दैलेखमा कांग्रेस चुनाव : आम निर्वाचनको झल्को (फोटो फिचर)

दैलेखमा कांग्रेस चुनाव : आम निर्वाचनको झल्को (फोटो फिचर)

दैलेख : दैलेख सदरमुकामस्थित देवकोटा चोक वरिपरी पर्चा, पम्पेलेट र ब्यानरहरुले झकिझकाउ देख्न सकिन्छ । सोमबारदेखि नै झकिझकाउ बनेको देवकोटा चोकमा उम्मेदवारहरुको पर्चा र ब्यानर राख्ने होडबाजी नै चल्यो । यहाँ ठूला पोष्टर, पम्प्लेट र उम्मेदबारको उल्लेख्य तस्बिर प्रयोग भएका छन् । भीडभाड उत्तिकै छ ।

यो कुनै संसदीय निर्वाचन भने होइन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तरगर्त आज जारी प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मको अधिवेशनको हो । तर, संसदीय निर्वाचनको झल्को दिने गरी उम्मेदबार मैदानमा उत्रिएका छन् ।

उम्मेदवारका पक्षमा बनाइएका ब्यानर, पोष्टरले मतदान क्षेत्र भरिएको छ । उम्मेदवार र उम्मेदवारका समर्थकहरु भोट मागिरहेका देखिन्छन् । कार्यकर्ताहरू छातीमा ब्यानर टाँसेर आफ्नो पक्षका उम्मेदवार जिताउन लागिपरेका छन्।

कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनअन्तरगर्त आज दैलेखका दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान जारी छ । दैलेख निर्वाचन क्षेत्र नंं. १ को दैलेख सदरमुकामस्थित नवनिर्मित कबर्ड हलमा मतदान भइरहेको छ ।

निर्वाचन क्षेत्र नं. २ को दुल्लुमा मतदान भइरहेको छ । प्रदेश निर्वाचन क्षेत्रमा भएको निर्वाचन सकिएलगत्तै भएको प्रतिनिधिसभा क्षेत्रमा जारी निर्वाचन खर्चिलो र भड्किलो देखिएको छ । यो अधिवेशनबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि पनि चयन हुँदैछछन् । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको दैलेखमा क्षेत्रीय सभापति तथा कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि दुईवटा समूह (कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल) चुनावी प्रतिष्प्रर्धामा उत्रिएका छन्।

पार्टीको आन्तरिक प्रतिष्पर्धामा पनि नेता र कार्यकर्ताहरुको तछाडमछाड देखिन्छ । यस्तो भड्किलो प्रतिष्पर्धा हुँदा सक्षम व्यक्ति नेतृत्वसम्म पुग्नै नसक्ने कांग्रेस कार्यकर्ता बताउँछन् । कतिपयले प्रचारको नाममा अनावश्यक खर्च गरेर आर्थिक भार बढाएको टिप्पणी पनि गरेका छन् । भड्किलो चुनावी प्रचार र चहलपहलले नै कांग्रेसलाई कमजोर पार्ने कतिपय कार्यकर्ताको चिन्ता छ ।

प्रतिक्रिया