पार्टी संगठनलाई अझ मजबुत बनाउन मेरो उम्मेदवारी : नगेन्द्रबहादुर मल्ल

पार्टी संगठनलाई अझ मजबुत बनाउन मेरो उम्मेदवारी : नगेन्द्रबहादुर मल्ल

नगेन्द्रबहादुर मल्ल ।

दैलेख : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त वडा अधिवेशन सम्पन्न भईसकेको छ । प्रदेश तहको अधिवेशन अन्तरगर्त शुक्रबार प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भईसकेको छ ।

भोली मंसिर ६ गते सोमवारका लागि तय गरिएको क्षेत्रिय अधिवेशनमा सभापतिका लागि नेपाली काँग्रेसका नेता नगेन्द्रबहादुर मल्ल चुनावी मैदानमा उत्रिएका छन् । दैलेख निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय कार्य समिति सभापति पदका उम्मेदवार मल्लले क्षेत्रिय सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् ।

शालीन नेताको रुपमा चिनिएका मल्ल २०३६ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भई विद्यार्थीकालदेखि नै वैचारिक नेताको छवि बनाएका छन् । कसैलाई नचिढ्याउने, शान्त र भद्र स्वभाव भएका उनी अत्यन्त मिलनसार र सहयोगी नेता मानिन्छन् ।

२०१९ असार ८ गते जन्मिएका मल्ल लामो समय शिक्षण पेशामा आबद्ध रहे । शिक्षण पेशामा आबद्ध रहँदा नेता मल्लले शिक्षक संघमा रहेर काम गरेका थिए । मावीको स्थायी शिक्षक रहेका मल्ल २०६९ सालबाट डुङ्गेश्वर गाउँपालिका–४ स्थित कोटदेवल जनआदर्श क्याम्पसको क्याम्पस प्रमुखको भूमिकामा रहे ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले उनलाई डुङ्गेश्वर गाउँपालिका अध्यक्षको उम्मेदवार बनायो । उनले निर्वाचन समेत जिते । हाल डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षको भूमिकामा रहेका नेता मल्लले पार्टीको आन्तरिक संगठनलाई बलियो बनाउन उम्मेदवारी दिएको बताए ।

‘नयाँ सोच सहित संगठन विस्तार र युवाहरुलाई परिचालन गरेर पार्टीको सुदिृढिकरण गराउन उम्मेदवारी दिएको हुँ,’ नेता मल्लले ज्वाला सन्देश अनलाइनसँग कुरा गर्दै भने ‘नेपाली काँग्रेसलाई अझ मजबुत बनाउन र काँग्रेसको नेतृत्वमा एउटा नयाँ इट्टा थप्ने मेरो अभिप्राय छ ।’ ‘पार्टीको संगठनलाई अझ मजबुत बनाउनुपर्ने अहिलेको आवश्यकता हो, उनले भने ‘त्यसका लागि म पारदर्शी र लगनशिल भएर काम गर्नेछु ।’

नेता मल्ल निकट नेता तथा कार्यकर्ताहरुले दुरदर्शी नेता नगेन्द्रबहादुर मल्ललाई मतदान गरी दैलेख निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय कार्य समिति सभापति पदमा विजयी गराउन समेत आह्वान गरेका छन् ।

 

प्रतिक्रिया