रारा म्याराथन वैशाख ११ मा

रारा म्याराथन वैशाख ११ मा

काठमाडौं :  आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । कर्णालीको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्र बहादुर चन्दले बताए ।

‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दले भने, ‘खेलकुद विकास त मुख्य उद्देश्य हो, यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’

अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो । १५ वर्ष देखी अन्तरालले खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । विश्व किर्तिमानी खेलाडी धावक हरिबहादुर रोकायाको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरि बहादुर’ निर्माण गरेको अन्तरालले जनआन्दोलन सम्बन्धी पुस्तक ‘जनता उठेपछि’ प्रकाशन गरेको छ ।

नेपालगन्ज गोल्डकप फुटबलको व्यवस्थापन गर्दै आएको अन्तरालसँग अन्तर बैंक फुटबल, इन्डो नेपाल गेम्स, दोस्रो राष्ट्रिय बिच भलिबल लगायतका खेलकुद र ठुला कर्पोरेट इभेन्ट्समा व्यवस्थापन सम्हालेको अनुभव छ ।

यसैगरी पश्चिम नेपालको पर्यटन, फोटोग्राफीको विकासका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समेटी नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल र नेपाली राष्ट्रिय झन्डा महोत्सव गर्दै आएको छ ।

रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा (जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालका संचार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । म्याराथनमा सहकार्य र सहभागिताका लागि अन्तरालले सबैंसँग आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया