नेकपा (एकीकृत समाजवादी)ले टुङ्ग्यायो जिम्मेवारी विभाजन

नेकपा (एकीकृत समाजवादी)ले टुङ्ग्यायो जिम्मेवारी विभाजन

काठमाडौं : नेकपा एकीकृत समाजवादीले जिम्मेवारी विभाजन टुङ्ग्याएको छ। पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल चयन भएका छन्। यस्तै, उपाध्यक्षमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह, जयन्ती राई चयन भएका छन्। यस्तै महासचिवको जिम्मेवारी डा वेदराम भुषाललाई दिइएको छ।

पार्टीको उपमहासचिवमा प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, डा विजय पौडेल चयन भएका छन्। सचिवमा नागेन्द्रप्रसाद चौधरी,  जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, रामकुमारी झाँक्री चुनिएका छन्।

स्थायी कमिटी ३५ सदस्यीय गठन गरिएको छ। पोलिटब्युरो ७१ सदस्यीय हुनेछ। केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक) ३०१ सदस्यीय गठन गरिएको छ। यस्तै, सबै प्रदेश तथा जिल्लामा इञ्चार्जहरुको जिम्मेवारी प्रदान गरेको जनाएको छ। केन्द्रीय कमिटीबाहेकका सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको छ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकबाट तात्कालिक कार्ययोजना २०७८ पारित भएको छ। नेपाली कम्युनिष्ट आन्दोलनमा हावी भएको दक्षिणपन्थी अवसरवाद र विसर्जनवादी प्रवृत्तिको भण्डाफोर गर्ने बैठकले निर्णय गरेको छ। पार्टीका नीति, सिद्धान्त र कार्यक्रमहरुको प्रचार प्रसार गर्ने र कम्युनिष्ट आन्दोलनका राम्रा र उपलब्धीमूलक विधि र परम्पराहरुको पुनर्जागरण गर्ने भएको छ।

तीन महिनाभित्र देशका सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ। साथै, विभिन्न तहका कमिटीहरुको गठन, पुनर्गठन, विस्तार, रुपान्तरण, सदस्यता वितरण तथा भेला, बैठक एवं छलफलहरुको आयोजना गरिने छ। केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ। सो केन्द्रीय परिषद्मा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी जम्मा ७०१ सदस्यीय हुनेछ।

पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन्। ती आयोगहरु बढीमा ३५ सदस्यीय गठन गरिने छ। पार्टीमा गठन हुने विभिन्न विषयगत विभागहरु बढीमा २५ सदस्यीय हुने छन्। केन्द्रीय सल्लाहकार कमिटी १५१ सदस्यीय गठन गरिनेछ।  ज्येष्ठ कम्युनिष्ट मञ्च १५१ सदस्यीय गठन गरिने छ।

प्रतिक्रिया