अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

काठमाडौँ : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए ।

पारसले सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए । सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए । १० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ ।

उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी-२० अन्तर्राष्ट्रिय र ट्वान्टी-२० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन् । उनले १० खेलबाट ३१५ रन बनाएका छन् । त्यस्तै उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ७९९ र ट्वान्टी-२० मा ५६ खेलमा १ हजार ३ सय ७७ रन बनाएका छन् ।

३३ वर्षे उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी हुन् । उनकै कप्तानीमा नेपालले २०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेलेको थियो भने २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

पारसको कप्तानीमा नेपाली क्रिकेटका मुख्य उपलब्धि
२००९ नोभेम्बर– एसीसी ट्वान्टी–२० प्रतियोगितामा कप्तानी जिम्मेवारी
२०१०– विश्व क्रिकेट लिग डिभिजन–५ उपाधि
२०११– एसीसी ट्वान्टी–२० कपमा सेमिफाइनल
२०१२– विश्व क्रिकेट लिग डिभिजन–४ उपाधि
२०१२– ट्वान्टी–२० विश्वकप छनोटमा सातौं
२०१३– विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि
२०१३– एसीसी ट्वान्टी–२० फाइनल
२०१३– विश्वकप छनोटमा तेस्रो भएपछि विश्वकपमा ऐतिहासिक छनोट
२०१४– ट्वान्टी–२० विश्वकपमा अफगानिस्तान र हङकङलाई हराए पनि बंगलादेशसँग पराजित, समूहबाटै बाहिर
२०१४– एकदिवसीय विश्वकप छनोटमा नवौं हुँदै डिभिजन २ बाट रेलिगेसन
२०१४– विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि
२०१५– देखि २०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप
२०१७– विश्व क्रिकेट लिग डिभिजन–२ फाइनल
२०१८– एकदिवसीय विश्वकप छनोटमार्फत ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता
२०१९– ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सिंगापुरसँग पराजित हुँदै बाहिर

प्रतिक्रिया