लक्ष्मणको बाँसुरी प्रेम

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः बुधबार, भदौ ३०, २०७८     ::: 84 पटक पढिएको   |  

जसले ७ दशकसम्म बाँसुरी बजाईरहे ।

बर्षेमेला अर्थात श्रीकृष्ण जन्माष्टमीमा बाँसुरी बनाउँदै लक्षमण नेपाली साथमा उनका छोरा ।

दैलेख : हिन्दु संस्कृतिमा बाँसुरी र श्रीकृष्ण पर्यायवाची मानिन्छन् । नेपाली संगीतमा सबैभन्दा बढी प्रयोग हुने बाजा पनि बाँसुरी नै हो । प्राकृतिक बाजा बाँसुरीबाट आउने धुन निकै मधुर हुन्छ । बाँसुरीका धुन सुन्ने जो कोही मोहित हुन्छन् । यहि बाँसुरी बजाएर सबैलाई मोहित बनाउने मध्येका एक हुन्, दैलेखका लक्षमण नेपाली । ७८ बर्षीय लक्षमणको बाँसुरीसँग जोडिएको साइँनो अचम्मको छ । ९ बर्षको हुँदा बाँसुरी बजाउन थालेका लक्षमणले ७ दशकदेखि बर्षेमेला अर्थात श्रीकृष्ण जन्माष्टमीमा बाँसुरी र तम्मर बजाउँदै आएका छन् । उनले बजाएको बाँसुरी धुनले हरेक बर्षको बर्षेमेलाका महिनादिन गुञ्जायमान बनाईरहेको छ ।

बुबा करबिर र आमा मोतिसराको कान्छो सन्तान हुन् लक्षमण । विस २००१ माघ १६ गते नारायण नगरपालिका–१ पुरानो बजारस्थित गोलबजारमा जन्मिएका लक्षमणका दुई दाजुहरु थिए । उनि २ बर्षको छँदा आमा र बुबाको निधन भयो । बाल्यकालमै बुबाको साथ र आमाको काख पाउन नसकेका उनि जीवन युद्ध भूमिमा एक्ला सिपाही जस्तै भए । सिंगो जीवन संघर्षको मैदान बन्यो । ‘जीवनमा आफ्नाहरु बिरानो भए, बिरानाहरु आफ्ना बने,’ लक्षमण भन्छन् । विस २०२२ मा बैवाहिक बन्धनमा बाँधिएका उनको काँधमा जिम्मेवारीको भारी थपियो । चार सन्तानका बुबा बनेका लक्षमणका लागि घरगृहस्ती पक्कै सहज थिएन् ।

बर्षेमेला अर्थात श्रीकृष्ण जन्माष्टमीमा युवाहरुको साथमा बाँसुरी बनाउँदै लक्षमण नेपाली ।

दाईहरु लालबीर र जयवीरको अभिभावकत्वमा हुर्किएका लक्षमणले ९ बर्षको कलिलै उमेरमा बाँसुरीप्रति आकर्षित भईसकेका थिए । लक्षमणको बिरासत कपडा सिलाउने कला मात्र होइन, बाध्यबाधनका साधनहरु बाँसुरी र तम्मर बजाउने पनि थियो । उनि बाँसुरी र तम्मर बजाउने मात्र होइन, नाँच्ने र गाउने कला पनि छ । लक्षमणका जेठो दाई लालबीर दैलेखबाटै स्थापना भएको नेपाली सेनाको ज्वाला दल गणमा ब्याण्ड मास्टर (नाइके) सम्म भएका थिए । माइलो दाई जयवीर नेपाल प्रहरीमा जागिरे थिए । लालबीर र जयवीरको निधन भईसकेको छ ।

दाईहरु आ–आफ्नो गृहस्तीमा लागेपछि लक्षमण कपडा सिलाउने मेसिन बोकेर गाउँका घर–घर पुग्थे । कपडा सिलाएबापत (तत्कालिन बालीघरे प्रर्था) पाएको अन्नपातले लक्षमणको घरमा चुल्हो बल्थ्यो । परिवारको भोक मेटाउनकै लागि संघर्ष गरेका उनले साधनालाई पनि चटक्कै छोडेनन् ।

बाल्यकालदेखि नै बाँसुरी र तम्मर बजाउने उद्भुत कलाकै कारण हरेक बर्षको बर्षेमेलामा केन्द्रमै रहिरहे उनि । मेला भर्न आउनेहरुको ध्यान लक्षमण र उनको बाँसुरीमै पर्छ । उनको कलाकै कारण समाजका अगुवाहरुको रोजाईमा परिरहे । स्थानीय मौलिक लोकभाका मात्र होइन, भजन, आधुनिक, हिन्दी गीतहरुमा समेत बाँसुरीको धुन बजाउने लक्षमणको कलाले मेलालाई विशेष बनाईरह्यो । उनले बजाएको धुनमा कयौलाई नचाए, हसाँए अनी कैयनलाई रुवाएपनि ।

