शान्ति खोज्दै जाँदा…

शान्ति खोज्दै जाँदा…

रामहरि अधिकारी- ज्येष्ठ महिनाको १२ गते, दिनको साँढे ४ बजिसकेको थियो। त्यति बेला नेपालको तराईमा चर्को र पहाडमा ठिक्क गर्मी भए पनि माथिल्लो डोल्पाको समुन्द्र सतहबाट करिब ३७०० मिटरको उचाइमा पर्ने साल्दाङ गाउँमा भने ठिक्कको मौसम थियो, जाडो पुरै निख्रेको। गर्मी त त्यहाँ हुने कुरै भएन।

साल्दांगमा रहेको ‘सेल री दुग्द्र’ नामको विद्यालयबाट विद्यार्थी, शिक्षक र अभिभावकहरु भर्खरै घरतिर जाँदै थिए। आज बुद्धपूर्णिमाको दिन भएकोले पढाइ नभए पनि विद्यालयमा विशेष अतिरिक्त कृयाकलापको कार्यक्रम थियो। र त्यस कार्यक्रममा विद्यार्थीहरुका साथै अभिभावकहरु र गाउँका गन्यमान्यहरुलाई पनि निम्त्याइएको थियो।

साल्दाङ गुम्बामा बिहानै बुद्धपूर्णिमाको पूजा सकेर विद्यालयमा जम्मा भएका सबैलाई साल्दाङका प्रतिष्ठित लामा कर्मा धोन्दुप र लामा पेमा वांग्यालले विभिन्न मन्त्रोच्चारण सहित बुद्ध पूजामा सरिक गराई आशिर्वचन प्रदान गरेपछि विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रहरु संचालन भएका थिए। र, ती सबै कार्यक्रको संयोजन तथा संचालन निमेश सरले गरेका थिए।

वीरगंजको प्रतिष्ठित व्यापारी परिवारमा जन्मे हुर्केर काठमाडौँको बुढानिलकन्ठ स्कुलबाट १२ कक्षा अनि अमृत साइन्स कलेजबाट बिएस्सी गरेका निमेश सर यानिकी निमेशकुमार मन्डल झन्डै १० वर्ष अगाडि यहाँ आएर यहाँको सेल री द्रुग्द्र विद्यालयमा पढाउनुका साथै यहाँको समुदायमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यवसायिक विकास लगायतका कुराहरुमा गाउँलेलाई सक्दो सहयोग गर्थे।

विद्यालयमा पढाउन पनि उनी हरेक विषयमा पोख्त थिए। उनी नेपाली, अंग्रेजी, विज्ञान, गणित, सामाजिक शिक्षा आदि सबै विषयमा सिद्धहस्त थिए। विद्यार्थीलाई नौला-नौला विधि प्रयोग गरेर पढाउने उनले विद्यार्थीहरुलाई संगीत, चित्रकला र विभिन्न खेलहरुका साथै सामान्यज्ञानका कुराहरु सिकाउँथे।

यहाँ आएको केही समयमै उनी यहाँको डोल्पो भाषा सिकेर फरर्र बोल्न सक्ने भैसकेका थिए भने यहाँको गुम्बामा बसेर थांका र मन्डला बनाउने लगायतका बौद्ध चित्रकलाको सीप हासिल गरिसकेका थिए।

आएपछि दिनभर पढाउँदै गुम्बाका लामाहरुसित बौद्धशिक्षा लिएर तिब्बतियन भाषामा भएका बौद्ध ग्रन्थहरुमा बारेमा राम्रो दख्खल हासिल गरेका उनले ध्यान विधिहरुमा पनि राम्रो ज्ञान र सीप हासिल गरिसकेका थिए।

बुद्धधर्मका बारेमा खासगरी निंग्मापा सम्प्रदायमा प्रचलित बुद्ध परम्पराका बारेमा विशिष्ट ज्ञान हसिल गरिसकेपछि गुरु टुल्कु रिम्पोचेले ‘प्रबज्या’ अभिषेक (भिक्षु बनाउने समारोह) मा निमेशको नाम भिक्षु ‘संघमित्र’ राखिदिनु भएको थियो।

