कफिनमाथि आँसुको भल

कफिनमाथि आँसुको भल

दैलेखको दुल्लु–१३ मालिकाका लोकबहादुर शाहीको कफिनछेउ भावविह्वल श्रीमती पुष्पा र छोराछोरी । 

काठमाडौँ : प्रस्थान कक्षमा यात्रु छिर्नेबाहेक छुट्टै एउटा फलामे ढोका छ, जुन यदाकदा मात्रै खुलेको देखिन्छ । शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उक्त ढोका खोलिँदा त्यहाँ २ घण्टाअघिदेखि नै भेला भइसकेका थिए मलिन अनुहार लगाएकाहरू ।

यही भीडमा छुट्टै किंकर्तव्यविमूढ उभिएकी थिइन् दैलेखको दुल्लु नगरपालिका -१३ मालिकाकी २८ वर्षीया पुष्पा शाही । साथमा थिए १३ वर्षीया छोरी र १० वर्षका छोरा ।अलि पर भित्र पस्न हतारिँदै थिए उनका जेठाजु नरेन्द्रबहादुर र चार जना आफन्त । मलेसियाबाट उडेको नेपाल एयरलाइन्सको विमान बिहान ७:३० बजे अवतरण भएको थियो । वाइडबडी विमान २४ जनाको शव लिएर आएको थियो । तीमध्येको एउटा शव ३२ वर्षीय लोकबहादुर शाहीको थियो, जसका लागि १८ घण्टा कठिन यात्राको दूरी पार गर्दै पुष्पा, छोराछोरी र आफन्त आएका थिए ।

शव बुझ्न कागजी प्रक्रिया पूरा गर्दागर्दै दुई घण्टा लाग्यो । शव बुझ्ने कागजात भएपछि प्रहरीले गेट आधा मात्रै खोलेर नरेन्द्रबहादुरको साथमा रहेका आफन्तलाई भित्र पस्न दिए । पुष्पा र छोराछोरी बाहिरै उभिए । विमानस्थलभित्र शव ल्याइएका सेता बाकस खात लगाइएको थियो । भिज्न नदिन बाकसलाई प्लास्टिकले बेरिएको थियो ।

हरेक बाकसमा नाम लेखिएको थियो । भित्र पस्न दिएपछि नरेन्द्र आफ्ना भाइ ‘लोकबहादुर शाही’ नाम लेखिएको बाकस खोज्दै अगाडि बढे । शव बनेर भाइ आएको बाकस भेटियो । पाँच जना मिलेर स्ट्रेचरमा हाली बाहिर निकाले । भित्र नरेन्द्रले शव भएको बाकस पहिचान गर्नेबित्तिकै बाहिर ढोकाबाट हेरिरहेकी पुष्पाको आँखाबाट आँसुको भल छुट्न थालिसकेको थियो । छोरीले भित्र आँखा लगाइरहे पनि छोराले भने आमालाई हेरिरहे । पुष्पालाई सम्हालिन निकै गाह्रो भइरहेको थियो । नरेन्द्रले बाकसलाई बाहिर ल्याए । परिवारका तीन जना शवको टाउको राखिएको भागमा हात राखेर रुन थाले । यो दृश्य देख्ने अरूका आँखा पनि रसाइरहेका थिए । नरेन्द्रले शव लैजान ल्याइएको गाडीमा बाकस लोड गरे । गाडी पशुपति आर्यघाट पुग्यो ।

‘शवलाई कति ठाउँ घुमाउँदै गाउँ लैजाने ? आफूलाई सम्हाल्न कठिन भएकाले पशुपति आर्यघाटमै अन्त्येष्टि गरियो,’ नरेन्द्रले  भने, ‘अब काठमाडौं बसेर भएन, घर फर्किन्छौं ।’ सुरक्षा गार्डको काम गर्न भिसा आउँदा लोकबहादुर हाँसीखुसी घरबाट हिँडेका थिए । उनी २०७४ पुस २६ मा मलेसिया गएका थिए । नेपाली दूतावासका अनुसार गत जुलाई २० मा उनले आत्महत्या गरेका थिए । ‘वास्तविक कुरा बुझ्न सकेको छैन । सुन्नमा आएअनुसार आत्महत्या भएको भन्ने छ ।

विदेशको मामिलाबारे पूरा कुरा बुझ्न सकेको छैन,’ नरेन्द्रले भने, ‘उनले आत्महत्या गर्नुपर्ने कारण त थियो जस्तो हामीलाई लाग्दैन । खै के हो ? के ?’ उनले कम्पनी र साथीहरूमार्फत भाइको मृत्युको कारण पत्ता लगाउन कोसिस पनि गरेका थिए । तर चित्तबुझ्दो उत्तर नपाएको उनले बताए । दाहसंस्कार सकेपछि उनीहरू दैलेख फर्किए ।

नेपाल एयरलाइन्सको उडान नम्बर ४१६ ले शाहीसहित सल्यानका बुद्धिराम कामी, बर्दियाका मनीराम चौधरी, बैतडीका कर्णबहादुर बुढाथोकी, जाजरकोटका सन्दीप विक, बागलुङका सुनिल बीसी, तनहुँका झापटबहादुर थापा, पाँचथरका दलबहादुर मोक्तान, ललितपुरका कृष्णकुमार राई, सुनसरीका होमबहादुर गुरुङ, बाराका रामचरित्र कानु, सिन्धुपाल्चोकका अमरबहादुर माझी, सिरहाका रूपेश पुलामी मगर, कपिलवस्तुका श्यामु थारू, ओखलढुंगाका सोमरबहादुर तामाङको शव लिएर आएको हो ।

त्यस्तै, झापाका शम्भु विक, मोरङकी कमलादेवी भण्डारी, झापाका लोकबन्धु लावती, नवलपरासीका मति तामाङ, पाल्पाका यमबहादुर सनारी, ओखलढुंगाका दलमान तामाङ र झापाका गोविन्द बोहराको शव पनि आइपुगेको छ । नवलपरासीका मोहनप्रसाद चौधरी, डडेलधुराका मीनबहादुर विष्ट र सिरहाका रोशनकुमार यादवको भने अस्तु मात्रै आएको थियो । कान्तिपुरबाट

प्रतिक्रिया