‘बाध्यबाधनको कला भएकै कारण थुप्रै अबसर पनि आए, तर आफु जन्मिएको गाउँ र ठाउँ छोडेर जान मेरो मनले मानेन्,’ उनि भन्छन् ‘जत्ति कमाए यहि खर्चिएँ, जे जति जम्मा गरे यहि थँपे, म संग भएको कलालाई सम्प्रेषण गरे ।’
दैलेख सदरमुकामको सबैभन्दा ठूलो मेला बर्षेमेला हो । यहाँका नागरिकहरुको जीवनशैली कृषिमै बित्थ्यो । बर्खाभर खेतीकिसानीमै बिताउनेहरु हरिसियानी एकादशीदेखि हरीबोधनी एकादशीलाई धार्मिक सांस्कृतिक रुपमा विभिन्न अनुष्ठानसहित बनाउने गर्दथे । यहि अवधीमा बर्षेमेला, लाखे, टाकटुके, गाईजात्रा, रोपाईँ जात्रा, बाघ जात्रा, राउटे जात्रा, बैरागी जात्रा, कृष्ण जन्माष्टमीमा विशेष पर्वकै रुपमा मेला लाग्छ । बर्षेमेलममा लाखे नाच विशेषत् बाँसुरीकै तालमा नाचिन्छ । बाँसुरीको तालमा तम्मर, तम्मरको तालमा ढोल, ढोलको तालमा झ्याली र घुङ्गरु अनी यी सबै बाजाको तालमा नाचिने नाच हो, लाखे नाच ।

बाँसुरीको तालमा नाच्नेहरुले उनि लक्षमणको हात र गाला चुमे, ढोगे र काँधमा चढाएर माया गरे । सामाजिक र सांस्कृतिक रुपमा पछाडी पारिएको दलित समुदायमा जन्मिएर उनले कहिले हिनताबोध गर्नुपरेन् । उनका प्राय सबै सहपाठीहरु दिवंगत भईसकेपनि उनले आफ्नो दायित्वबोध कहिल्यै छोडेनन् । उमेरले ८ दशक पुग्नै लाग्दा उनको हौसला उस्तै छ ।
उनका एक छोरा र तीन छोरी छन् । तीन छोरीहरुको बिहेवारी भएर आफ्नै घरगृहस्तीमा छन् । छोराबाटको तीन नातीनतिनाबाट पनातीसम्म देखिसकेका उनै बाँसुरी बाधक लक्षमण अहिले स्वास्थ्य समस्याले थलिएका छन् । गत जेठमा लडेर घाइते भएका उनलाई अचेत अवस्थामै नेपालगंज पु¥याईएको थियो । स्वास्थ्य जाँचको क्रममा ढाडको हड्डी खिईदै गएको र नशा च्यापिएको रिर्पोट आएको थियो । जसका कारण शरिरको तल्लो भाग पक्षघात हुन पुग्यो । उनको दुवै मृगौलामा समेत समस्या देखिएको छ । लक्षमणको अनुपस्थितीमा बर्षेमेला अधुरो र अपुरो बनेको युवाहरु बताउँछन् ।

लक्षमण नेपालीलाई सम्मान गरिँदै ।

उनै लक्षमणलाई हालै न्यू ज्वालाक्लबले सम्मान गरेको छ । लक्षमणले पु¥याएको योगदानको कदर गर्दै क्लबले ११ हजार एक सय ११ रुपैयाँ सहित‘लाइफ टाइम अचिभमेन्ट‘ अवार्डबाटसम्मान गरेको थियाे । प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले दोसल्ला ओडाई सम्मान पत्र र रकम प्रदान गरेका थिए।

कला संस्कृति सम्र्बद्धन तथा प्रर्वद्धन मात्र नभई पुस्तान्तरणमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको क्लबका अध्यक्ष विशाल सुनारले बताए । झण्डै ३ दशकदेखि लक्षमणलाई नजिकबाट नियालीरहेका क्लबका अध्यक्ष सुनार भन्छन् ‘उहाँ कहिल्यै थाक्नुभएन्, हिच्कीचाउनुभएन्, संकोच मान्नुभएन्, कहिल्यै यो वा त्यो चाहियो भन्नुभएन्, आफ्नो बुबाको पुस्तादेखि नातीको पुस्तासम्मकालाई आफ्नो बाँसुरीको धुनमा सवारी, त्रिताल, भोटेसेलो, झाम्रे देखि तीजका भाका, कृष्ण लिला टाकटुकेमा नचाउनुभयो, सांस्कृतिक पर्व बर्षेमेला अर्थात श्रीकृष्ण जन्माष्टमीमा उहाँको योगदान अतुलनीय छ ।’

सम्मान समारोहमा प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले जीवनभर जिल्लाको सामाजिक र सांस्कृतिक परम्पराहरुलाई धान्न अनवरत खटिनुभएका लक्षमणको प्रसंशा गरे । ‘जीवनभर बाँसुरीको साधान गरेर कला संस्कृतिको गरिमालाई सधैँ उच्च राख्न तल्लिन रहनुभएका लक्षमण जस्ता व्यक्तित्वको उचित सम्मान हुनुपर्छ,’ शर्मा भन्छन् ‘उहाँ जिल्लाकै सम्मानीत, अग्रणी र प्रेरणाको स्रोत हुनुहुन्छ, उहाँसँग भएको कलालाई सबैले सिरोधार्य गर्नुपर्छ ।’



Leave a comment

Your email address will not be published.


*