विवाह गर्ने विवादमा अस्मिताको हत्या

विवाह गर्ने विवादमा अस्मिताको हत्या

दैलेख : गुराँस गाउँपालिका–५ गोगनपानीको भैरीखोलामा तीन साता अघि भदौ १५ गते एक युवतीको शव फेला प¥यो । अपरिचित भनिएको युवतीको शव पहिचान खुल्नुसंगै प्रेमसम्वन्धलाई विवाहमा परिणत गर्ने क्रममा ज्यान गएको रहस्य खुलेको छ । शव फेला परेकी ती युवती नारायण नगरपालिका–१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी भएको र उनको हत्या गुराँस गाउँपालिका–५ गोगनपानीको २१ वर्षीय गणेश बिकले गरेको भन्ने प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

अस्मितालाई गणेशले २०७८ भदौ १४ गते राति १० बजेतिरको समयमा हत्या गरी भैरीखोलामा फालेको भन्ने आरोपमा प्रहरीले असोज १ गते पक्राउ गरिसकेको छ । आरोपितको संलग्ताको प्रमाण जुटाएर प्रहरीले पीडित परिवारजनबाट हत्या कसूरमा जाहेरी लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।

अस्मिता शव पहिचानको प्रसंग

५ वर्षदेखि काठमाण्डौंमा घरायसी कामदारका रुपमा काम गर्दै आएकी अस्मिता भदौ ११ गते काठमाण्डौंबाट हिडेकोमा ०७७ चैतमा काठमाण्डौंमा भएको भेटमा विवाह गर्ने सहमति अनुसार गणेशको सम्पर्क आएकीमा डुंगेश्वर बजारबाट केटाको घर जाने भनी बाटोमा जाँदै गर्दा मात्र गणेशले ‘म विवाहित हुँ र एक छोरी समेत छ’ भनेपछि उनीहरुबीच विवादपछि अस्मिताले खोलामा हामफालेर बेपत्ता भएकी आरोपितले प्रहरी समक्ष बयान दिएका छन् ।

खोलामा हामफालेको भनिएकी अस्मिता बोगटीको शव घटनाको भोलिपल्ट भदौ १५ गते विहान साढे १० बजेतिर बिउराखेत नजिकै भैरीखोलामा शव भेटिएको तर त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पोष्टमार्टम गरी नारायण नगरपालिका–८ झुप्रेसाल जंगलमा प्रहरीले खाडल खनी गाडेको थियो ।

अस्मिताको शव उत्खनन् हुँदा स्थानीय र आफन्तहरु ।

शव पहिचानका लागि प्रहरी र सञ्चार माध्यमले धेरै प्रयत्न गर्दा समेत न गणेशले कतै मुख खोले न त अन्यत्रबाट जानकारी आयो । अस्मिताले जुन घरमा काठमाण्डौंमा काम गर्नुहुन्थ्यो त्यो घरबाट भदौ २८ गते दैलेखमा परिवारजनलाई फोन गरेर ‘तीज त सकियो अस्मितालाई पठाइदिनू’ भनी फोन आएपछि मात्र दैलेख आई नपुगेको भनी खोजी सुरु भएको थियो ।

‘पहिले भदौ ८ गते हिड्छु होला’ भनेकी पछि तर काठमाण्डौंबाट घरमा खवर नगरेकी कारण उतै होलिन् बिदा नपाएर रोकिएकी होलिन भन्ठानेर केही खवर बुझ्नतिर लागेनौं अस्मिताकी आमा शान्ति बोगटीले बताउनुभयो । काठमाण्डौंबाट दैलेख हिंडेकी भनिएकी अस्मिता यहाँ नपुगेको घटनाले प्रहरी तर्ताङ्गमा गाडेको भनिएको अपरिचित युवतीको शव ‘त्यही त होइन ?’ भनी प्रहरीले राखेको फोटोबाट पहिचान खुलेको थियो ।

फोटोबाट तर्ताङ्गमा गाडेको भनिएको अपरिचित शव अस्मिताको हो भन्ने निश्चित भएपछि दाहसंस्कार गर्न लैजान उद्देश्यले भदौ २९ गते उत्खनन् गर्दा मासु गलिसकेको र दुर्गन्धित भएकोले गाडेकै ठाउँमा परिवारजन दागबत्ति दिएर काजकिरिया गरेका थिए ।

कल डिटेल्सले खोजबिनमा सघाउ

शव पहिचान खुलेपछि भदौ २९ गते मात्र परिवाजनबाट अस्मिताले प्रयोग गर्ने मोवाइल नम्वर लिई प्रहरीले थालेको अनुसन्धानबाट गणेश बिकले अस्मिताको हत्या गरेको भन्ने खुलेको हो । अस्मिताको हत्या भएको भनिएको दिन भदौ १४ गते गणेशसंग १२ पटक टेलिफोन कल भएकोबाट प्रहरीले गणेश बिक माथि नै खोजी सुरु ग¥यो । घटना भएकै दिन गणेशले आफ्नो सिम भाँचेपनि प्रहरीले २ दिनमा उनको घरमा पुगेर पक्राउ गरी अनुसन्धान थालेको छ ।