निमेशले प्रबज्यामा गएर भिक्षुक बने पनि पुरै समय गुम्बामा बस्ने पूर्णकालीन भिक्षु बनेका भने थिएनन्। तर उनी सकेसम्म धेरै बुद्ध धर्मले भनेका ध्यान गर्ने, अष्टागिक मार्गलाई पालना गर्ने र निंग्मापा सम्प्रदायको परम्परालाई पछ्याउने प्रयास गर्दथे।

उनी उपल्लो डोल्पा क्षेत्रको समाजमा एउटा उच्चकोटीको आदर्श शिक्षक र कर्तव्यनिष्ठ धार्मिक समाजसेवीको रुपमा परिचित थिए।

कार्यक्रम संचालन गर्न प्रयोग गरिएका सबै सामानहरु थन्क्याई वरि निमेश सर कोठातिर लाग्दा धौलागिरि हिमाल र कान्जिरोवा हिमालबाट आएको हावा ठोक्किएर सुइय्य आवाज आउन थालेको थियो। घाम पनि ढल्केर विस्तारै शे गुम्बाको छेउमा पुग्न लागिसकेको थियो।

नानोंङचाङ्ग हिमालको फेदीमा चारिंङमो खोलाबाट उकालो लाग्दै गरेका चौँरी र याकहरुको लस्कर साल्दाङतिर आउँदै गरेको देखियो। जुफालबाट सुलिगाढ खोलाको बगर हुँदै फोक्सुन्डो ताल कटेर आउने ती चौरीगाईहरुले घन्टी बजाउँदै उकालो लाग्दा परैबाट एक प्रकारको मिठो संगीत जस्तो आवाज आउँथ्यो।

निमेश सर एकछिन टक्क अडिएर त्यो हुललाई एकटकले हेरे। सधैँदेखि रहेको चौँरीहरुको त्यो बथान देख्दा आज भने उनलाई अनौठो लागिरहेको थियो।

बाटोमा हिँड्दै गरेको उनी बस्ने घरको कर्मा भाइले ‘सर, के हेरिरहनु भएको?’ भनेर प्रश्न गरेपछि निमेश सर कोठातिर लागे। कोठामा गएर झोला थन्क्याए अनि काश्या (बुद्धमार्गीहरुले लगाउने पहिरन) पहिरेर साल्दांग गुम्बातिर लागे।

त्यतिबेलासम्म गुरु टुल्कु रिम्पोचे र अन्य भिक्षुकहरुले रोल्मो (गुम्बामा बजाइने एक किसिमको बाजा) र डुंचेन (हात्तीजस्तो आवाज निकाल्ने तेर्सो नर्सिंगा जस्तो लामो बाजा) बजाउँदै साँझको पूजा सुरु गरिसकेका थिए।

‘ओम माने पद्मे हुँ’ को धूनको प्रतिध्वनि सँगै रोल्मो र डुंङचेनको आवाज साल्दांग गुम्बाबाट निस्केर पर निलो आकाश हुँदै परका तिल्जे, मुकोट र ताराप उपत्यकाको धो गाउँ अनि शे-फोक्सुन्डो तालसम्म पुगेर फर्के जस्तो लाग्थ्यो।

साँझको पूजा सिध्याएर निमेश कोठामा फर्किँदा पूर्णिमाको सफा आकाशमा ताराहरु टहटह चम्किन थालिसकेका थिए। उनी कोठाभित्र छिर्नै लाग्दा पल्लो घरमा संचालित होटेलमा केही मान्छेहरुको कल्यांग बल्यांग सुनियो।

गएर हेरे, अघि विद्यालयबाट निस्कँदा चारिंग्मो खोलाबाट उकालो आउँदै गरेको बेला देखिएको टोली रहेछ। त्यस टोलीमा भरिया र अन्य पदयात्रुहरुको समूहमा केही विदेशीहरु थिए र तिनीहरुको बीचमा नेपाली अनुहारकी एकजना महिला पनि थिइन्।

ती महिलालाई देख्दा निमेशलाई कता-कता चिनेको अनुहार जस्तो लाग्यो। ती महिला झोला बिसाएर बेन्चमा बसिन्। उनका अरु साथीहरु झोला बिसाउँदै थिए भने भरियाहरु आफ्नो भारी थन्क्याएर चौँरीको थाप्लाको भारी निकाल्दै थिए।

निमेशले नजिकै गएर हेरे, को रहेछ भनेर हेर्दै थिए, ती महिलाले एक्कासी निमेशलाई झम्टेर अंगालो हालिन्।

‘ओ निमेश तिमी? यहाँ कसरी?’

