बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद

बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद

– यो घटनामा बलात्कार आरोपितले पीडक बालिकालाई बयान फेर्न दबाब दिएका थिए ।
– बलात्कारपछि पीडित बालिकाबाट छोरी जन्मिईसकेको छ ।

दैलेख : बलात्कार कसुरमा एक युवकलाई दैलेख जिल्ला अदालतले १२ वर्ष कैद सजाय फैसला गरेको छ । १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा पीडित बालिकालाई बयान बदल्न लगाए पनि आरोपित दुल्लू नगरपालिका–१३ का २१ वर्षीय डम्बर भन्ने दिनेश बिकलाई अदालतले १२ वर्ष कैद सजाय तोकेको हो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट भएको फैसलामा कैदसँगै आरोपितले ५० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा १८ सय रुपैंयाँ तिर्नुेपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।

बलात्कारपछि बच्चा जन्मिईसकेको घटनामा आरोपित पक्षले पीडितलाई सहमतिमा सहवास भएको भन्न लगाए पनि मुलुकी अपराध सहिंताको दफा २१९ को उपदफा (१) अनुसार १८ वर्ष भन्दा कम उमेर बालिकालाई मञ्जूरी लिई गरेको करणीलाई बलात्कार मानिने भन्ने व्याख्या गरी उक्त सजाय तोकिएको छ ।

पीडितलाई सहमतिमै यौन सम्वन्ध भएको भन्न लगाइएको भएपनि १८ वर्ष भन्दा कम उमेरकी बालिकालाई मञ्जूरी लिई गरेको करणीलाई बलात्कार मानिने भन्ने कानूनी व्यवस्था अनुसार सजाय भएको अदालतका सूचना अधिकारी न्यौपानेले बताए ।
सरकारीवादी मुद्दा भएको कारण यो मुद्दामा पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले बहस गरेका थिए । बलात्कार घटनापछि बालिकाको बच्चा समेत जन्मेको अवस्थामा यो सजायले नाता कायम गर्न बाटो खुलेको सहायक जिल्ला न्यायाधिवक्ता घिमिरेको भनाई छ ।

२०७७ असार १५ गते जंगलमा बलात्कार गरेको घटनामा गएको चैत ५ गते छोरी जन्मेपछि पीडित पक्षले चैत १३ प्रहरीमा उजुरी गरेको थियो । उजुरीपछि प्रहरीले आरोपित बिकलाई २०७८ जेठ १५ गते गिरफ्तार गरी अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले असार ६ गते दैलेख जिल्ला अदालतमा अभियोग पेश गरेकै दिन भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश लामिछानेको आदेशमा पीडकलाई पुर्पक्षका लागि काराकार पठाइएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा २०७७ चैत १३ गते भएको थियो । बालिकाले बलात्कार भएको भनिएको घटनाकै बेला गर्भ रहन गएको र पीडितले त्यसबेला जन्माएको भनिएको नवजात शिशु छोरी जन्मेको समय मेल खाएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

आरोपितलाई सजाय फैसला भएसँगै पीडितले न्याय पाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए । ‘उजुरी आउँछ, आरोपित पक्राऊ ग¥यो, अनुसन्धान सकेर बुझाएको मुद्दामा यसरी सजाय हुँदा अरु पीडितहरुका लागि पनि मनोवल बढ्छ,’ डिएसपी श्रेष्ठले भने ।

बलात्कार घटनामा पीडित बालिका गर्भवती भई सन्तान जन्माएको अवस्थामा यो फैसलाले नाता कायम प्रक्रियालाई सहज बनाएको र १८ वर्ष भन्दा कम उमेरकी बालिकालाई सहमतिमै यौन सम्बन्ध भएको भन्न लगाएर पनि कसूरबाट मुक्ति पाइँदैन भन्ने सन्देश दिएको सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठले बताइन् ।

प्रतिक्रिया