अनुसन्धानबाट खुले अनुसार काठमाण्डौंबाट हिंडेको कुरा घरमा परिवारलाई जानकारी नदिई आएकी तर सुर्खेत पुगेको काठमाण्डौंमा घर मालिकलाई खवर गरेको बाहेक कतै खवर गरेको देखिएन । भदौ १४ गते पनि विहान सुर्खेतबाट बस चढेर माथिल्लो डुंगेश्वर बजारमा झरेर करिव ३ किलोमीटर पैदल हिंडेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिंडेको बेला ज्यान गएको खुलेको छ ।

यता गणेशले तीज भदौ २४ गते भए पनि आफ्नो पत्नी १९ वर्षीया कमला र एक वर्षीया छोरी आकृतिलाई भदौ ११ गते नै पिलाडीस्थित माइतीमा पु¥याई १३ गते घर आएर कोठामा एक्लै सुतेको १४ गते दिउँसो अस्मितालाई लिएर आउदै गरेको बेला हत्या भएको प्रहरीको अनुसन्धानले सिलसिला खुलाएको छ ।

त्यो दिन अर्थात भदौ १४ गते दिउँसो ३ बजेतिर एक जना दिदीलाई लिन जानुछ भनी बिउराखेतका गणेश थापाको अटोमा माथिल्लो डुंगेश्वर जान खोजेकामा टुनीपाटाको पहिरोले अवरोध गरेपछि अटो त्यही रोकाएर आधा बाटो पुगेर अस्मितालाई साथ लिई बिउराखेत पु¥याएको घटनाका साक्षीले खुलाएका छन् ।

सामाजिक गवाई

टुनीपाटाको पहिरो नजिक रोकाएरको अटोमा चढेर करिव ३ किलोमीटर बिउराखेत पुगी त्यहाँ बिस्कुट चाउचाउ किनेर पराजुली खोला तरेर करिव साढे ४ बजे गोगनपानी गणेशको घर जान हिंडेको देखेका गणेशलाई पहिल्यै चिन्ने स्थानीयहरुको समेत प्रहरीले साक्षी बयान लिइसकेको छ ।

गणेशले ‘दिदी हुन्’ भनेकी ती युवतीले मुखमा कालो मास्क लगाएको पैण्ट र टीसर्टमा थिइन भन्ने देखेकाहरुले खुलाइदिएका छन् । कपडाको रंग नियालेर नहेरेको कारण भोलिपल्ट बिउराखेत नजिक भैरीखोलामा भेटएको शव अघिल्लो दिन गणेशसंग गएकै मान्छे हुन् भन्ने कसैले हेक्का राखेनन् । तर उतिबेलाको आलडाल र लवाईको गवाई चाहिं बने ।

भदौ २८ गते काठमाण्डौंबाट घर मालिकले ‘अस्मितालाई पठाई दिनू’ भनेपछि मात्र अस्मिताले घर परिवारमा समेत खवर नगरेकी, गणेशले पत्नीलाई माइती लिई छोडेको अवस्थाले गणेश र अस्मिता विवाह गर्ने सल्लाहमा थियो । गाउँमै पुग्न लाग्दा गणेशले आफू विवाहिता हो भन्ने खुलाएपछिको विवादले यो दुखदायी घटना भएको प्रहरीको बिश्लेषण छ ।

अस्मिताले लुकाएको कुरा

गएको मंसिरमा प्रहरीको सिपाही पदमा दुबैले फाराम भर्दाखेरीको चिनजान चैतमा भएको भेटघाटमा विवाह गर्ने सल्लाह गरे अनुसार सहवास समेत भएको अनि दलितसंग विवाह गर्दैछु भन्दा परिवारबाट अस्वीकार होला भन्ने ठानेर अस्मिताले सबैजसो कुरा लुकाएको हुनसक्ने सामाजिक कार्यकर्ताहरुको अनुमान छ ।

‘आर्मी गराइदिन्छु भनी अवलपराजुलको राना थरको एक जनाले आफूबाट डेढ लाख रुपैंयाँ लिएकोले त्योसंग पैंसा लिनुछ’ भनी काठमाण्डौंमै अर्को कुनै एक घरमा घरायसी कामदार काम गर्ने आफ्नो काइँली बहिनी राधिका बोगटीलाई अस्मिताले भनेकी भन्ने कुरा भदौ २८ गते शव पहिचान भएको बेला जानकारीमा आएको थियो ।