निमेश अक्क न बक्क पर्यो। तर तुरुन्तै उसले पनि प्रतिक्रिया जनायो, ‘अरे भावना! तिमी? यहाँ कसरी?’

निमेशले भावनाको अंगालो छुटायो।

‘तिमी कता बस्छौ? यहीँ बस्छौ होइन? कहीँ जान्नौ नि? पहिले मलाई बस्न भनेर व्यवस्था गरिएको कोठामा गएर सामान थन्क्याउन देऊ अनि कुरा गरौँला। तिमीसित आज रातभर कुरा गर्नुछ।’

भावना झोला बोकेर होटेलको कामदार पाल्देनको पछि-पछि कोठातिर लागि। निमेश पनि पाल्देन र भावनाले बोक्न नसकेर छोडेको झोला बोकेर उनीहरुको पछि पछि लाग्यो।

पाल्देनले कोठाको चाबी खोल्यो र भित्र लगेर भारी बिसायो। अनि ‘केही चाहिए निमेश सरलाई भन्नु होला म्याडम’ भनेर ब्यंग मिश्रित भावमा खिसिक्क हाँस्दै बाहिर निस्कियो।

भावना पनि भित्र पसी। निमेश आफूले बोकिदिएको झोला ढोका बाहिरैबाट कोठाभित्र राखिदिएर बाहिरै उभियो।

उसमा ‘के गरौँ, कसो गरौँ’ भने झैँ अन्मयष्क भाव देखियो।

‘भित्र आउन्नौ? बाहिर त चिसो छ त?’ भन्दै भावना झोला खोतलखातल गर्न लागि।

‘तिमी फ्रेश भएर निस्क, अनि सँगै खाना खाँदै कुरा गरौँला। तेतिन्जेल म बाहिरै पर्खिरहन्छु’ निमेशले भन्यो र ढोका बाहिरको बेन्चमा बस्यो।

केहीछिनपछि फ्रेस भएर भावना बाहिर निस्की। निमेश त्यतिन्जेलसम्म आकाशको पूर्ण चन्द्रतिर नियाल्दै ‘ओम माने पद्मे हुँ’ को मन्त्र गुनगुनाइरहेको थियो।

निमेश अघि-अघि लाग्यो, भावना पछि-पछि लागी। उनीहरु खाना खाने कोठामा पुगे। भावनाका साथीहरु अघि नै आएर खाना खान थालिसकेका रहेछन्।

‘तपाईंहरुसित आउनु भएको मिस हाम्रो निमेश सरको साथी हुनुहुनुहुँदो रहेछ क्यारे। उहाँहरु आउँदै गर्नु हुन्छ होला तपाईंहरु खाना खाँदै गर्नुहोस्’ पाल्देनले भनेपछि भावनाका स्वदेशी र विदेशी दुवै खालका साथीहरु खाना खान थालेका रहेछन्।

खाना खाने कोठाको छेउमा एउटा टेबल बाँकी थियो, निमेश र भावना त्यसैमा बसे।

भावनाले सबैसित निमेशको परिचय गराई ‘ऊ मेरो ५ कक्षा पढ्दा देखिको मेरो जीवन पर्यन्त सबैभन्दा नजिकको साथी, अहिले यो हिमालमा आएर भिक्षु भएछ। म आज उसलाई १३ वर्षपछि भेट्दैछु।’

नेपालीहरुले निमेशलाई नमस्ते गरे भने विदेशीहरुले ‘हाई’ गरेर अभिवादन गरे।

बुद्धमार्गीहरुको पावनभूमि भएको हुँदा साल्दाङमा शिकार खेल्न र जीवहत्या गर्न प्रतिबन्ध जस्तै भएकोले भान्सामा मासुजन्य परिकारहरु थिएनन्।

त्यसैले उनीहरुलाई घ्यू र नून हालेको चिया, फापर र उवाको ढिँडो, आलूको झोल तरकारी लगायका परिकारहरु थिए। तर, भावना खान छोडेर निमेशको अनुहारमा हेरिरही। निमेश कतै शून्यमा हराइरहेको थियो।

