कोरोनाविरुद्धको ४४ लाख डोज खोप आइपुग्यो

कोरोनाविरुद्धको ४४ लाख डोज खोप आइपुग्यो

काठमाडौं : सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । आगामी सोमबार (४ असोज) देखि नागरिकलाई लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले सिनोफार्मसँग एक करोड (पहिलो चरणमा ४० लाख र दोस्रो चरणमा ६० लाख) खोप खरिद गरेको थियो । खरिद गरेको सबै खोप आइपुगेको छ ।

एकै खेपमा ठूलो परिमाणमा खोप प्राप्त भएकाले ४ गतेदेखि १४ गतेसम्म अभियानकै रुपमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको अधिकारीहरु बताउँछन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले भने, ‘राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार खोप वितरणको योजना पहिल्यै नै तयार पारेका थियौं । सोही योजना अनुसार देशका विभिन्न जिल्लामा खोप वितरण गर्न निर्देशन भएको छ ।’

खोप अभियान कसरी सञ्चालन हुन्छ ?

चीनबाट आइपुगेको खोप अहिलेसम्मको खोप कभरेज दर हेरेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक सागर दाहालले बताए । दाहालका अनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिने योजना बनाइएको छ । १० हिमाली जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुला पर्छन् ।

त्यस्तै काभ्रे र चितवनका ३५ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई खोप दिइनेछ ।त्यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिइने लक्ष्य मन्त्रालयको छ । ‘१८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका भएमा विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई पनि खोप दिने योजना रहेको छ,’ दाहालले अनलाइनखबरसँग भने ।

उनका अनुसार अरु ५५ जिल्लाको हकमा ४५ वर्षमाथिका सबै नागरिकलाई खोप दिइनेछ ।साथै यसअघिका खोप अभियानमा छुटेकाहरूलाई पनि प्राथमिकतामा राखेर खोप वितरण गरिने उनले बताए । १८ वर्षभन्दा माथिका सबै विद्यार्थी, यसअघिको अभियानमा छुटेका पर्यटकीय क्षेत्रका होटल व्यवसायी, रेडक्रसका कर्मचारी एवं स्वयंसेवीलाई पनि खोप उपलब्ध गराउने लक्ष्य मन्त्रालयको छ । सरकारले असोज मसान्तसम्म देशको एकतिहाइ जनसंख्या र चैत मसान्तसम्म १८ वर्षमाथिका नागरिकलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ ।

कति खोप भित्रिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १ करोड ७७ लाख ५८ हजार ७१० डोज खोप भित्रिएका छन् । यसमा २४ लाख ४८ हजार डोज कोभिशिल्ड, १९ लाख ७५ हजार ८६० डोज एस्ट्रेजेनेका, १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सन र १ करोड १८ लाख डोज भेरोसेल खोप छन् । एक करोड भेरोसेल र १० लाख कोभिशिल्ड खरिद गरिएको हो । भारतसँग खरिद गरिएको १० लाख खोप अझै आएको छैन । बाँकी खोप अनुदानमा आएको हो । चीनले अनुदानमा दिने घोषणा गरेको १६ लाख खोप पनि आउन बाँकी छ ।

कतिले लगाए खोप ?

मन्त्रालयका अनुसार नेपालमा पूर्ण खोप पाउनेको संख्या ५५ लाख ७ हजार ३८० पुगेको छ । उनीहरुमध्ये १४ लाख १५० जनाले एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।मनाङ र मुस्ताङमा १८ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकले खोप पाइसकेको जिल्लास्थित स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यस्तै पहिलो डोज लगाएका र दोस्रो डोज खोपको पर्खाइमा १९ लाख ७५ हजार ८९४ जना नागरिक छन् ।

प्रतिक्रिया