ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित


पारिश्रमिक बृद्धि गर्नुपर्ने माग गर्दै नगरपालिकामा पुगेर आन्दोलनमा उत्रिएका ईसीडी शिक्षक र कर्मचारीहरु ।

दैलेख : चालु आर्थिक बर्षको बजेटमा संघीय सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीको पारिश्रमिक बृद्धि गरेर १५ हजार पु¥याउने घोषणा ग¥यो । घोषणा अनुसार संघीय सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख छ । तर, स्थानीय तहहरुले भने संघीय सरकारले तोके अनुसारको ईसीडी शिक्षक र कर्मचारीहरुलाई ७ हजार थपेर पारिश्रमिक उपलब्ध गराउन सकेका छैनन् ।

स्थानीय तहहरुले केन्द्र सरकारले घोषणा गरेजसरी न्यूनतम् ज्यालामा पठन पाठन गराईरहेका ईसीडी शिक्षक र विद्यालयका कर्मचारीहरुलाई साउनदेखि थप तलब दिन नसक्ने संकेत गरेका छन् । जिल्लाको नारायण नगरपालिकाले संघीय सरकारले घोषणा गरे बमोजिम ईसीडी शिक्षक र कर्मचारीको पारिश्रमिक बृद्धि नगरेपछि शिक्षक र कर्मचारीहरु आन्दोलित भएका छन् । नगरपालिका अन्तरगर्त ३७ वटा बाल विकास केन्द्रका ३७ जना ईसीडी शिक्षक, ४१ जना कर्मचारी (विद्यालयका कार्यालय सहयोगी) र ९ जना लेखापाल आन्दोलित भएका हुन् । आन्दोलित ईसीडी शिक्षक, कर्मचारीहरुले नगरपालिकाका मेयरलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

नारायण नगरपालिका–२ स्थित खड्ग प्राविको कोलटाकुरा बाल विकास केन्द्रका ईसीडी शिक्षक टिकाकुमारी थापाले संघीय सरकारले तोके अनुसार नगरपालिकाले पारिश्रमिक व्यवस्थापन नगरेपछि आन्दोलनमा उत्रिएको बताइन् । ‘हामीले हालसम्म ६ हजार रुपैयाँ पारिश्रमिक पाउथ्यौ, हाल संघीय सरकारले बजेटमै १५ हजार पु¥याउने घोषणा गरेको थियो,’ थापाले भनिन् ‘संघीय सरकारले २ हजार थप गर्ने र ७ हजार स्थानीय सरकारले उपलब्ध गराउने भनिएको थियो तर नगरपालिकाले ३ हजार रुपैयाँ मात्रै दिने भनेपछि हामी अन्यायमा परेका छौ ।’ थापाले संघीय सरकारले घोषणा गरेअनुसार नगरपालिकाले पारिश्रमिक नदिएसम्म आन्दोलन नरोकिने चेतावनी दिइन् ।

नारायण नगरपालिका–६ स्थित रेडक्रम मावीको बाल विकास केन्द्रकी ईसीडी शिक्षक अशु नेपालीले सरकार आफुहरुलाई अवहेलना गरेको बताइन् । ‘हामी विहान १० देखि ४ बजेसम्म विद्यालयमै खटिन्छौ, पाएको पारिश्रमिकले खान पनि पुग्दैन्,’ २० बर्षदेखि केन्द्रमा पठनपाठन गर्दै आएकी नेपालीले भनिन् ‘हामीलाई संघीय सरकारले घोषणा गरेअनुसारको पारिश्रमिक पाउनुपर्छ, त्यसो नभएसम्म आन्दोलन रोकिदैन् ।’

रेडक्रम मावीकै कार्यालय सहयोगी कुमार न्यौपानेले न्यून ज्यालामा विद्यालयको सरसफाईदेखि सबै काम गर्दै आएको भएपनि सरकारले आफुहरुलाई वेवास्ता गर्दै आएको बताए । ‘अहिले आएर संघीय सरकारले गरेको घोषणाले केहि राहत महसुस भएको थियो, तर नगरपालिकाले दिन सक्दैनौ भनेपछि निराश भएका छौँ,’ न्यौपानेले भने ‘संघीय सरकारले भने अनुसारको पारिश्रमिक स्थानीय तहले बेहोर्न सक्ने देखिएन, त्यसैले संघीय सरकारबाटै पारिश्रमिकको व्यवस्था गरिनुपर्छ ।’

यता नगरपालिकाका मेयर रत्नबहादुर खड्काले नगरकार्यपालिकाले नै ईसीडी शिक्षक र विद्यालयका कर्मचारीहरुको पारिश्रमिकमा ३ हजार रुपैयाँ थप गर्ने निणर्य गरेको बताए । ‘प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीको पारिश्रमिक बृद्धि गर्नका लागि नगरपालिका गम्भिर छ,’ मेयर खड्काले भने ‘नगरपालिकामा बजेट अभावका कारण ७ हजार रुपैयाँ थप गर्न सकेका छैनौँ ।’ ईसीडी शिक्षक र कर्मचारीको पारिश्रमिक बृद्धिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बजेट माग गरी पठाएको र मन्त्रालयबाट पनि बजेट व्यवस्था नभए नगरपालिकाले योजना कटाएर भएपनि पारिश्रमिक बृद्धि गरिने मेयर खड्काको भनाई छ ।

ईसीडी शिक्षकहरुले हालसम्म संघीय सरकारबाट मासिक ६ हजारमात्रै पारिश्रमिक पाउँछन् । चालु आर्थिक बर्षको बजेटमा दुई हजार संघीय सरकारले थप गर्ने र अन्य रकम पालिकाहरूले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया