दुई बजे नै बन्द हुन्छ आधारभूत स्वास्थ्य सेवा केन्द्र

दुई बजे नै बन्द हुन्छ आधारभूत स्वास्थ्य सेवा केन्द्र

दैलेख : नारायण नगरपालिका वडा नंं. १ को कुइकानामा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्र कर्मचारीले २ बजे नै बन्द गर्ने गरेको कारण सेवाग्राहीलाई मर्का परेको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रमले आज स्वास्थ्य संस्थामै सेवाग्राही र सेवाप्रदायक बीचको अन्तरक्रिया कार्यक्रममा स्थानीय मीना नेपालीले दिउँसो २ बजे नै स्वास्थ्यकर्मी फर्किने गरेको समस्या बताइन् ।

कुइकाना आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको एक वर्ष अवधिमा आधुनिक भवन तर औषधि अभावले सेवाग्राही जिल्ला अस्पताल वा प्राइवेट मेडिकलमा जानुपरेको स्थानीय तुलसी कार्कीले बताइन् । उनले आधारभूत स्वास्थ्य सेवा केन्द्रप्रति विश्वास जगाउन नगरपालिकाले प्रयाप्त औषधि व्यवस्था र सुरक्षित सुत्केरी सेवा सञ्चालनमा तत्परता लिनपर्ने सुझाव दिइन् ।

कार्यक्रममा उठेको जिज्ञासाहरुको जवाफ दिंदै आधारभूत स्वास्थ्य सेवा केन्द्रका अनमी पुष्पा थापाले सीमित साधन श्रोतमा सेवा प्रभावकारी बनाउने प्रयत्न गरिरहेको र प्राप्त सुझावका आधारमा सेवालाई प्रभावकारी बनाउदै लिने प्रतिवद्धता    जनाइन् ।

नारायण नगरपालिका–१ का वडासदस्य सन्तकुमारी रामजाली, नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष रेखा थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, इएलपी परियोजनाका जिल्ला सहजकर्ता सीता बुढाले स्वास्थ्य सेवा प्रभावकारिता र मानव अधिकारको सवालमा बोलेका थिए ।

 

प्रतिक्रिया