गोदाई खाएकैलाई कसरी सजाय होस् ?

गोदाई खाएकैलाई कसरी सजाय होस् ?

‘जसले गोदाई खायो उसैलाई सजाय कसरी होस् ?’ सावित्रीलाई पहिल्यै लागेको थियो ।

दैलेख : डुङ्गेश्वर गाउँपालिका–३ थालिकाँडाका रामसिंह ठकुरी २४ वर्षीय बलवान युवक । कसैले केही गल्ती गर्नु परेन उनी आफै झगडाको इबी खोज्दै गाउँ फाँड्ने उनको विशेषता हो । उनले त्यो गाउँमा कम्तीमा एक दर्जन गाउँलेहरुलाई कुटपिट गरेर घाइते अपाङ्ग बनाएका छन् ।

यस्तै क्रममा मुख्यमन्त्री रोजगार कार्यक्रममा आफूसंगै काममा जुटेका गोपाल नेपालीलाई आफ्नै आगनमा लिएर मरणासन्न हुने गरी कुटपिट गरे । लिखुरे ज्यानका गोपाललाई नपिट मर्ला ? भनेर रोक्न खोज्दा रामसिंहले बुबा र आमालाई पनि लछारपछार गरे ।

रामसिंहको पिटाई याद पाएकी उनकी श्रीमति पवित्रा सापकोटा पहिल्यै कोठाभित्र लुकी सकेकी थिइन् । गोपाललाई रामसिंहले कुट्दैछ भन्ने खवर पाएर गोपालकी श्रीमति सावित्री नेपाली घटनास्थलमा पुग्दा गोपालको पाइन्ट र कमीज हिलाम्य थियो । अनि लछारपछार चल्दै थियो ।

आफ्नो श्रीमान्लाई जोगाउन अगाडि बढ्दा सावित्रीलाई रामसिंहले उनको कुर्ता सुरुवाल पनि च्यातचुत गरे, कम्तीमा ३–४ झप्पू पनि खाइन् । गोपाल र सावित्री दुवै जनालाई कुटपिट गरेको घटनामा उजुरी गर्ने कि भन्ने गाउँमा सल्लाह भयो तर उजुरी गरेकै नाममा फेरि कुटाई खाइएला भन्ने डरले चुप लागेर बसे ।

उता पहिले एउटा छोरी जन्माई सकेकी फेरि अर्को ८ महिना बढीको गर्भमा सन्तान हुर्कारहेकी पवित्रालाई रामसिंहले ०७७ असार ८ गते ‘यो पाली पनि छोरी जन्माए तँलाई घरभित्र पस्न दिन्न’ भन्दै कुटपिट गर्दा कोखामा कडा चोट लागेको कारण भोलिपल्टदेखि पेटभित्रको बच्चा चल्न छोडेको कुरा असार १० गते हनेटा स्वास्थ्य केन्द्रमा तेश्रो पटक गर्भ जाँच गराउन आउँदा स्थानीय सीता रावललाई भनिसकेकी थिइन् ।

पेटभित्रको बच्चा चल्न छोडेको दुई साता भइसकेको र उता पटकपटक कुटपिट गरिरहने रामसिंहको आनीबानी थाहा पाइसकेका माइतीबाट गालीपर्ने कुरा उनको मनमा तुलबुल भयो । आफ्नो श्रीमतिको गर्भको बच्चा अरुका कारण चल्न नसकेको हो भन्ने पार्न गोपाल नेपालीलाई आफ्नो घरको आगनमा ल्याएर कुटेका थिए ।

आफ्नो श्रीमतिको गर्भको बच्चा चल्न नसकेको हो भन्ने पार्न गोपाल नेपालीलाई आफ्नो घरको आगनमा ल्याएर कुटेको घटनाबाट पुष्टि भएको छ । असार २३ गते रामसिंहको कुटपिटबाट गोपाल घरमै थला परेकै थिए, त्यो घटनाको तीन दिनपछि असार २६ गते स्वास्थ्य चौकीमा पवित्राले मृत बच्चा जन्माएको घटनामा गोपाल नेपालीले कुटेर गर्भको बच्चा मरेको भन्ने झुट्टा व्यहोराको गम्भीर फौजदारी मुद्दा दिएबाट अरुलाई फसाउन चाहेको भन्ने पुष्टि गरेको छ ।

रामसिंहले जसलाई मरणासन्न हुने गरी गोदेका थिए, उसैलाई मुद्दा फसाउन खोज्दैछन् भनेर तत्कालिन प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीलाई पूर्व जानकारी गराएको अवस्थामा पनि डीएसपी ओलीले असार २७ गते उजुरी आउने वित्तिकै मुद्दा दर्ता गरे । मुद्दा दर्ता भइसकेकोले ०७७ साउन २२ गते गोपाल नेपाली र उनका साथी कृष्णबहादुर रावललाई प्रहरीले ‘गर्भ संरक्षण बिरुद्ध’ को कसूरमा २५ दिन थुनामा राखी अनुसन्धान सुरु भयो ।

अनुसन्धानको बेला आरोपितहरुले आफू पीडित भएको तर आफैलाई रामसिंहले गलत मुद्दा दिएको भनी आफ्ना कुरा राखे, जिल्ला सरकारी वकील कार्यालय मार्फत दैलेख जिल्ला अदालतमा पेश भएको मुद्दाको सन्दर्भमा भदौ १४ गते थुनछेक बहसपछि अदालतले जनही एक लाख आठ हजार रुपैंयाँ धरौटी तारेखमा छोड्यो ।