दलितसंग विवाह गर्ने तयारी छ भनेर पूर्व जानकारी गराउँदा परिवारजनबाट अस्वीकार होला भन्ने ठानेर विवाह नै गर्नु परे ‘पैंसा माग्न जाँदा विवाह भयो भन्नूपर्ला’ भन्ने चलाखीपन देखाएको हुनसक्ने सामाजिक कार्यकर्ताहरुको अनुमान छ ।

गणेशका अपत्यारिला बयान

पहिले शारीरिक शोषणको उद्देश्यले विवाह गर्ने कुरा गरेको तर यस पटक अस्मिता विवाह नै गर्ने सोचाईले एकोहोरो भएर आएको बेला घरमा पुग्नै लाग्दा मात्र गणेश विवाहिता हो भन्ने थाहा पाएपछि ‘अस्मिताले खोलामा हामफालेकी हुन्’ भन्ने गणेशको भनाई त्यतिबेला भनेको भए पत्याउन पनि सकिन्थ्यो होला ।

घटनाको भोलिपल्ट अपरिचित युवतीको शव फेला परेको भनेर धेरैतिर पहिचानका लागि प्रयासहरु भए, गणेश पनि त्यही गाउँमा छन् कतै केही सूचना आउदैन । तीज मानेर छिट्टै फर्किन्छु भनेकी अस्मिता काठमाण्डौं नपुगेपछि मात्र त्यो अपरिचित शवसंग दाजेर खोजी गर्दा सबै फेहरिस्त आइसकेपछि अस्मिताले आफैले खोलामा हामफालेर ज्यान हालेकी हुन् भन्ने कुरा पत्यारिलो हुने कुरै भएन अनि गणेशलाई अस्मिताको हत्याको आरोप लागेको छ ।

नारायण नपा–८ तर्ताङ्गमा गाडिएको अस्मिताको शवमा दाजवत्ति दिंदै दाजु चन्द्र

टेलिफानको कल डिटेल्सको आधारमा प्रहरीले असोज १ गते गणेशलाई पक्राउ गरे पनि प्रमाण जुटाएर अस्मिताका परिवारजनलाई कर्तव्यज्यान मुद्दामा जाहेरी ल्याउन अह्रायो । असोज ६ गते बुधवार अस्मिताको आमा शान्ति बोगटीले जाहेरी दिनुभएको छ ।

‘म विवाहिता हुुँ भनेपछि म फर्किएर जान्न भनेर खोलामा हामफालेर ज्यान हालेकी हुन्’ भन्ने व्यहोरा रटान गरिरहे पनि प्रहरी र पीडित परिवार हत्या नै हो भन्नेमा बिश्वस्त छ । प्रहरीले सूचना प्रविधि र सामाजिक परीक्षणबाट हत्या भएको एकीन गरेर अनुसन्धान केन्द्रित गरेको जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताउनुभयो ।

अस्मिताको पारिवारिक अवस्था

पहिलेको आमा पट्टिका एक दाजु अनि पछिल्लो आमाका ६ दिदीबहिनी भएकोले ४ वर्ष अघि बुबा भुवनसिंह बोगटीको निधनपछि आर्थिक जोहो गर्न अस्मिता समेत ३ बहिनी काठमाण्डौंमा घरेलु कामदारका रुपमा काम गर्ने गरेका छन् । दाजु चन्द्रपछिको एक सन्तान जन्माउँदा सुत्केरी बेथाले अघिल्लो आमा र ती शिशु समेत २०४८ सालमा मृत्यूपछि अस्मिताकी आमा शान्तिले भुवनसिंहसंग विवाह गर्नुभएको हो ।

दाजु चन्द्र २ छोरा र १ छोरी सहित मानो छुट्टिएर बस्नु भएको छ । अस्मिताको आमापट्टिका ६ बहिनी मध्ये जेठी दिदी पुष्पा र माइँली कृष्णा बोगटीले माइती गाउँ नारायण नपा–१० भवानीमै विवाह गरी एक–एक छोरा छोरी छन् । साईली अस्मिता (२१), काईली राधिका (१९) र राइली बहिनी कमला (१७) पनि कावठमाण्डौंमा घरेलु कामदार छन् ।

भारतमा मजदूरी गर्ने दाजु चन्द्र छुट्टिएका अनि आफ्नै पारिवारिक जिम्मेवारीका कारण पनि आमा र दिदी बहिनीहरुलाई केही मरमद्दत नपाएकोले ३ बहिनी काठमाण्डौंमा घरेलु कामदारको रुपमा काम गरेको कमाईले घरखर्च चलाएका छन् । उनीहरुकै कमाईले अहिले ६ कक्षा पढ्दै गरेकी कान्छी बहिनी टीका बोगटी (१४) र आमालाई थोरै राहत भएको थियो ।

प्रतिक्रिया