‘सर-मिस, खाना छिटो खानुस्, सेलाइसक्यो’ पाल्देनले दुवैजनाको कपमा थर्मसबाट नुन र घ्यूको चिया खन्याउँदै मायालु पारामा हकारेपछि दुवैजना झसंग भए।

‘भावना, तिमी भोकाएकी छौ, छिटो खाना खाऊ’ निमेशले भन्यो र आफूले पनि खान थाल्यो।

‘खै निमेश, आज नसोचेको अवस्थामा तिमीलई देखेपछि त मेरो भोक कता हरायो कता’ बडा जबर्जस्त तरिकाले हाँस्न खोजे झैँ गरी भावना।

खाना खाइसकेपछि पनि भावनाका साथीहरुले उनीहरु दुईजनालाई निजात्मकता दिनको लागि छोडिदिए र आ-आफ्नो सुत्ने ठेगानातिर लागे।

भावना र निमेश होटेलको बरन्डामा राखेको बेन्चमा बसे। आकाशमा पूर्णिमाको पूर्ण चन्द्र देखिएको थियो। आकाशमा हजारौँ ताराहरु एक साथ टिलपिलाइरहेका थिए।

भावनाले आकाशतिर शून्यभावमा हेरेर भनि, ‘निमेश, साँच्चीकै स्वर्ग भनेको यही आकाश होला है? मैले त यसरी खुला आकाश देख्न नपाएको पनि कैयौँ वर्ष भैसकेछ।’

‘ठिक छ भावना, बताऊ तिम्रो जीवन कहानी, तिमी कसरी कहाँबाट यहाँ आइपुग्यौ?’

‘म सुख खोज्न जाँदा दुःखको सागरमा डुबेकी मान्छे, मेरो के कथा हुनु। मलाई बितेका कुरा फर्केर सम्झिने समेत चाहना छैन। बरु तिमी यो हिमालको फेदीमा के गर्दै छौ, त्यो बताऊ।’

निमेशले एकटकले आकाशमा हेर्यो। निलगिरि र कान्जिरोबा हिमालको छाया उनीहरुको काखसम्मै आइपुगेको थियो।

लामो सुस्केरा हालेर ऊ बताउन थाल्यो-

‘मैले विदेश नजाऊ भावना, यही बसेर पढौँ, यहीँ कर्म गरेर हाम्रो सपना साकार पारौँ’ भन्दाभन्दै मसँगै अमृत क्याम्पसको बिएस्सी भर्ना भएकी तिमी आर्किटेक्ट ईन्जिनियरिङ पढ्न भनेर अमेरिका गयौँ। तिमीलाई थाहै छ, मलाई पढ्नकै लागि भनेर देश छोडेर जान मन लागेन।

विदेश गए पनि अलि माथिल्लो तहको विशेषज्ञता हासिल गर्न, देश देशावर हेर्न र विदेशीले गरेको प्रगती अनि उनीहरुको संस्कृति, चालचलन नियाल्न जाने मेरो रहर थियो। तिमी र मैले यो जीवन सँगै बाँच्ने कसम खाएका थियौँ। तर म मेरो प्रतिवद्धता परित्याग गरेर तिमीसितै विदेश जान सकिनँ। बरु तिमी पढेर फर्कुन्जेल यहीँ पढेर बस्ने अठोट गरेँ।

तिमी पनि पढेर सुयोग्य आर्किटेक्ट बनेर फर्किने वाचा गर्दै मलाई छोडेर अमेरिका गयौ। तिमीसित छुटिएपछि कलेजमा पढ्ने बाहेक मेरो दिनचर्या पढ्ने, लेख्ने अनि तिमीले पठाएका चिठीहरु हेर्ने मात्रै भयो। नियमित रुपमा फोनमा पनि कुरा हुन्थ्यो नि, तर त्यतिले धित मर्दैनथ्यो। त्यसैले तिम्रा चित्रहरु हेर्दै टोलाउने र तिनीहरुसितै कुरा गर्ने मेरो अर्को काम भएको थियो।