यसबीचमा अदालतले मुद्दाको तहकीकातको क्रममा ‘गर्भ संरक्षण बिरुद्ध’को कसूरमा बादी पक्षका जाहेरवाला रामसिंह ठकुरी, पीडित भनिएकी उनकी श्रीमति पवित्रा सापकोटा र साँक्षी राखिएकाहरु कोही आएनन् । सरकारवादी मुद्दा भएकोले अदालतले दोश्रो पटक झिकाउदाँ रामसिंहका दाजु उदयसिंह ठकुरीले ‘सुनेको कुरा मात्र हो, घटना देखेको चाहिं होइन’ भनी वकपत्रमा बोले ।

जसलाई कुटपिट गरेको छ उसैलाई आफ्नी श्रीमतिको बच्चा तुहाएको भन्ने ‘गर्भ संरक्षण बिरुद्ध’ जस्तो गम्भीर फौजदारी मुद्दामा फसाएको अवस्थामा गोपाल नेपाली जस्तो साधारण व्यक्तिलाई किन परिवन्दमा पार्ने ? बरु रामसिंहले दिएको मुद्दा फजुल ठहरेकै बेस होला भनेर गाउँका मानिसहरु साक्षी वकपत्र गर्न नआएको स्थानीय धर्मराज न्यौपानले टिप्पणी गरे ।
जुन दिन गोपाललाई कुटपिट भएको थियो, त्यो बेला पवित्रा सापकोटा पहिल्यै लुक्न गएकोले देखादेख समेत भएको थिएन भनेर गोपाल नेपाली र कृष्णबहादुर रावलका साक्षीहरुले बयान दिए । एउटा निर्बल र सरल स्वभावका गोपाल र कृष्णले रामसिंह जस्तो गाउँ फाँड्ने लकाकूको श्रीमतिलाई कुटपिट गर्न जाने कुरै थिएन । अदालतमा भएको सुनुवाइमा यिनै कुरा प्रमुखतासंग उठे ।

ससुरालीको पूजा, गाउँको विहेवारी, कतै उल्झोमैलोमा पुग्दा वा जात्रा मालिका जाँदा कसैको ढाड भाँचेको, कसैको खुट्टाको जोड्नी फुत्काइदिएका दर्जनौं घटनाहरुमा बाहुबलकै भरोसामा कैयौंलाई अन्याय पारेका रामसिंहले पहिलो पटक आफू मुद्दाको पक्ष अर्थात वादी भएर फौजदारी मुद्दामा जाहेरी दिए तर यो मुद्दा आगेन अर्थात प्रमाण पुगेन्, उनले हारे । गोपाल र कृष्णले सफाइ पाए ।

अघिल्लो वर्ष असार २७ गते प्रहरीमा दर्ता भई गोपाल र कृष्ण थुनिंदा गाउँलेहरुले जो पीडित हो उसैलाई प्रहरीले अन्याय ग¥यो भनेर आलोचना गरेका थिए । त्यस सन्दर्भमा त्यसबेलाका प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जे गर्छ अदालतले गर्छ भन्ने टिप्पणी गरे ।

गोपाल र कृष्ण असारमा दर्ता भएको मुद्दामा साउन २२ गतेदेखि २५ दिन प्रहरी हिरासतमा बसे । अदालतमा जनही एक लाख आठ हजार धरौटी राखे । महिनैपिच्छे मुद्दाको हाजिरी तारेखमा धाए, बयान गर्न आए । सबै कुराले उनीहरु निर्दोषिता ठहर गरेर ०७८ असोज ६ गते अदालतले आरोपितहरुलाई सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट सो फैसला भएको हो । आरोपितहरुको प्रतिरक्षा पैरबी अधिवक्ता सुरेन्द्रकुमार अधिकारीले गरेका हुन् । साँच्चै अदालतले न्याय गर्दो रहेछ, भन्ने अदालतको फैसलापछि आफूलाई लागेको स्थानीय शिक्षक सुन्दर मल्लले अनुभूती सुनाए ।

प्राप्त विवरण अनुसार २०७५ साउनमा स्थानीय १९ वर्षीय भीमबहादुर रावलको ढाड भाँचेको घटनामा रामसिंहले दुई लाख पचास हजार औषधि खर्च तिरेर मुक्ति पाएका थिए, त्यस्तै २०७६ जेठमा मजदूरी गर्न संगै भारतको अलमोडा पुगेको २९ वर्षीय चन्द्रबहादुर रावलको खुट्टा भाँचेर औषधि खर्च समेत व्यहोर्न इन्कार गरेका थिए ।

भीमबहादुर रावल र चन्द्रबहादुर रावल लगायतका एक दर्जन व्यक्तिलाई कुटपिट गरी अपाङ्ग बनाएका रामसिंहसंग गाउँवासी नै आतंकित भएको र पछिल्लो पटक झुट्टा मुद्दा लगाएर अरुलाई फसाउने पहिलो चेष्टा गरेको मुद्दा विफल भएपछि रामसिंहको दादागिरी अब कमी हुनसक्ने थालीकाँडाका स्थानीय कृष्णबहादुर खत्रीले बताए ।

‘गोपाल र कृष्णले हातले होइन पातले पनि नछोएको अवस्थामा झुट्टा मुद्दा लगाएको बेला के पो होला ? भन्ने लागेको थियो । अदालतले फैसला गरेपछि मात्र न्यायको अनुभूती भयो’ गोपालकी श्रीमति सावित्री नेपालीले भनिन् । ‘जसले गोदाई खायो उसैलाई सजाय कसरी होस् ?’ सावित्रीलाई पहिल्यै लागेको थियो ।

प्रतिक्रिया