले प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न सुझाव दिनुभयो । उहाँले खाना खाने टेबल, सुत्ने कोठाबाट सकेसम्म मोबाइल र टीभी टाढा राख्ने बानी बसाल्नुपर्ने जानकारी दिए ।

प्रतिक्रिया