सायद दैवलाई हाम्रो सम्बन्ध मन्जुर थिएन, तिम्रा चिठीपत्रहरु पातलिन लागे। मसँग तिम्रो कुराकानी कम हुँदै गयो। मेरा चिठीहरुको जवाफ आउन कठीन हुँदै गयो। र करिब एक वर्षपछि त तिमीसितको सम्पर्क पुरै टुट्यो। केही समयपछि अपुष्ट समाचार आयो, ‘तिमीले उतैको गोरासित बिहे गर्यो रे।’ मेरो भाग्यमा आगो लागेको थियो।

यति भनेर निमेश चुप लाग्यो।

निमेशको काखमा शिर राखेकी भावना हिक्क-हिक्क गर्न लागि। उसको अनुहारमा निमेशका आँसुका थोपाहरु झर्न लागे। बलेसीबाट झरेको पानीको थोपा झैँ, तप्प-तप्प।

आँसु पुछेर निमेशले कथा जारी राख्यो-

मैले जसोतसो बिएस्सी उत्तीर्ण गरेँ। तर तिमीले मसितको सम्बन्ध परित्याग गरेपछि मेरो जिन्दगी गैँडाकोटको भृकुटी कागज कारखानाजस्तै खन्डहर भयो। अमलेखगन्जको रेल र काठमाडौँको ट्रलिबस अनि रोपवेजस्तै उजाड भयो। बिएस्सी सकेपछि मेरो दिमागले कुनै सही निर्णय गर्न सकेन।

म गलत संगतमा लागेछु। चुरोट, गाँजा, फेनसिडिल, स्म्याक हुँदै मेरो दिनचर्या हिरोइनसम्म पुग्यो। म मेरो जीवनलाई खरानी बनाउँदै थिएँ। मसित मेरो बेहोसी बाहेक अरु केही थिएन। मेरो जीवनको अन्धकार युग थियो त्यो जहाँ मैले मेरो जीवनको सुनौला दुई वर्ष बर्बाद गरेछु।

यति भनेर निमेश चुप लाग्यो। फेरि सन्नाटा छायो।

‘फेरि कसरी यहाँ आइपुग्यौ? कृपया मलाई सबै कुरा बताऊ’ भावनाले निमेशको अनुहारमा हेर्दै सोधी।

त्यसपछि मेरो परिवारले मलाई पुनर्स्थापना केन्द्रमा भर्ना गरिदियो। पुनर्स्थापना केन्द्रबाट पुनर्स्थापित हुँदै गरेका हामी मध्ये केहीलाई यो माथिल्लो डोल्पाको पदयात्रामा ल्याइयो।

यही साल्दाङ गुम्बामा आएर ‘ओम माने पद्मे हुँ’ को मन्त्र सितै रोल्मो र डुंचेनको धुन सुनेपछि मलाई भित्र मनमा एक किसिमको उर्जा उत्पन्न भयो। यहाँका रिम्पोचे गुरुको आशिर्वचन सुनेपछि लाग्यो, मेरो जीवनको गन्तव्य यही हो। अनि म मसित आएका साथीहरुलाई छोडेर यतै बसेँ। त्यसपछि गुरुसित दिक्षा लिएर बुद्दिष्ट बनेँ।

यहीँ पढाउने र यो कहाली लाग्दो विकट भूगोलका दुःखी बासिन्दाको सेवा गर्ने कर्म गर्दैछु। यहाँका बालबालिकाको मुहारमा आउने खुसीले मेरा सारा दुःखहरु बिर्साइदिन्छ। यहाँका आम्चिहरुसित मिलेर बिरामीहरुको उपचार गर्छु, स्वास्थ्य शिक्षा दिन्छु, किसानहरुलाई सघाउँछु।

जब उनीहरुलाई खुसी देख्छु, तब उनीहरुको मुहारमा म आफ्नै खुसी पाउँछु। त्यसैले मैले आफ्नो बाँकी जीवन बुद्धमार्गको पालना गर्दै यही ठाउँको सेवामा समर्पण गर्ने निर्णय गरेको छु। म मेरो जिन्दगीप्रति खुसी छु र यसको लागि तिमीलाई धन्यवाद दिन चाहन्छु।

