बाइकवाला केटी !

        सजना सुनार   |   प्रकाशित मितिः बिहिबार, अशोज १४, २०७८     ::: 74 पटक पढिएको   |  

असोज पहिलो साता। कच्ची र धुलाम्मे सडक। दुइटा सवारी सँगसँगै गुड्दा बाटो ठम्याउनै हम्मे पर्छ। त्यसैले आफ्नै सूरमा हिँडिरहेको एक मोटरसाइकल यात्री एउटा आवाजले झसंग झस्किन्छ।

त्यो आवाज थियो दस वर्ष उमेरजस्तै देखिने एक बालकको । ऊ सडकछेउको पसलबाट भित्र भएका आमाबुबालाई चर्को स्वरमा बोलाउँदै थियो- ए…आमा, ए…बाबा, बाहिर हेर्नु त झट्ट, बाइकवाला केटी ! उसको कुरा सुनेर म मुसुक्क मुस्कुराएँ।

मोटरसाइकलमा हुँइकिँदै केही पर पुगेपछि मेरो मानसपटलमा कुरा खेल्यो- पहिल्यैदेखि साधन जे भए पनि मान्छेले चलाउने हो, जसलाई जे सजिलो हुन्छ त्यो चलाउने हो भन्ने चेत र व्यवहार भएको भए केटी मान्छेले बाइक चलाएको देखेर ती बालकलाई अनौठो लाग्थेन होला ! बिडम्बना, प्रकृतिले झैं प्रविधिले पनि ठगेजस्तो ! महिलाका लागि स्कुटर मात्र हो भनेर आविस्कार गरेजस्तो !

ठूला सहरमा अचेल यो कुरा सामान्य हुन थालेको छ। तै पनि अधिकांशले बाइक चलाउने केटीलाई एक नजर फर्केर हेर्छन्। अझ साना सहरमा त अचम्मै मान्छन्। महिलाले चलाउने त स्कुटर हो भन्ने सामाजिक मानसिकता चिर्दै केही महिलाले अचेल मोटरसाइकल चलाउन थालेका छन्। खुसी लाग्छ। किनकि बाइक चढ्नु सामर्थ्यको कुरा मात्र होइन, महिलाले यो/त्यो गर्नुहुँदैन/सक्दैनन् भन्नेहरूलाई जवाफ पनि हो।

म सुर्खेत बस्छु। मलाई देखेर बाइकवाला केटी भन्ने ती बालक मात्र होइन, हरेक दिन कोठाबाट अफिस, अफिसबाट कोठासम्म वा भनौं म जहाँजहाँ जान्छु, त्यहाँ सबै मानिसले मलाई अनौठो गरी हेर्नुहुन्छ। मैले कुनै अनौठो वस्तु चलाइरहेजस्तो गरी घुर्नुहुन्छ। वा म कुनै फरक मान्छे हुँ।

ठूलो-सानो आवाजमा सबैले भनेको सुनिन्छ- ओहो केटीले बाइक चलाको ! कतिले गर्वका साथ भन्नुहुन्छ। कसैले हौसला दिनुहुन्छ। कसैले केटी मान्छे भएर बाइक चलाएको, स्कुटर राम्रो हुन्थ्यो भन्नुहुन्छ।

म केटी भएर मलाई स्कुटर सुहाउँछ भन्दै गर्दा पितृसत्तात्मक सोचले ओतप्रोत भएको मेरो समाज देखिरहेकी हुन्छु।

मेरो बाइकसँगको यात्रामा उतारचढावसहितको कथा र म स्वयंले गरेका थुप्रै अभ्यासहरू जीवन्त छन्। मेरो बाइक चलाउने सपना सहजै पूरा भएको पनि होइन। यो पितृसत्तात्मक समाजले सहज बनाएको कहाँ थियो र ?

आजभन्दा केही वर्षअगाडि मेरो आवश्यकताले बाइक किन्छु भनी आँटेकी थिएँ। आफन्त, परिवार, समाज, साथीभाइहरूले अनेकथरी भनाइ र उदाहरण दिँदै म र मेरो हौसलासँगै सपना सबै कमजोर बनाइदिए। त्यसपछि मैले स्कुटर किनेर घरमा ल्याएकी थिएँ।

अर्कोपटक भने जसले जति जे-जे भने पनि मैले आँट र हौसला बुलन्द बनाइरहेँ । हुन त केटी भएर बाइक चलाउने पहिलो महिला होइन म। मभन्दा पहिला थुप्रै महिलाले चलाउनुभएको छ, सायद उहाँहरू धेरैका अनुभव मेरोजस्तै छ।

आफूले मन पराएको बाइक किनेर सोरूमबाट घरसम्म लैजाँदाको खुसी मैले महसुस गर्न पाएकै थिइनँ। मैले मेरै बाइक चलाउन सक्छु भन्ने विश्वास गरेनन्। अनि मभन्दा कान्छो भाइले चलाएर सोरूमबाट घरसम्म ल्याएका थिए ।

मैले बाइक किनिसक्दा समेत घरबाट चलाउने अनुमति पाइनँ। वा भनौं विश्वास गरिएन। घरमा पहिलो दिन भाइले चलाएका छन् भनी झुट बोलेर आफूले चलाएकी थिएँ। त्यो पनि भाइलाई घरमा नभन्नू भनेर ज्याकेट किनिदिएर। दोस्रो दिन पनि त्यस्तै बित्यो। त्यसपछि मात्र मलाई विश्वास गरियो।

यो समाज र परिवारलाई एक महिलालाई विश्वास गर्न कत्ति गाह्रो छ। एक महिला पुरुषले चलाएको बाइकको पछाडि सजिलै बस्न सक्छिन् तर महिलाले चलाएको बाइकको पछाडि सहजै बस्दैनन्। किन? कस्तो अचम्म, बाइक वा स्कुटर यातायातको साधन न हो!

मलाई अनौठो लाग्ने तीतो अनुभव। जब मैले बाइक किनेँ, मलाई भेट्ने ७० प्रतिशतको भनाइ एउटै थियो- अब बिहेपछि श्रीमानलाई काम आउँछ ! मेरो समाजको नजरमा मभन्दा पनि मेरो हुँदै नभएको श्रीमानको मान अगाडि छ।

बाटोमा गुडिरहेका गाडीहरू साइड हुँदाहुँदै मलाई पेल्छन्। मेरो क्षमता र सिपको विचार गर्न खोजिन्छ। कुनै कारणवश म अरू साधन अगाडि छु भने मलाई उछिनेर अगाडि जानैपर्छ। मेरै केटा साथीहरूलाई मेरो बाइकको पछाडि बस्न लज्जा महसुस हुन्छ। आखिर हामी कहिले परिवर्तन हुन्छौं?

सन् १९८२ मा बाइकमा विश्वयात्रा सुरूआत गरेकी एम्सेफ्टो बर्डको यात्रा हरेक महिलाका लागि साहसिक र प्रेरणादायी मानिन्छ। बाइकमा ५६ हजार किलोमिटर विश्वयात्रा गर्न सफल विश्वकै पहिलो महिला मोटरसाइकल यात्रीले पनि परिवार र समाजलाई विश्वास दिलाउन, लक्ष्य भेट्टाउन थुप्रै संघर्ष गर्नुपरेको थियो। उनको पनि सबैले फरक नजरले हेरेको, आफूलाई फरक महसुस गराएको तीतो अनुभव छ। जुन कुराले उनलाई एक्लो पनि महसुस गराएको थियो।

युट्युबमा ‘४०२ के’ सबस्क्राइब पुगेकी नेपालकी सभ्या केसीको हरेक भिडिओ उत्तिकै रोचक हुन्छन्। उनको भिडिओमा केटीहरूको पनि कमेन्ट धेरै हुन्छ। ती कमेन्टमा गर्व महसुस गरेको देखिन्छ। उनको हरेक भिडिओ मन पराएको देख्दा लाग्छ, सबैले परिवर्तन चाहन्छन्।

यस्तै बाइक चलाउनमा प्रसिद्ध एलेन कुजवनीको मृत्युपछि धेरैले उनलाई राम्रो भनी सम्झिएका थिए। केहीले उनलाई चलाउन नजान्नेले किन चलाउनू, अनुभवबिनाको चलाई जस्ता अनेक कुरा भने। पुरुषको बाइक दुर्घटना हुँदा उसको क्षमतामा विरलै प्रश्न गरिन्छ। तर महिलाले दुर्घटना गराउँदा उसको क्षमता, सिप र अनुभवमा प्रश्न उठाइन्छ।

यति मात्र होइन, सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा दिन जाँदा होस् या ट्रायल, स्कुटर (के) क्याटगोरी र बाइक (ए) क्याटगोरीको सूचना छुट्टाछुट्टै टाँसिएको हुन्छ। जहाँ के क्याटगोरीको सूचनाको लाइन महिलाको मात्र हो भन्ने बुझाइ आमजनता र कर्मचारीको पनि हुन्छ। मोटरसाइकलका लागि परीक्षा दिँदै गरेका महिलालाई पनि जबरजस्ती स्कुटरको लाइनतिर देखाइन्छ। यो अनुभव मेरो पनि हो।

आखिर महिलाको क्षमता र सिपमा अविश्वास कहिलेसम्म ?

यो कुरा परिवार, समाजसँग मात्र नभई संघसंस्थामा काम गर्ने महिला कर्मचारीसँग पनि जोडिन्छ। यदि कुनै महिलाले बाइक चलाउँछिन् भने उनलाई ‘बाइकवाला महिला’ वा ‘बाइकवाली केटी’ जस्ता नामले चिनिन्छ। मलाई पनि बाइक चलाउने केटी भनेर चिन्नु स्वाभाविक हो। तर महिलाले बाइकल चलाउनु पनि स्वाभाविक हो ।

मैले देखेको एउटा दृश्य:

कोरोना महामारी र लकडाउनको समय थियो। म काम विशेषले सुर्खेतदेखि दैलेखसम्म जाँदै थिएँ। मेरोअगाडि एक महिलाले आफ्ना श्रीमानलाई बाइकमा राखेर यात्रा गर्दै थिइन्। कारण, श्रीमानको हात भाँचिएको रहेछ। उनीहरू भर्खरै अस्पतालबाट फर्किएका जस्तो देखिन्थे। त्यो देखेर खुसी पनि लाग्यो। हरेक श्रीमानले आफ्नो श्रीमतीलाई यसरी नै सिकाएको र हौसला दिएको भए सायद यो लेख पनि आवश्यक हुन्थेन होला । श्रीमतीलाई सिकाउनुपर्छ भन्ने सकारात्मक सोच भएका र सुरूआत गरिसकेका श्रीमानलाई मेरो उच्च सम्मान !

त्यसैले जसले जे भने पनि मेरो विचार र अनुभवमा, मोटरसाइकल एक सवारी साधन हो। यसलाई कुन लिंगका व्यक्तिले चलाउने, कुनले नचलाउने भनेर तोकिएको छैन। मैले बाटोमा बाइक चलाइरहँदा स्वतन्त्रता र आत्मविश्वास बढेको महसुस गरेकी छु। यो मभित्र गुम्सिएको इच्छा मात्र होइन, स्वतन्त्रता पनि हो। यो स्वतन्त्रता हरेक महिलाले पाउनुपर्छ। महसुस गर्नुपर्छ।  (लेखक सजना सुनार युवा अभियन्ता हुन्। )



Leave a comment

Your email address will not be published.


*