गरिब नागरिकलाई निःशुल्क बिजुली दिन सरकार तयार छ : ऊर्जा मन्त्री भुसाल

गरिब नागरिकलाई निःशुल्क बिजुली दिन सरकार तयार छ : ऊर्जा मन्त्री भुसाल

काठमाण्डाै : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको भाउ घटाउनुपर्ने बताएकी छिन । मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री भुसालले देशमा बिजुली खपत भएन भनेर चिन्ता लिइरहँदा बिजुलीको महसुलबारे पनि सोच्नुपर्ने बताइन् ।

अरू क्षेत्रमा उत्पादन बढ्दै जाँदा भाउ घट्ने तर ऊर्जा क्षेत्रको उत्पादन बढ्दै जाँदा भाउ नघट्ने विषय असुहाउँदो भएको भन्दै मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना बनाउनुपर्ने र आफूले पनि यो विषयमा सल्लाह सुरु गरिसकेको बताइन्। उनले बिजुली खपत बढाउनका लागि भाउ घटाउने र ग्यासको विकल्पमा प्रयोग बढाउनका लागि विद्युतीय सामग्रीको भन्सार छुटको सहुलियत दिनुपर्ने बताइन् ।

गरिब नागरिकलाई निःशुल्क बिजुली दिन सरकार तयार रहेको मन्त्री भुसालकाे भनाइ छ। उनले अहिले पनि कतिपय नागरिकले महसुल तिर्न नसकेकै कारण बिजुली जोड्न नसकेको बताउँदै त्यस्ता नागरिकलाई सरकारले निःशुल्क बिजुली दिने दाबी गरिन् ।

राष्ट्रिय प्रसारण पुगेका र छिटै पुर्याउन सकिने ठाउँमा राष्ट्रिय प्रसारण लाइनकै बिजुली दिइने र तत्काल सम्भव नभएका ठाउँमा लघु जलविद्युत् या वैकल्पिक ऊर्जाको व्यवस्था गरिने मन्त्री भुसालकाे भनाइ छ। उद्योगहरूको मागअनुसार बिजुली दिन सकेमा खपत बढ्ने तर त्यसका लागि प्रसारण लाइन र सबस्टेशनको समस्या भएकाले त्यसतर्फ ध्यान दिएर काम गर्ने मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

प्रतिक्रिया