तिमीले मलाई माया नमारेको भए म पनि घरपरिवारको झन्झट व्यहोरिरहेको हुन्थेँ होला। सांसारिक दुःख, तृष्णा, लोभ र मोहले जताततै बाँधिएको हुन्थेँ होला म पनि। म अहिले सारा दुनियाँको सुख र शान्तिको कामना गर्छु र त्यसमा आफ्नो तर्फबाट सकेको सत्प्रयास गर्छु, तर त्यतिबेला आफ्नै श्रीमती, छोरा र छोरीहरुको चिन्ता गरिरहेको हुन्थेँ होला। र समाज र यो विश्व प्रतिको कर्तब्य मैले भुलिरहेको हुन्थेँ होला।

आखिर तिमी पनि त ठूलो ठाउँमा पुग्यौ, आफ्नो रोजाइको विषय पढ्यौ। मलाई मन पराएकी थियौ तर झन् धेरै मन पराएको मान्छेसित सम्बन्ध गाँस्यौ। धनी परिवारमै हो तिम्रो जन्म भएको, आफूले झन् धेरै कमायौ होला। तिमी पक्कै सुखी हौला। मेरो जीवनको एउटा लक्ष्य भनेको तिमी सुखी र खुसी भएको हेर्नु थियो, त्यो पूरा भयो। तसर्थ जे भयो, ठिकै भयो भन्ने लागेको छ।

निमेशको व्यंगमिश्रित भनाइ सुनेपछि भावनाले जवाफ दिई, ‘म हतप्रभ भएकी छु तिम्रो व्यंगभावयुक्त भनाइ सुनेर। मेरो जीवन तिमीले सोचेजस्तो सुखी रहेन र म अरुले देखेजस्तो खुसी पनि छैन। तिमी मेरो जीवनको मणि थियौ र मैले त्यो गुमाएँ। पूर्णिमाको रातमा जुन हरायो भने के हुन्छ भन त? मेरो जीवन त्यस्तै भएको छ, कालो औँसीको रातजस्तै भएको छ।

औँसीको रात र मेरो जीवनमा एउटै फरक छ, औँसीको रातपछि केही दिनमा जुनेली रात सुरु हुन थाल्छ र १५ दिनमा चन्द्रमा पनि पूर्ण हुन्छ तर मेरो जिन्दगीमा सधैँ काला रातहरुले मात्र राज गरिरहेका छन्।’

बोल्दा-बोल्दै भावना सुक्क-सुक्क गर्न थालेकी थिई।

‘किन र भावु, के भयो त्यस्तो अनपेक्षित घटना जसले गर्दा तिमी आफ्नो जीवनलाई कालरात्रीसित तुलना गर्दै छौ?’

आफ्नो बोलीमा कठोरता झल्काउन प्रयास गरिरहेको निमेश पनि पग्लिन थालेको थियो।

‘सुन, म पनि तिमीलाई सुनाउँछु मेरो कहानी-

मलाई लाग्थ्यो नेपाल गरिब, पिछडिएको मुलुक हो र याहीँ बस्नु भनेको आफ्नो भविष्यलाई बर्बाद गर्नु हो। त्यसेले अमेरिका गएर आफ्नो भविष्य सुरक्षित पार्नुपर्छ भन्ने लाग्यो। तर मसित गएर युनिभर्सिटीमा आवेदन भर्न समेत तिमी तयार भएनौ। तर मेरो मनमा मैले अलिक जोड जबरजस्ती गरेँ भने तिमीलाई पनि उतै लान सकिन्छ भन्ने विश्वास थियो। जब तिमी टसको मस भएनौ, तब म एक्लैले आवेदन गरेँ र आशा गरेँ कि उता गएपछि तिमीलाई मेरो मायाको शक्तिले उतै तान्नेछ। तर त्यस्तो भएन।

म गएपछि मैले पढाइको साथसाथै मेरो साउथ अल्बामा विश्वविद्यालयको ईन्जिनियरिङ ल्याबमा आंशिक रुपमा काम गर्न थालेँ। त्यहाँ एउटा आकर्षक जीउडालको कार्लोस नामको हिस्पानिक केटा मेरो सुपरिवेक्षकको रुपमा काम गर्दथ्यो।

म तिमीलाई अटुट रुपमा अथाह प्रेम गर्दथेँ। तर घर-परिवार र देशभन्दा हजारौँ किलोमिटर पर तयो दूर देशमा मेरो साथमा कोही थिएन मलाई पलपल साथ दिने। मलाई दुःख पर्दा कठै भन्ने, भोको हुँदा रेष्टुरेन्टबाट खाना मगाइदिने, घरबाट पैसा नआएर बेखर्ची हुँदा सापटी दिने वा विश्वविद्यालयको शुल्क तिरिदिने अनि बिरामी हुँदा अस्पताल लाने र औषधी खुवाउने त्यही केटो भयो।

म त्यो केटोसित यति नजिक भएँ कि मैले अन्जानमै आफ्ना सम्बन्धका सारा सीमाहरु तोड्न पुगेछु। यसपछि हाम्रो सम्बन्धमा कुनै सीमाहरु बाँकी नरहेकोले र बसाइ र खाना खर्च कम गर्ने हेतुले कार्लोस र म सँगै लिभिङ टुगेदरमा (अविवाहित दम्पती) बस्न थाल्यौँ। यसले गर्दा मलाई सुरक्षित रहेको आभास पनि हुन्थ्यो।

मैले राम्ररी नै आर्किटेक्ट ईन्जिनियरिङमा ग्र्याजुएसन गरेँ र तुरुन्तै त्यहाँको सिटी काउन्सिलमा राम्रो जागिर पाएँ। अब मसित मेरो जोडी, राम्रो जागिर, अमेरिकामै घर, गाडी र प्रशस्त पैसा थियो। कुनै कुराको अभाव थिएन।

त्यो देशमा अविवाहित जोडीलाई सँगै बस्न कानुनी छुट र सामाजिक मान्यता दुवै प्राप्त हुने हुँदा मलाई खासै असहजताको अनुभूति पनि भएको थिएन। तर म त नेपाली चेली थिएँ, यहीँको सामाजिक परम्परा देखेको र संस्कृतिलाई आत्मसाथ गरेकी। मलाई अविवाहितभन्दा विवाहित जोडी भएरै बस्ने चाहना भयो।

नेपालका मेरा संगी, साथी र दिदी-बहिनीहरुले विवाह गरेको खबर पाउँदा र उनीहरुले रातो सारीमा रंगिएर आफ्नो श्रीमान् तथा बालबच्चा च्यापी माइती गएको, तीज मनाएको, दसैँको बेला ठूलो परिवारको बीचमा बसेर निधारभरि टीका र जमरा लगाएको फोटाहरु फेसबुकमा हाल्दा मलाई औडाहा हुन्थ्यो। मैले पनि प्रसूति गृहबाट काखमा बच्चा चेप्दै घर गएको सपना देख्न थालेँ।

मैले कार्लोससित विवाह गर्ने इच्छा जाहेर गरेँ।

‘यो कुरा अहिले आवश्यक छैन’ भनेर उसले टार्यो।

पश्चिमा मुलुकमा अविवाहित जोडीले पनि सन्तान पाउन सक्ने प्रचलन छ। त्यसैले मैले ‘अब त हामीले पनि सन्तान पाउनु पर्छ’ भनेर जिद्धी गरेँ। तर कार्लोसले ‘सन्तान जन्मायो भने तिमी चाँडै बुढी देखिन्छ्यौ र हामी जवानीको उपभोग गर्न बन्चित हुन्छौँ’ भनेर सन्तानोत्पादनको मेरो चाहनालाई अस्वीकार गरिरह्यो।

बरु उसले मलाई थरीथरीका चुरोट र रक्सी सेवन गर्न, अप्राकृतिक मैथुन गर्न, बार र क्लबहरुमा गएर अनेक मान्छेहरुसित अस्वाभाविक नृत्य गर्न कर गर्न थाल्यो। जब म यी कुराहरु अस्वीकार गर्न थालेँ, तब उ मसित क्रुद्ध भएर घरबाट अनेक दिनसम्म बेपत्ता हुने गर्न थाल्यो।

उसलाई ‘विभिन्न केटीहरु फेरी-फेरी बार र क्लबहरुमा गएको देखेको भनेर मान्छेहरुले भन्न थाले। ‘तपाईंको ज्वाईं, छोरा वा दाजू या भाइलाई वा देबर, जेठाजुलाई सम्झाइदिनुहोस् न’ भनेर अनुरोध गर्न त्यहाँ मेरा कोही माइती, सासू, ससुरा, नन्द, आमाजू वा जेठानी थिएनन्।

