निपाह भाइरसको जोखिम, के हो निपाह भाइरस ?

निपाह भाइरसको जोखिम, के हो निपाह भाइरस ?

काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका बेला पशुबाट मानिसमा सर्ने निपाह भाइरसको चिन्ता थपिएको छ। सीमापारि भारतको केरलामा ज्यान लिइसकेको यो भाइरस प्राकृतिक रूपमा ‘फ्रुट ब्याट’ नामक प्रजातिको चमेरोमा पाइन्छ। जुन चमेरोको बसोबास काठमाडौं उपत्यकालगायत मुलुकका अन्य स्थानमा पनि भएकोले संक्रमणको जोखिम उच्च देखिएको विज्ञको भनाइ छ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार, संक्रमण फैलाउने फ्रुट ब्याट  प्रजातिको चमेरो नेपालमा पनि पाइएको छ। ‘संक्रमण चमेरो रहेको पुष्टि भएको छ। तर, संक्रमणको पुष्टि भने भएको छैन।’ उनले भने, ‘यो भाइरस जनावरबाट जनावर, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा  पनि सर्छ।’

संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने जोखिम  रहेको डा. पौडेलले बताए। त्यस्तै संक्रमित पशुको संसर्गमा आएका फलफूल सेवन गरेमा पनि संक्रमणको  जोखिम हुने विज्ञहरू बताउँछन्।

उच्च प्राणघातक मानिएको यो भाइररसको संक्रमणले भारतको केरला राज्यमा ज्यान लिइसकेको छ। खोप एवं कुनै औषधिसमेत नभएकोले मृत्युदरसमेत उच्च छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि महामारी ल्याउन सक्ने १० प्राणघातक  रोगमध्ये निपाह भाइरसलाई  एक मानेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले भक्तपुर, काठमाडौं मात्र नभई पश्चिम नेपालमा पनि संक्रमण गराउने चमेरो पाइएको बताए।

के हो निपाह भाइरस ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भिर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातीको चमेरोमा पाईन्छ ।

निपाह भाइरस कसरी सर्दछ ?

निपाह भाइरस जनावरबाट जवानर, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्दछ । संक्रमित चमेरोबाट सुंगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा, संक्रमित पशुको संर्सगमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत, दिसा, पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा ।

निपाह भाइरसका लक्षणहरु

ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, स्वासप्रश्वासमा कठिनाई हुने, टन्सिलाइटिस ।

निपाह भाइरसको रोकथाम कसरी गर्ने ?

फलफूल राम्रोसँग पखालेर मात्रै खाने, तरकारी सकेसम्म राम्रोसँग पकाएर मात्र खाने, गाईबस्तुको गोठ वा फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्रै पीउने, बेला बेलामा साबुन पानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने,

 

प्रतिक्रिया