२९ वर्षदेखि चर्चित गीत- ‘तिहारै आयो, लौ झिलिमिली’

२९ वर्षदेखि चर्चित गीत- ‘तिहारै आयो, लौ झिलिमिली’

काठमाडौँ : ‘तिहारै आयो लौ, झिलीमिली, ए सुन हजुर भैलिनी आए आँगन… ।’ भैलो खेल्ने समूहले आफ्नो घरको आँगनमा यही गीत बजाउँदै नाचगान गर्दा निर्देशक शम्भु प्रधानको मन ढक्क फुल्छ । तिहार नजिकिएसँगै सुपर मार्केटदेखि घर/घरमा यो गीत बज्न सुरु हुन्छ । यो गीत नगुञ्जिएसम्म तिहार आएको भान नै हुँदैन ।

भैलो खेल्नेले त कण्ठस्तै पारेका हुन्छन् । आफ्नो फिल्मको यसै गीतमाथि भैलो खेलेको देख्दा शम्भुलाई लाग्छ, ‘समाजलाई केही त दिएछु ।’ ‘स्वर्ग’ फिल्मको पटकथाले नै मागेको गीत थियो यो । राम लाहुरे(शिव श्रेष्ठ)लाई खोज्दै सावित्री(गौरी मल्ल) गाउँ/गाउँमा भैलो खेल्न हिँडेकी हुन्छिन् । भैलो खेल्ने क्रममा लाहुरेको घरमा पुग्दा यो गीतको दृश्य सुरु हुन्छ ।निर्देशक प्रधानले गीतकार यादव खरेललाई फिल्मको उक्त दृश्यका लागि गीत लेख्न लगाए । शम्भुजित बाँस्कोटालाई संगीतको जिम्मा लगाइदिए । यादव र शम्भुजितसँग भेटेर गीतको कथा र परिवेश सुनाए । गीतकार खरेलले तिहारकै झल्को दिने शब्दहरु रचे । शम्भुजितले संगीत भरेपछि तयार भयो, ‘भैलिनी आए आँगन… ।’

विगत २९ वर्षदेखि हिट यो गीत तिहारको ‘एन्थम’ नै बनिसक्यो ।

‘भैलो खेल्नेहरु मेरै घरमा आउँछन् मेरै गीतमा भैलो खेल्छन् । पल्लो पट्टी घरमा भैलो खेल्ने टिमले त्यही गीतमा नाचेको देख्छु । अर्कै आनन्द महसुस गर्छु । नेपाली दर्शकले यसरी हाम्रो गीत मनपराई दिँदा त खुशी लाग्छ नि,’ प्रधान सुनाउँछन्, ‘अहिले हामी फिल्म बनाउँदैनौं । तर तिहारमा यही गीतमा भैलो खेलेको देख्दा, नाचेको देख्दा यो क्षेत्रलाई केही त दिएछु भन्ने अनुभव हुन्छ । मैले त यो गीत हाम्रो फिल्मको भन्ने नै बिर्सन्छु । यो गीत त अब राष्ट्रकै भइसक्यो ।’

गीतमा लोचन भट्टराई र नुतन प्रधानको स्वर छ । फिल्मको यो गीतबाहेक अन्य सबै गीतलाई मुम्बईमा रेकर्ड गरिएको हो । त्यतिबेला फिल्मका गीत मुम्बईमै रेकर्ड गरिन्थ्यो । तर आफूहरुले मौलिक स्वादकै लागि पनि यो गीतलाई नेपालमै रेकिर्डिङ गरिएको प्रधान सुनाउँछन् ।

मुम्बईमा रेकर्डिङ गराउँदा मादलको इफेक्ट बलिउड शैलीको सुनिएला भन्ने सोचेर उनीहरुले गीतलाई नेपालमै रेकर्ड गराए । ‘मुम्बईमा त बलिउड टच आउँथ्यो । हामीलाई गीतमा मौलिक बाजाको धुन चाहिन्थ्यो । मादल र सारंगीको मौलिक धुनकै लागि गीतलाई यता रेकर्डिङ गर्यौं, ‘ प्रधान नोस्टाल्जिक भए, ‘नेपालमा रेकर्ड गरेको गीत पनि चल्दो रहेछ त ! हामीले लोकल पाराले गीत रेकर्ड गरेका थियौं ।’

प्रतिक्रिया