‘मेरो श्रीमानलाई सम्झाइदेऊ’ भन्न कोही छिमेकी थिएनन्। मेरो कुरा सुन्न मेरो बोइफ्रेन्डलाई कुनै जरुरत थिएन, किनभने ऊ मेरो श्रीमान् थिएन।

हेर निमेश, पैसाले सुविधा पाइँदो रहेछ, सुख-शान्ति होइन। र, मान्छेको जीवनमा सबैभन्दा ठूलो सुख भनेको साँचो माया प्रेम प्राप्त गर्नु शान्तिसित बाँच्न पाउनु रहेछ। जब म विदेशी चकाचौँधयुक्त दुनियाँ र पैसाको भ्रमबाट मुक्त भएँ, तब तिमीलाई सम्पर्क गर्न प्रयास गरेँ। तर तिमी त यो कुनामा आएर बसेका रहेछौ। कसरी सम्पर्क हुन्थ्यो र!

त्यसपछि म शान्तिको खोजिमा सारा संसार डुल्दै अहिले आफ्नै मातृभूमि आइपुगेको छु। र सायद परमेश्वरले मेरो मानको कुरा बुझेर होला, पदयात्राको क्रममा तिमी भएकै ठाउँमा आइपुगेकी छु।’

यति भनिसकेपछि भावना चुप लागी। त्यहाँ सन्नाटा छायो। उनीहरुको आँखाबाट अश्रुधारा बगेको त्यो जुनको उज्यालोमा प्रष्ट देखिन्थ्यो। उनीहरुको छेवैबाट एउटा हरिण हो या के हो फुत्त उफ्रेर गयो। सायद उनीहरुको कुरा सुनिरहेको त्यो प्राणीले पनि उनीहरुको बेदना सुनिरहन सकेन।

भोलिपल्ट बिहान भावना सबेरै उठी। बिहानीको घाम निलगिरि हिमालको काखबाट निस्किसकेको थियो। रमणीय सालदांग गाउँका घरका छतहरुमा रहेका छोर्तेनहरुलाई (बुद्धमार्गीहरुले घरमा फहराउने झन्डा) सिर्सिरे हवाले हल्लाइरहेको थियो।

गाउँमाथि रहेको साल्दांग गुम्बाहरुबाट एकनासले ‘ओम माने पद्मे हुँ’ को धुन आइरहेको थियो।

पर चोरिंग्मो खोलाको किनारको फाँटमा उवा झुलिरहेको थियो र स्थानीय किसानहरु त्यो काट्न र झाँट्न खेतमा पुगिसकेका थिए। भरियाहरुले भारी मिलाउन र एकनासले उग्राइरहेका चौँरीहरुको पिठ्युँमा भारी बाँध्न थालिसकेका थिए।

यस्तैमा ‘टाँसिदेलेक’ भन्दै पाल्देन र होटेलकी साहुनी कार्माले नुन र घ्यू हालेर मथेको चिया र फापरको रोटी ल्याइदिए।

भावनालगायत सम्पूर्ण पाहुनाहरुले ती परिकारहरु खाए। भावनाले आफ्नो टोलीलाई छोडिदिइ र निमेशसित घुम्न जान तयार भई।

उनीहरु ठाडै उकालो हिँडेर एकैछिनमा साल्दांग गुम्बामा पुगे। भावनाले गुम्बाको वरिपरि भएको माने घुमाई र मख्ख परी। भित्र गएर लामाहरुको मन्त्रोच्चारण सुनी। अनि बच्चाजस्तो फुरफुर ऊफ्रिँदै गएर निमेशलाई तान्दै बाहिर मन्दिरको पटांगिनीमा लगि।

उसले निमेशको दुवै हात च्याप्प समातेर भनी, ‘निमेश, मैले खोजेको शान्ति यहीँ पाएँ। म पनि यही बस्छु ल तिमीसितै। जीवनभर, मृत्यु पर्यन्तसम्म। हुन्छ?’

निमेशले केही प्रतिक्रिया जनाएन, बरु पश्चिम दिशामा रहेको कान्जिरोबा हिमालतिर हेरिरह्यो, एकटकले।

गुम्बाबाट रोन्मो र डुन्चेनको आवाजसँगै लामाहरुले पाठ गरेको आवाज आउन थाल्यो।

‘ओम माने पद्मे हुँ।’  सेतोपाटीबाट

प्रतिक्रिया