गाउँमै दुग्ध चिस्यान केन्द्र

गाउँमै दुग्ध चिस्यान केन्द्र

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–६ पिलाडीमा दुग्ध चिस्यान/संकलन केन्द्र सञ्चालनमा आएको छ । ग्रामिण भेगका किसानहरुले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री वितरणलाई सहज बनाउन संकलन केन्द्र सञ्चालनमा ल्याईएको हो । स्थानीय सुनगाभा साना किसान कृषि सहकारी संस्थाले केन्द्र सञ्चालनमा ल्याएको हो ।

३१ लाख ५० हजार रुपैयाँको लागतमा संकलन केन्द्र स्थापना गरिएको सहकारी संस्थाले जनाएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको २० लाख, गुराँस गाउँपालिकाको ५ लाख र सहकारी संस्थाको ६ लाख ५० हजार रुपैयाँ गरी ३१ लाख ५० हजार रुपैयाँको लागतमा संकलन केन्द्र सञ्चालनमा आएको हो ।

पिलाडीको बगौरामा सञ्चालनमा आएको संकलन केन्द्रको कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा मन्त्री शाहीले किसानहरु नै अन्नदाता भएकाले अवहेलना गर्न नहुने बताए । अब आर्थिक क्रान्तिको आवश्यकता औल्याउँदै मन्त्री शाहीले व्यवसायिक कृषि र पशुपालनमा जोड दिनुपर्ने बताए । कर्णाली प्रदेश सरकारले किसानहरुको हितमा काम गरिरहेको बताउँदै मन्त्री शाहीले सरकारले गोठालो भत्तादेखि किसानलाई ऋण उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताए ।

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले अन्य स्थानीय तह वा जिल्लाबाट गुराँस गाउँपालिकाभित्र गाई वा भैसी खरिद गरेर ल्याउने किसानलाई पाँच हजार रुपैयाँ ढुवानी खर्च र पाँच हजार रुपैयाँ भकारो सुधारका लागि सहयोग उपलब्ध गराउने उद्घोष गरेका छन् । उनले सहकारी क्षेत्रको विकासका लागि गाउँपालिका सधै तयार रहेको बताए ।

पिलाडी क्षेत्रमा उत्पादन हुने दुग्धजन्य पदार्थलाई व्यवस्थापन गरी गुणस्तर मापन गर्दै बजारिकरण गर्ने उदेश्यले दुग्ध चिस्यान/संकलन केन्द्र सञ्चालनमा ल्याईएको सहकारीका अध्यक्ष गणेशकुमार बिसीले बताए । अब गाउँमा किसानहरु उत्पादन गरेको दुध खेर नजाने अध्यक्ष बिसीको भनाई छ । दुग्ध चिस्यान/संकलन केन्द्र सञ्चालनमा आएसँगै किसानहरु खुसी भएका छन् । उत्पादित दुग्धजन्य पदार्थ बिक्री वितरणमा सहज हुने किसानहरुको भनाई छ ।

दुग्ध चिस्यान/संकलन केन्द्र उद्घाटन कार्यक्रममा पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक मोहन गिरी, गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्य, गुराँस गाउँपालिका–६ का वडाध्यक्ष हिमबहादुर ओली, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त प्रमुख भिमबहादुर विष्ट, कृषि विकास कार्यालय दैलेखका कृषि अर्थ विज्ञ झलकबहादुर भण्डारी, नाप्रास गणेशबहादुर शाही, जिल्ला सहकारी संघ दैलेखका कार्यवाहक अध्यक्ष भुपेन्द्र खड्का, सहकारीका सेयर सदस्य लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया